चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत भेटिए – Nepal Press

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत भेटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् ।

निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको काँस घारीमा अर्को गैँडा मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले अमलटारी क्षेत्रमा करिब सात महिनाको पोथी गैँडा मृत भेटिएको बताए ।

त्यसैगरी, माडीको रिउ खोलामा किनारमा करिब छ महिनाको भाले गैँडा मृत भएको उहाँको भनाइ छ । भाले गैँडाको मृत्यु बाघको आक्रमणबाट भएको तिवारीले जानकारी दिए । मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग नपलाएको तिवारीको भनाइ छ ।

निकुञ्जमा मृत भेटिएका दुई गैँडासँगै चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म १६ वटा गैँडाको मृत्यु भएको तिवारीले जानकारी दिए । यस वर्ष मृत भेटिएका गैँडामध्ये दुई वटा गैँडा चोरी शिकारीका कारण मरेका हुन् । –रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *