अडिओ प्रकरणमा रास्वपाको अनुशासन समितिले प्रतिवेदन बुझायो, भोलि केन्द्रीय समिति बैठक – Nepal Press

अडिओ प्रकरणमा रास्वपाको अनुशासन समितिले प्रतिवेदन बुझायो, भोलि केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि केन्द्रीय अनुशासन तथा आचरण समितिले छानबिन गरेर प्रतिवेदन बुझाएको छ । बिहान ९ बजे पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो संवादबारे हतारमा छानबिन गरेर आजै प्रतिवेदन बुझाएको हो ।

रास्वपा सभापति रवि लामिछानेले ढाकाको अडियो प्रकरणमाथि छानबिन गरी प्रतिवेदन दिन समितिलाई ७२ घन्टाको समय दिएका थिए । निर्धारित समयमै प्रतिवेदन बुझाउनुपर्ने दबाबमा रहेको समितिले हतारमा काम गरेको छ ।

समितिले अडियोमा रहेको आवाज ढाकाकै रहेको विश्लेषण गरेको छ । यद्यपि समयाभावका कारण अडियोको फरेन्सिक टेस्ट गरिएन । फरेन्सिक टेस्टको प्रक्रियामा जाँदा समय लाग्न सक्ने भएकाले त्यसलाई थाँती राखिएको हो ।

ढाकाले अडियोको आवाज आफ्नो नभएको दाबी गरेका छन् । उनले पार्टीलाई पठाएको स्पष्टीकरणमा पनि अडियो सम्पादित रहेको उल्लेख गरेका थिए । तर, अनुशासन समितिले ढाकाको सो भनाइमा विश्वास गरेको छैन ।

समितिले दिने प्रतिवेदनका आधारमा भोलि नै केन्द्रीय समिति बसेर कारबाहीको विषयमा निर्णय लिइने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर