खाद्य पदार्थमा विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने सरकारको निर्णय – Nepal Press

खाद्य पदार्थमा विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने सरकारको निर्णय

कुखुराको दानाको मापदण्ड पनि निर्धारण

काठमाडौं । सरकारले खाद्य पदार्थमा जिवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जिवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने सम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट खाद्य पदार्थमा जिवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने सम्बन्धी मापदण्ड प्रस्ताव गरिएको थियो । उक्त प्रस्तवामा विभिन्न तरकारी र फलफुलका १८५ प्रकारका विषादीको अवशेषको सिमा तोकिएको छ । उक्त मापदण्ड स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।’

उक्त मापदण्ड स्वीकृत भएसँगै मुलक भन्दा बाहिरबाट आउने खाद्य पदार्थ र देश भित्रै उत्पादन हुने खाद्य पदार्थमा मनपरी ढंगले विषादी प्रयोग पाइनेछैन । विषादी परिक्षण गर्दा तोकिएको सीमा भन्दा बढी विषादी प्रयोग गरेको पाइएमा कानून अनुसार कारवाही प्रक्रिया अघि बढाइने छ । खाद्य ऐन, २०२३ मा टेकेर ल्याइएको मापदण्ड राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले कुखुराको दानाको मापदण्ड निर्धारण गर्ने निर्णय पनि गरेको ति मन्त्रीले जानकारी दिए । उनले भने, ‘बोइलर र लेयर्स जातको कुखुराको खाने दानामा एण्टीवायोटिक प्रयोग नगर्नेगरी तयार पारिएको मापदण्ड मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो ।’ यस अघिको कुखुराले खाने दानको मापदण्ड अनुसार बोइलर र लेयर्स कुखुरा ५० देखि ६० दिनमा तयार हुन्थे । अहिले निर्धारण भएको मापदण्ड अनुसार अबस ४० देखि ४५ दिनमा कुखुरा तयार हुनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *