नयाँ वर्षको स्वागतमा सिरहामा फुल्यो अनौठो फूल, आजैदेखि भारतीय श्रद्धालुको घुँइचो (भिडिओ) – Nepal Press

नयाँ वर्षको स्वागतमा सिरहामा फुल्यो अनौठो फूल, आजैदेखि भारतीय श्रद्धालुको घुँइचो (भिडिओ)

सिरहा । आज वर्ष २०७९ को अन्तिम दिन । भोलिदेखि नयाँ वर्ष २०८० सुरु हुँदैछ । सिरहाको लहान नगरपालिकामा एउटा यस्तो फूलबारी छ, जहाँ हरेक नयाँ वर्षको स्वागतमा अनौठो फूल फुल्छ ।

लहान बजारदेखि करिब ३ किलोमिटर पश्चिम दक्षिणमा पर्छ उक्त फूलबारी । जसलाई सलहेश फूलबारीको रुपमा चिनिन्छ । यो फुलबारीमा रहेको हारमको रुखमा ‘माला आकृति फूल’ हरेक वर्ष झैं यस वर्ष पनि फूलेको छ ।

पाँचौं-छैठौ शताब्दीतिर मिथिलाको केही भागका राजा थिए- सलहेश । उनको जन्मस्थल महिसोथा, हालको सिरहा नगरपालिका हो । भनिन्छ- उनी मानिक दहमा स्नान गरेर फूलबारी पुग्थे र त्यहाँ फूल टिपेर महिसोथामा पुगी पूजाआजा गर्थे । उक्त फूलबारी उनको नित्यकर्मसँग जोडिएकाले नाम ‘सलहेश फुलवारी’ रहन गयो ।

यस फूलबारीमा राजा सलहेश र मालिनीको मन्दिर छन् । असंख्य रुखमध्ये मालिनी मन्दिरको दक्षिणमा टाँसिएको हारमको दुईवटा रुखमा हरेक नयाँ वर्षमा माला आकृतिमा सेतो फूल फूल्छ ।

मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार, नयाँ वर्षमा फूल्ने यो फूल राजा सलहेश र दौना मालिनीको ‘प्रेम प्रतिक’ हो । दशौं पुस्ताका पुजारी धामी दावी गर्छन्, ‘सुरुवातदेखि जुन रुखमा यो फूल फूल्यो, अहिलेसम्म त्यही रुखमा उस्तै स्वरुपमा फूल्दै आएको छ ।’

फूलबारीमा फूल सिंगार्ने ‘दौना मालिनी’ जो राजा सलहेससँग औधी प्रेम गर्थिन, नयाँ वर्षको दिन सहलेश राजासँग भेट्न फूलको रुपमा प्रकट हुने गरेको लोकविश्वास छ । यो फुलवारीमा हरेक वर्ष वैशाख १ मा विशाल मेला लाग्छ ।

मेला भर्न भारतबाट हजारौं श्रद्धालु आजै आइपुगेका छन् । अहिले फुलवारीमा भारतीय श्रद्धालुको घुँइचो देखिएको छ । फूलवारी मेला भर्न आउने श्रद्धालुको मुख्य आकर्षण यही फूल बनेको छ, बन्ने गर्छ ।

राजा सलहेश दुसाध जातीका थिए । त्यसैले राजा सलहेशलाई अहिले पनि दुसाध समुदायले कुल देवता मानेर पूजा गर्छन् । भारतको दरभंगाबाट मेला भर्न आजै आइपुगेका जयराम पासवान भन्छन्, ‘हामी विगत चार वर्षदेखि निरन्तर मेला भर्न आउने गर्छौं । अब तीन दिन यही बस्छौं ।’

वैशाख १ गते पूर्ण रुपमा फूल फूलेर फक्रिनु र २ गते देखि विस्तारै मुर्झाउँदै जानुलाई मेला भर्न आउनेहरु अद्भुत मान्छन् । मेला भर्न आउने जोकोही पनि यो फूलसँग सेल्फी तान्छन् । यहाँ आएर भाकल गर्दा राजा सलहेशले हरेकको मनोकाँक्षा पुरा गर्ने गरेको जनविश्वास पनि छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *