ढाकाको स्थानमा को सांसद ? आलेलाई रोक्दै रास्वपाले रोज्नसक्छ ‘एसिड भिक्टिम’ विन्दवासिनी – Nepal Press

ढाकाको स्थानमा को सांसद ? आलेलाई रोक्दै रास्वपाले रोज्नसक्छ ‘एसिड भिक्टिम’ विन्दवासिनी

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोडको डिल गरेको अडिओ टेप सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद धरापमा परेको छ । रास्वपाले उनलाई पार्टीबाट निलम्बन गरिसकेको छ भने सांसदका रुपमा कुनै काम नगर्न निर्देशन दिएको छ ।

यद्यपि, श्रेष्ठको सांसद पद भने निलम्बनमा परिसकेको छैन । यसका लागि संवैधानिक प्रक्रियाबाट जानुपर्छ । आरोप प्रमाणित भएर यदि रास्वपाले श्रेष्ठलाई निष्कासन गर्‍याे भने त्यसको जानकारीका लागि संसद सचिवालयमा पत्र पठाउँछ । संसद सचिवालयमा आएको पत्र सभामुखले प्रतिनिधिसभाको बैठकमा पढेर सुनाएपछि मात्र उक्त पद रिक्त हुन्छ ।

रास्वपाले सम्भवतः आज सांसद श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासनको निर्णय लिनेछ । सो निर्णयको पत्र संसदमा पठाएर सभामुखले उनको पद रिक्त रहेको जानकारी गराएपछि निर्वाचन आयोगले आवश्यक प्रक्रिया थाल्नेछ । श्रेष्ठ समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन् । उनी आदिवासी-जनजाति समूहबाट सांसद बनेका थिए । श्रेष्ठलाई कारबाही गरेपछि उनको स्थानमा कसलाई सांसद बनाउने भनेर आयोगलाई सिफारिस गर्ने अधिकार रास्वपासँग रहन्छ ।

रास्वपाको समानुपातिक सूची हेर्दा ढाकाको स्थानमा मेघबहादुर आले र विन्दवासिनी कंसाकार मुख्य दावेदार देखिएकी छन् । आदिवासी-जनजाति क्लस्टरको पुरुषतर्फ आले र महिलातर्फ कंसाकार प्राथमिकतामा रहेकाले उनीहरुमध्ये एकजनाले संसदको यात्रा तय गर्ने निश्चित छ । आदिवासी-जनजातिको पुरुषतर्फ मेघबहादुरको नाम ढाकापछि लगत्तै दोस्रो नम्बरमा छ । त्यसैले उनी पहिलो दावेदार हुन् ।

यसैगरी महिलातर्फ भने इन्दिरा रानामगर र सुमना श्रेष्ठपछि कंसाकार छिन् । यदि पार्टीले महिलालाई प्राथमिकता दिने सोच्यो भने कंसाकारको भाग्य चम्किनेछ ।

रास्वपाले समानुपातिकको बन्द सूची पठाउँदा विभिन्न क्लस्टरमा पुरुष र महिला छुट्याएकाले केही अन्योलसमेत देखिएको छ । जनजातितर्फ १७ नम्बरबाट मात्रै महिला सुरु हुन्छन् । यसरी रोलक्रमबाट हेर्दा आलेको पालो आउँछ । यदि निलम्बित सांसद महिला भएको भए र ३३ प्रतिशत नपुग्ने अवस्था भए अर्को महिला सांसद नै लैजानुपर्थ्याे । तर, यहाँ निलम्बित सांसद पुरुष भएकाले उनको स्थानमा महिला लैजानैपर्ने बाध्यता छैन । यदि रास्वपाले कंसाकारलाई सिफारिस गरेमा आयोगले छलफल गरी निर्णय लिने स्रोतले बताएको छ ।

‘रोलक्रमका आधारमा आले नै अगाडि छन् । तर, महिलाको सिफारिस आयो भने त्यसमा पनि विचार गर्न सकिन्छ’, आयोग स्रोतले भन्यो ।

रास्वपा स्रोतले भने आलेभन्दा कंसाकारलाई प्राथमिकतामा राखिएको बताए । पर्यटन व्यवसायमा संलग्न आले विवादित छविका छन् । एउटा विवादित व्यक्तिको ठाउँमा अर्को विवादित व्यक्तिलाई स्थान दिने मुडमा सभापति रवि लामिछाने छैनन् । साथै महिलालाई पठाउँदा राम्रो सन्देश पनि जाने भएकाले कंसाकारको सम्भावना बलियो भएको स्रोतको दाबी छ ।

आदिवासी जनजाति समूहको १७ नम्बर अर्थात महिलाको पहिलो नम्बरमा रहेकी इन्दिरा रानामगर र आदिवासी जनजाति समूहको १८ नम्बर अर्थात महिलाको दोस्रो नम्बरमा रहेकी सुमना श्रेष्ठ यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् । त्यसैले महिलालाई रोज्दा कंसाकार पहिलो नम्बरमा आउँछिन् ।

निर्वाचन आयोगका कानून सेवाका सहसचिव यज्ञप्रसाद भट्टराईले रास्वपा सांसदमाथि कारबाही गरिएको विषयमा औपचारिक जानकारी नरहेको बताए ।

उनले भने, ‘हामीले विभिन्न सञ्चारमाध्यममा रास्वपाको सांसदबारे समाचारहरु हेरिरहेका छौं । तर सञ्चारमाध्यमको समाचारले मात्र पुग्दैन । सम्बन्धित दलले पत्राचार गरेपछि मात्रै आयोगले प्रक्रिया अघि बढाउने हो ।’

कुनै सांसदमाथि आरोप लागेपछि पार्टीले छानविन गर्ने र पुष्टि भएमात्रै केन्द्रीय समितिले निर्णय गरेर कारवाहीको पत्र संसद सचिवालयलाई पठाउने सहसचिव भट्टराईले बताए ।

उनले थपे, ‘प्रतिनिधि सभाको बैठकमा सभामुखले पढेर पद रिक्त रहेको पत्र हामीकहाँ आएपछि हामीले समानुपातिक निर्वाचन प्रणालीमार्फत् प्रक्रिया अगाडि थाल्छौं ।’

को हुन् विन्दवासिनी ?

विन्दवासिनी एसिड पीडितहरुको न्यायका लागि लडिरहेकी अभियन्ता हुन् । उनी आफैं पनि एसिड पीडित हुन् ।

हेटौंडा निवासी विन्दवासिनीलाई २०७० सालमा एसिड आक्रमण भएको थियो । हेटौंडामा रहेको आफ्नै परिवारको भाँडा पसलमा बसिरहेका बेला भारतीय नागरिकले उनलाई बोलाएर एसिड छ्यापेका थिए । आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले विन्दवासिनीमाथि सो कुकर्म गरेका थिए । उनी ६ वर्षपछि २०७७ सालमा पक्राउ परे र जेल सजाय काटिरहेका छन् ।

एसिड प्रहारबाट विन्दवासिनीको अनुहारमा निकै क्षति पुगेको छ । अहिलेसम्म उनले २० पटक अनुहारको शल्यक्रिया गराइसकेकी छन् । एसिड हान्नेलाई कडा सजायको माग गर्दै उनले निरन्तर पैरवी गर्दै आएकी थिइन् ।


प्रतिक्रिया

One thought on “ढाकाको स्थानमा को सांसद ? आलेलाई रोक्दै रास्वपाले रोज्नसक्छ ‘एसिड भिक्टिम’ विन्दवासिनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर