नेकपा एसमा विद्रोहको डर ! शीर्ष नेताहरु नै धरमर – Nepal Press

नेकपा एसमा विद्रोहको डर ! शीर्ष नेताहरु नै धरमर

सम्मानित नेता खनाल उचित सम्मान पाए एमाले फर्किने दाबी, झाँक्री पनि असन्तुष्ट

काठमाडौं । नकेपा एमालेबाट विभाजन भएको साढे १ वर्षमै नेकपा एकीकृत समाजवादीभित्र भ्वाङ पर्न थालेको छ । शीर्ष तहका नेताहरु नै धरमर हुन थालेपछि माधव नेपाल चिन्तामा परेका छन् ।

अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीमाथि प्रश्न उठाउँदै शीर्ष नेताहरु पार्टीबाट अलग हुन थालेका हुन् । शनिबारमात्रै अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरे । नेकपा एसको भविष्य नरहेको भन्दै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी उनले गरेका छन् ।

सम्मानित नेता खनाल पनि माधव नेपालको कार्यशैली र दक्षिणपन्थी सोचसँग असहमत रहेको न्यौपानेको दाबी छ । एमालेले सम्मानित नेताको दर्जामा राम्रो सम्मान दिए खनाल पनि फर्किन सक्ने न्यौपानेले जिकिर गरे ।

‘एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सम्मानित पद दिए एमालेमै फर्कने मनस्थितिमा हुनुुहुन्छ’, उनको भनाइ थियो ।

नेकपा एसका संस्थापक नेताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने र चूडामणि जंगली एमालेमा फर्किन इच्छुक देखिएका छन् । न्यौपाने र जंगलीको यसअघि नै पार्टीले राजीनामा स्वीकृत गरिसकेको छ ।

यस्तै अर्का उपाध्यक्ष घनेन्द्र बस्नेतसहित केही नेताहरु पनि अहिले पार्टी परित्यागको तयारीमा रहेको बताइन्छ । केन्द्रमा मात्रै नभएर तल्लो तहका नेताहरु पनि एकपछि अर्को गर्दै एमालेमै फर्किने क्रम बढेको छ ।

तर, अध्यक्ष नेपालले भने केही नेताहरुले पार्टी छाडेर एमाले प्रवेश गर्नु स्वाभाविक भएको बताएका छन् । पार्टीगत रुपमा एमालेसँग मिल्ने सम्भावना नरहेको उनको भनाइ छ ।

सुनसरी पुगेका अध्यक्ष नेपालले भने, ‘एमाले अहिले पनि संविधानविरोधी बाटोमा छ । त्यसैले हामीले समर्थन गर्न सक्दैनौं । केही व्यक्तिले पार्टी प्रवेश गर्नुभएको छ । पार्टी छाड्ने र प्रवेश गर्ने प्रक्रिया चलिरहन्छ । त्यसलाई हाम्रो चाहनाले मात्रै निर्धारण गर्न सकिँदैन ।’

झलनाथ एमालेमा फर्केलान् ?

पार्टीमा अध्यक्ष नेपालसँग मतभेद बढेसँगै नेता खनालको बेग्लै गुटले आकार लिन थालेको छ । उनले आफू निकट नेताहरुसँग अनौपचारिक रुपमा आन्तरिक छलफल बढाएको स्रोतले दाबी ग¥यो ।

नेकपा एसका अध्यक्ष नेपालको पछिल्लो गतिविधिप्रति सम्मानित नेता खनालसमेत सन्तुष्ट नरहेको नेताहरु बताउँछन् । पार्टी कमजोर बनाउन माधव नेपालको भूमिका देखिएको भन्दै उनले अब के गर्ने भन्नेबारेमा केन्द्रीय तहका आफू निकट नेताहरूसँग परामर्श थालेका हुन् ।

खनालले नेपालबाट वैचारिक, सैद्धान्तिक काम नहुने र कम्युनिस्ट आन्दोलन पनि अघि नबढ्ने निष्कर्ष निकालेका छन् । पार्टीभित्र अध्यक्ष नेपाल एकलौटी हाबी हुन खोजेको पनि उनको बुझाइ छ ।

तर, नेता खनालले आफू एकीकृत समाजवादी छाडेर एमालेमै फर्किने कुरामा कुनै सत्यता नभएको बताए । उनले नेपाल प्रेससँग भने, ‘अहिले म एमालेमा जाने कुनै सम्भावना छैन । एमाले नेतृत्वमा दक्षिणपन्थी अवसरवाद हावी भएकै कारणले हामीले विद्रोह गरेका हौं । त्यसैले अहिले त्यस्तो कुनै सम्भावना छैन ।’

आफू कुनै पदको लागि नभएर नीति र सिद्धान्तको लागि राजनीति गरिरहेको खनालले प्रस्ट पारे । अहिले पार्टीमा धेरै ठूलो असन्तुष्टि नरहेको पनि उनको दाबी छ ।

नेकपा एसका अर्का नेता मेटमणि चौधरीले पार्टीभित्र बहस र असन्तुष्टिको आवाज सुनिनु सामान्य भएको बताए ।

उनले भने, ‘हाम्रो पार्टीमा मात्रै होइन सबै पार्टीमा गुनासो, असन्तुष्टि सुनिएको छ । त्यसलाई सामान्य रुपमा नै लिनुपर्छ । भिजनमा क्लियर नहुने जोसकुैले पार्टी छाड्नसक्छ । त्यसमा अध्यक्ष नै किन नहोस् । वैचारिक स्पष्टता नभएपछि उपाध्यक्षहरुले मात्रै होइन अरु नेताहरुले पनि घोषणा गर्नसक्छन् नि !’

नेता खनालले पार्टी छाडेर एमालेमा फर्किने कुरामा कुनै सत्यता नभएको उनले जिकिर गरे ।

अध्यक्ष नेपालको पछिल्लो कार्यशैलीप्रति झलनाथ खनाल पनि सन्तुष्ट नरहेको चर्चा छ नि ? भन्ने प्रश्नमा नेता चौधरीले भने, ‘अहिले सबैतिर गुनासैगुनासो गर्ने समय बनेको छ । एकले अर्कोप्रति गुनासो गर्नु स्वाभाविक हो । कांग्रेसमा हेर्नुस्, महामन्त्रीहरुको गुनासो । एमालेमा हेर्नुस्, उपाध्यक्षसहित नेताहरुको गुनासो । अन्य साना दलहरुमा पनि उस्तै छ । केही समयमा यो सामान्य हुन्छ ।’

उनले सैद्धान्तिक र वैचारिक स्खलनकै कारणले नेताहरुले पार्टी छाडेको आरोप लगाए । एमाले फर्किने तयारी गरेका न्यौपानेलाई लक्षित गर्दै उनले भने, ‘उहाँले सुरुदेखि नै पार्टीमा फरक मत राखिराख्नुभएको थियो । पार्टीले पनि धेरै रेस्पोन्स दिनुपर्ने जरुरी थिएन । त्यसैले गति र चिन्तन नभएको व्यक्ति पार्टीमा रहनुभन्दा छाड्नु नै ठीक हो ।’

यसअघि गत पुसमा बसेको स्थायी कमिटीको बैठकमा सम्मानित नेता खनालले तत्कालीन नेकपा एमाले र नेकपाकालमा अध्यक्ष नेपालले उठाउँदै आएको ‘एक व्यक्ति एक पद’ को विषयलाई औपचारिक बहसमा ल्याएका थिए । बैठकमा लिखित दस्तावेज नै पेश गरेर उनले पार्टीमा माथिदेखि तलसम्म ‘एक पद एक व्यक्ति’ प्रणाली कडाइका साथ लागू गर्नुपर्ने माग गरेका थिए । एमाले र नेकपामा नेपालले केपी ओलीविरुद्ध उठाएको हतियार नेता खनालले उनैतिर सोझ्याएका थिए ।

तर, पार्टीभित्र खनालको प्रस्ताव ठोस रुपमा बहसमा आएन । पार्टीका सबै कमिटीहरूको सम्मेलन गरी टीके प्रणाली र कृपा प्रणालीलाई अन्त्य गर्नुपर्ने र कसैसँग पनि हतारमा पार्टी एकता गर्नु नहुनेमा खनालको जोड छ ।

तर, अध्यक्ष नेपालको जोडबलमै नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरुसँग एकताको विषयमा छलफल भइरहेको छ । तत्कालीन नेकपाकालीन समयमा एक भएका नेपाल प्रचण्डसँग चाँडै मिल्न चाहन्छन् ।

प्रचण्ड-नेपाल मिलेर यसअघि पनि एमालेबाहेकको कम्युनिष्ट एकताको पहल गरेका थिए । तर, नेता खनाल एमालेसहित वामपन्थी एकता गर्नुपर्ने पक्षमा छन् ।

यस्तै नेपाल-खनालबीच गत फागुनमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने बेलामा पनि टकराव परेको थियो । त्यस बेला एमसीसी अनुमोदन गर्न नहुने पक्षमा नेता खनाल थिए ।

तर, अध्यक्ष नेपालले पाँचदलीय गठबन्धन जोगाउन भन्दै एकलौटी रुपमा प्रचण्डसँग मिलेर एमसीसीको पक्षमा उभिने निर्णय लिए । त्यतिमात्रै नभएर मंसिरमा भएको प्रतिनिधितथा प्रदेशसभाको निर्वाचनमा टिकट वितरणको क्रममा पनि असन्तुष्ट बनेका थिए ।

दशदलीय गठबन्धनको नेतृत्वको सरकारमा नेकपा एस दुई मन्त्रालय लिएर सहभागी भएको छ । तीन मन्त्रालयको अडान राखे पनि दुई मन्त्रालयमै चित्त बुझाउन बाध्य भयो नेकपा एस ।

अहिले राष्ट्रियसभा सदस्य बेदुराम भुसाल र प्रकाश ज्वाला सरकारमा छन् । तर, सरकारमा जान इच्छा व्यक्त गरिरहेका राजेन्द्र पाण्डे, कृष्णकुमार श्रेष्ठ, मेटमणि चौधरी, प्रेमबहादुर आलेसहित संसद बाहिरका रामकुमारी झाँक्रीलगायत नेताहरु पनि पार्टी नेतृत्वसँग रुष्ट छन् ।

अध्यक्ष नेपालले पाँच वर्षको अन्तरमा तीनपटक सरकार बन्ने भएकाले सबै सांसदलाई आलोपालो गरेर मन्त्री बनाउने आश्वासन दिएर रोकेको बताइन्छ ।

झाँक्री पनि असन्तुष्ट

नेकपा एसकी ‘पोस्टल गर्ल’ का रुपमा रहेकी सचिव रामकुमारी झाँक्री पनि अध्यक्षको कार्यशैलीसँग असन्तुष्ट देखिएकी छन् । उनले नेतृत्वको कार्यशैलीकै कारण नेताहरुले पार्टी छोड्नु परेको घुमाउरो संकेत गरिन् ।

उनी भन्छिन्, ‘मुकुन्द कमरेडको हकमा उहाँले केन्द्रीय समितिमा फरक मत राख्नुभएको थियो । त्यसलाई पार्टी नेतृत्वले छलफलमा लान चाहेन । स्पष्टीकरण सोधेपछि पार्टी छाड्नुभएको हो ।’

पार्टी नै संकटतर्फ गएको हो त ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भनिन्, ‘पार्टी संकटमा छ छैन अध्यक्षज्यूले भन्ने होला । केन्द्रीय कमिटीको बैठकमा छलफल र समीक्षा गरेर आगामी कार्ययोजनाबारे कुरा गर्ने भनेका थियौं । तर, त्यो हुन सकेन । पार्टीका अरु नेताहरुले राजीनामा दिएको पनि मैले निर्णय भइसकेपछि मात्रै थाहा पाएको हुँ ।’

उनले आफू असन्तुष्ट र सन्तुष्ट हुनुले धेरै अर्थ नराख्ने बताइन् । पार्टीका नेताहरुले छाडेको विषयमा पनि आफूले मिडियामा आएपछि मात्रै थाहा पाएको बताइन् । पार्टीभित्र देखिएको समस्याको विषयमा पार्टी नेतृत्व नै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर