नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री दाहाल (तस्विरहरुसहित) – Nepal Press

नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री दाहाल (तस्विरहरुसहित)

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन् ।

भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पूरा गरेका शिक्षार्थीलाई आयुक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नवआयुक्तहरुलाई निर्देशन दिँदै उनले भने, ‘विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातारवण एवं त्यसका प्रभावका पूर्वानुमानहरु र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको सही आङ्कलन गरी जटिल चुनौतीबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता हो ।’

नेपाली सेनाले हासिल गरेको राष्ट्र र जनताको विश्वास कार्यसम्पादनमा स्पष्ट झल्कने गरेको उनले चर्चा गरे ।

‘नवआयुक्तहरुको काँधमा एक गहन राष्ट्रिय जिम्मेवारी थपिएको छ’, उनले भने, ‘यो राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट सम्पादन गर्दै नेपाली सेनाको छविलाई थप उचाइमा पुर्‍याउने जिम्मेवारी पनि थपिएको छ । संसारभरि वीर गोर्खालीको देश भन्ने पहिचान पनि नेपाली सेनाकै बहादुरी र वीरताबाट हासिल भएको हो । यस पहिचानलाई नेपाली सेनाले आधुनिक हातहतियार, प्रविधिमैत्री, तालिम, स्रोतसाधन र सम्पन्न उच्च हौसलायुक्त उत्कृष्ट सेनाका रुपमा स्थापित गरेको छ ।’

प्रधानमन्त्री दाहालले देशभित्र मात्रै नभई देश बाहिरसमेत नेपाली शान्ति सेनाका रुपमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरुमा शान्तिदूतका रुपमा खटिएर विश्व शान्ति स्थापनार्थ पु¥याएको योगदानले नेपाललाई शान्ति सैनिकहरुको देशका रुपमा चिनाउन सफल भएको बताए ।

‘यस तालिममा मित्रराष्ट्र बङ्गलादेश, श्रीलङ्का र जाम्बियाका एक-एकजना अधिकृतसमेत सहभागी हुनुभएको र विगतमा पनि विभिन्न मित्रराष्ट्रबाट १० वर्षमा २३ जना आयुक्त भएको थाहा पाउँदा मलाई गर्वको महसुस भएको छ’, उनले भने ।

प्रधानमन्त्री दाहालले सि.नं ६० अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने कृष्ण खड्का र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने खगेन्द्र कार्कीलाई खुकुरी प्रदान गरे । त्यस्तै महिलातर्फ उत्कृष्ट हुने अप्सरा बुढाथोकीलाई छडी अवार्ड प्रदान गरिएको छ ।

सि.नं ६० अधिकृत क्याडेट तालिममा ८६ र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा ३५ जनाले तीनवर्षे तालिम पूरा गरी आयुक्त पद प्राप्त गरेका छन् । जाम्बियाका एकजनाले समेत अधिकृत क्याडेट तालिम पूरा गरेका छन् । कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर