गाउँपालिका अध्यक्षमाथि जाइलाग्ने वडाध्यक्ष पक्राउ, गाडीमा तोडफोड – Nepal Press

गाउँपालिका अध्यक्षमाथि जाइलाग्ने वडाध्यक्ष पक्राउ, गाडीमा तोडफोड

रुपन्देही । रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनमाथि आक्रमण गरेको आरोपमा सोही पालिकाको वडा नं ४ का वडाध्यक्ष कृष्ण वली विपिन पक्राउ परेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित भएका पालिका अध्यक्ष पुन र कांग्रेसबाट जितेका वडाध्यक्ष वलीबीच गाउँपालिकाको बजेट बाँडफाँडका विषयमा विवाद भएको थियो ।

गाउँपालिकाको बैठकमा अन्य कार्यपालिका सदस्य र वडाध्यक्ष वलीले पालिका प्रमुख पुनले एकलौटी बजेट हालेको भनेर लफडा गरेका थिए । आक्रोशित वडाध्यक्ष वलीले पालिका अध्यक्षमाथि जाइलागेको र उनी चढ्ने स्कारपियो गाडी तोडफोड गरेका छन् ।

सो घटनामा अध्यक्ष पुनमाथि कुनै चोटपटक नलागेपनि गाडीका सिसाहरु फुटेर क्षति भएको छ । गाउँपालिकाका कार्यकारी अधिकृत शालिकराम बस्नेतले आफू पालिका बाहिर भएको र सो घटनामा अध्यक्ष सुरक्षित रहेको र गाडीमा क्षति भएको विवरण आफूले पाएको पुष्टि गरे ।

घटनापछि इलाका प्रहरी कार्यालय घर्तीगाउँले वडाध्यक्ष कृष्ण वली विपिनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरीमा रिपोर्ट पठाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकृत प्रकाश भुसालले वडाध्यक्ष वलीलाई अनुसन्धानका लागि नियन्त्रण लिएको र घटनाका विषयमा थप बुझ्ने काम भइरहेको बताए ।

‘उहाँ हामीसँगै हुनुहुन्छ, उजुरी केही परेको छैन, प्रारम्भिक अनुसन्धानमा मापसेबाट भएको हो कि भन्ने छ, थप अनुसन्धानबाट विषय खुल्ला,– उनले भने । पालिका अध्यक्ष पुन र वडाध्यक्ष ओली निर्वाचनपछि देखि नै एकआपसमा असन्तुष्ट रहँदै आएका थिए ।

गाउँपालिकाभित्र हुने विकास निर्माण योजना, बजेट बिनियोजन, समपुरक बजेट सिफारिस पक्षपात भएको गुनासो वलीले गर्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर