चीन-भारत सीमा विवाद : भारतीय गृहमन्त्रीको अरुणाञ्चल भ्रमणलाई लिएर चीनको आपत्ति – Nepal Press

चीन-भारत सीमा विवाद : भारतीय गृहमन्त्रीको अरुणाञ्चल भ्रमणलाई लिएर चीनको आपत्ति

काठमाडौं । चीनले भारतका गृहमन्त्री अमित शाहको अरुणाञ्चल भ्रमण प्रति आपत्ति जनाएको छ । शाहको अरुणाञ्चल भ्रमणले चीनको सार्वभौमिकता र विदेश नीतिमा गम्भीर आघात पुर्‍याएको भन्दै चीनले शाहको भ्रमणमा आपत्ति जनाएको हो ।

पूर्वी भारतको अरुणाञ्चल प्रदेशको सीमा क्षेत्रमा अमित शाहले भ्रमण गरेसँगै चीनेले यस किसिमको प्रतिक्रिया दिएको हो । चीनले भारतको अरुणाञ्चल प्रदेश सीमाका केही ठाउँहरुको नाम परिवर्तन गर्दै आफ्नो भूभागको रूपमा दाबी गरेसँगै सो क्षेत्रमा भारत र चीनबीच सीमा विवाद रहँदै आएको छ ।

‘जांगनान चीनको क्षेत्र हो । भारतीय अधिकारीको जांगनान भ्रमणले चीनको क्षेत्रीय सार्वभौमसत्ताको उल्लङ्घन गरेको छ र यो सीमा क्षेत्रमा शान्ति कायम राख्नका निमित्त अनुकूल छैन’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनवीनले सोमबार भारतका गृहमन्त्री अमित शाहको भ्रमणबारे सोधिएको प्रश्नको उत्तर स्वरूप बताएका छन् ।

यता अरुणाञ्चल प्रदेशको सीमावर्ती गाउँ किबिथुमा ‘भाइब्रन्ट भिलेज’ नामक कार्यक्रमको शुभारम्भमा बोल्दै शाहले सुरक्षा बलहरूको कडा परिश्रमका कारण सम्पूर्ण देश आफ्नो घरमा शान्तिपूर्वक सुत्न सकेको बताएका थिए ।

यति मात्र नभएर सीमा क्षेत्र भारत सरकारको पहिलो प्राथमिकता रहेको पनि शाहको भनाई छ । ‘भारतीय भूमिमा कसैले अतिक्रमण गर्न सक्ने समय बितिसकेको छ। आज सियोको बिन्दु बराबरको जमिन पनि कसैले कब्जा गर्न सक्दैन’ शाहलाई उद्धत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल्जजिराले जनाएको छ ।

के हो विवाद ?

पछिल्ला वर्षहरूमा चीन र भारतबीचको सीमा विवाद चर्किँदै गएको अवस्था छ । सीमा क्षेत्रलाई लिएर सन् १९६२ देखि सुरु भएको विवाद हालका वर्षहरूमा थप सतहमा आएको छ । गत वर्ष चीनको सिभिल अफयर्स मन्त्रालयले पाँच पहाड सहित ११ स्थानहरूको नाम परिवर्तन गर्दै सो क्षेत्रलाई दक्षिणी तिब्बत क्षेत्रको रूपमा मानकीकृत गरेसँगै चीन भारत सीमा विवाद थप सतहमा आएको हो ।

चीनले जारी गरेको नक्सामा ११ स्थानहरूलाई ‘जांगनान’ वा चिनियाँ भाषामा दक्षिणी तिब्बत भनिएको छ । जसमा अरुणाञ्चल प्रदेशलाई दक्षिणी तिब्बतमा समावेश गरिएको र भारतसँगको चीनको सीमा ब्रह्म पुत्र नदीको उत्तरमा रहेको बताइएको छ ।

भारतको विदेश मन्त्रालयले यस कदमलाई अस्वीकार गर्दै अरुणाञ्चल प्रदेश भारतको अभिन्न र अविभाज्य क्षेत्र रहेको जनाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *