सिरिया गृह युद्धको १२ वर्ष : ५१ हजारको मृत्‍यु, खण्डहर बन्याे शहर – Nepal Press

सिरिया गृह युद्धको १२ वर्ष : ५१ हजारको मृत्‍यु, खण्डहर बन्याे शहर

काठमाडौं । कल्पना गर्नुहोस् कि तपाईंको जन्म जुन ठाउँमा भयो, त्यो ठाउँ अहिले पूर्ण रुपमा ध्वस्त भएको छ, खण्डरमा परिणत भएको छ । जुन मैदानमा खेलेर तपाईंको बाल्यकाल बित्यो, त्यो मैदान अहिले रणभूमि बनेको छ ।

कल्पनामात्र गर्दा पनि यो अवस्था धेरैको लागि भयावह लाग्नसक्छ । यद्यपि यो अवस्था सिरियाको ओलेम्पो शहरको यथार्थ चित्रण हो । १२ वर्षदेखि गृह युद्धको भूमरीमा फसेको सिरियाको ओलेम्पो शहरमा यो अवधिमा ५१ हजारभन्दा बढीले ज्यान गुमाएको तथ्याकं सार्वजनिक छ । ३५ हजारभन्दा बढी भौतिक संरचना ध्वस्त भएका छन् ।

युद्धकै कारण विश्व सम्पदा सूचीमा रहेका ६ वटा क्षेत्र तहसनहस भएका छन् । सिरियाले यो नियतिको सामना गर्न परेको गत मार्चमा १२ वर्ष पूरा भएको छ ।

कसरी सुरु भयो गृह युद्ध ?

सन् २०११ मा जब अरब क्रान्तिको झिल्का सिरियासम्म पुग्यो तब सिरियाका जनताले पनि बसर अल असदको तानाशाहीविरुद्ध आवाज उठाउन थाले । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराको एक रिपोर्टका अनुसार सिरियाको डेरा क्षेत्रमा प्रहरीले केही विद्यालयका बालबालिकालाई नियन्त्रणमा लिएपछि सरकारविरोधी प्रदर्शन सुरु भएको हो । नियन्त्रणमा परेका बालबालिकाले बसर अल असदविरुद्ध स्कुलका भित्ताहरुमा केही नारा लेखेका थिए ।

धेरै दिनसम्म पनि ती बालबालिकालाई नछोडेपछि हजारौं आम मानिस प्रदर्शनमा उत्रिएका थिए । सडकमा उत्रिएर ‘आर्मी र हामी एक हौं’ भन्ने नारा लगाइरहेका प्रदर्शनकारीहरुमाथि सेनाले गोली चलायो । उक्त घटनामा तीन जनाको मृत्‍यु भयो । फलस्वरुप मानिसहरु थप आक्रोशित हुन पुगे र आन्दोलनले उग्र रुप लिन थाल्यो । किनकि मुद्दा अब बालबालिकाको रिहाइमा मात्र सीमित नभई आम मानिसको हक र अधिकारसँग जोडिन पुगेको थियो ।

विस्तारै प्रदर्शनहरू डेराबाट दमास्कस, होम्स, हाना, लताकिया, बानियाससम्म फैलियो र सन् २०१२ मा ओलेम्पोसम्म पुग्यो । १२ वर्षे कालखण्डमा युद्धले सबैभन्दा प्रभावित भएको शहर ओलेम्पो नै हो ।

प्रदर्शन जति तीव्र हुँदै गयो बशर अल असदको आदेशमा सेनाको ज्यादती पनि तीव्र हुँदै गयो । सेनाको ज्यादतीबाट आजित प्रदर्शनकारीहरुले सेनालाई सेनाकै भाषामा जवाफ फर्काउने हेतुले हतियार उठाउन थाले । प्रदर्शनको प्रभाव यस्तो रुपमा अगाडि बढ्यो कि अन्य देशमा रहेका सिरियाली जनतासमेत प्रदर्शनका लागि देश फर्किए, हतियारमार्फत प्रदर्शनकारीहरुलाई सहयोग गर्न थाले ।

सरकारविरुद्ध लडिरहेका विद्रोहीहरू चाँडै संगठित भए र फ्रि सिरियन आर्मीको नाममा सरकारविरुद्ध युद्धमा होमिए ।

खण्डहरमा परिणत भयो ओलेम्पो शहर

सन् १९८६ मा युनेस्कोको विश्व सम्पदाको दर्जा पाएको ओलेम्पाे शहर सन् २०१२ सम्ममा सिरियाली गृहयुद्धको प्रमुख स्थल बनिसकेको थियो । यो शहर विश्व सम्पदा शहरमात्र नभएर सिरियाको आर्थिक केन्द्रविन्दुसमेत थियो । हेर्दाहेर्दै यो शहर आफ्नै जनताको हातबाट ध्वस्त भयो । जुलाई २०१२ सम्म आइपुग्दा यो शहर दुई भागमा विभाजित भइसकेको अवस्था थियो । एउटा भाग फ्री’ सिरियाली सेना र अर्को भाग बशर अल असदद्वारा नियन्त्रित थियो ।

युद्धको भूमरीमा फसेको सिरियामा विदेशी शक्तिहरुले आफू अनुकूल समर्थन जनाउन थाले । सरकारलाई रुस, इरान, इराक, अफगानिस्तान, लेबनान र पाकिस्तानले समर्थन जनाए भने विद्रोहीलाई अमेरिका, साउदी अरेबिया र टर्कीबाट सहयोग मिलिरहेको थियो ।

सन् २०१२ देखि २०१६ सम्ममा मात्र ओलेम्पोमा ३१ हजारभन्दा बढीले ज्यान गुमाए । जसमा २२ हजार ६०४ जना ती नागरिक थिए, जसले न फ्री सिरियन आर्मी न त बसर अल असदलाई समर्थन गरेका थिए ।

यस्तै युनिटारको प्रतिवेदनअनुसार २१० ज्ञात संरचनामध्ये २२ पूर्ण रूपमा ध्वस्त भएका छन् भने ४८ वटा नराम्ररी क्षतिग्रस्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *