‘जारी’ को प्रि-बुकिङ आक्रामक, ‘बिहे पास’ र ‘बुलाकी’ लाई सकस – Nepal Press

‘जारी’ को प्रि-बुकिङ आक्रामक, ‘बिहे पास’ र ‘बुलाकी’ लाई सकस

काठमाडौं । वैशाख १ गतेबाट प्रदर्शनीको तयारीमा रहेका ३ चलचित्रमध्ये ‘जारी’ ले सुखद ओपनिङ गर्ने सम्भावना देखाएको छ । मल्टिप्लेक्समा सर्वाधिक शो पाएको ‘जारी’ को प्रि–बुकिङ उत्साहनक छ ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा रहेको चलचित्रलाई कवि तथा लेखक उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् भने रामबाबु गुरुङ प्रोड्यूसरको भूमिकामा छन् । उत्कृष्ट टिजर, ट्रेलर र गीतबाट चलचित्रले राम्रो हाइप बनाएको थियो । रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको ‘कम्बो’ ले गर्दा पनि दर्शकहरु यस फिल्मको प्रतिक्षामा छन् ।

लिम्बू समुदायमा प्रचलित जारी प्रथामा आधारित चलचित्रकोे टिकट बुकिङ पूर्वका क्षेत्रहरुमा आक्रामक भइरहेको छ । पूर्वी क्षेत्रको कथा उठाइएकाले पनि त्यहाँका दर्शकहरुमा आकर्षण बढेको हो । अनलाइन बुकिङको अवस्था हेर्दा चलचित्रले नयाँ वर्षमा सुखद इनिसियल व्यापार गर्ने लगभग निश्चित छ । त्यसपछिको व्यापार भने वर्ड अफ माउथमा भर पर्ने छ ।

चलचित्रलाई क्यूएफएक्सले देशभर ६६ शोज दिएको छ । १ गतेसम्म क्यूएफएक्सका प्रायः शो हाउसफुल हुने अवस्था देखिन्छ । त्यसैगरी बिग मुभिजले १० शो दिएको छ भने वान सिनेमाज नयाँबानेश्वर र कालिमाटीले १२ शो दिईसकेका छन् । एफक्यूब मल्टीप्लेक्सहरुमा पनि चलचित्रको एड्भान्स टिकट बुकिङ सुखद छ ।

१ गते रिलिजको तयारीमा रहेका दोस्रो चलचित्र हो– बिहेपास । यो पनि दयाहाङ राई अभिनित चलचित्र नै हो । यस चलचित्रमा भने उनलाई नायिका प्रकृति श्रेष्ठले साथ दिएकी छन् । जारीको आझेलमा परेको यस चलचित्रले औसत शो पाएको छ । चलचित्रलाई क्यूएफएक्सले २९ शो र बिग मुभिजले ३ शो दिएका छन् । यस्तै, वान सिनेमाजले ७ शो दिएको छ । यो चलचित्रको प्रि–बुकिङ जारीको तुलनामा कमजोर छ ।

वैशाख १ गतेबाटै लाग्ने तेस्रो चलचित्र हो, ‘बुलाकी’। अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन र टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । तुलनात्मक रुपमा यो चलचित्र सबैभन्दा पछाडि देखिएको छ । चलचित्रलाई क्यूएफएक्सले १२ शो, बिग मुभिजले २ शो र वान सिनेमाजले २ शो मात्र दिएका छन् । चलचित्रले हलहरुको व्यापारबाट लगानी उठाउन चुनौतिपूर्ण देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर