प्रसाद २ को रिलिज नरोक्ने अदालतको निर्णय सम्मानजनक : भुवन केसी – Nepal Press

प्रसाद २ को रिलिज नरोक्ने अदालतको निर्णय सम्मानजनक : भुवन केसी

काठमाडौं । पाटन उच्च अदालतले चलचित्र ‘प्रसाद २’ रिलिज गर्न बाटो खुला गर्ने गरी आदेश दिएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

अदालतको आदेश चलचित्रमा काम गर्ने हरेक श्रमजीवीको पक्षमा रहेको उनले बताए ।

‘बोर्डले सबै पक्षलाई विश्लेषण गरी रिलिज हुन दिने निर्णय गरेको थियो । कसैको व्यक्तिगत हिसाबकिताबको आधारमा सयौँ श्रमजीवीले काम गरेको सिंगो चलचित्रलाई नै प्रदर्शन हुन नदिने नियतविरुद्ध अदालतको आदेश सम्मानजनक छ,’ उनले भने ।

यसबाट आगामी दिनको लागि पनि यस प्रकारका समस्याहरू आउँदा पेश गर्ने नजिर बनेको केसीको भनाइ छ । ‘प्रसाद २’ को प्रदर्शन २४ चैतमा तय भइसकेको अवस्थामा यसको सेन्सर रोक्नका लागि विभिन्न व्यक्तिहरूबाट बोर्डमा निवेदन परेको थियो ।

यसको समाधानका लागि चैत २० गते उजुरीकर्ताहरू तथा चलचित्रसँग सम्बन्धित पक्षहरूलाई बोर्डको कार्यालयमा डाकी छलफल गराइएको थियो । उक्त छलफलमा उजुरीकर्ताहरू सबै आएतापनि निर्मातामा नाम रहेका ‘सुवास थापा’को भने उपस्थिति थिएन ।

उक्त फिल्म चलचित्र विकास बोर्डमा निज थापाको छोरा सुलभ थापा सञ्चालक रहेको कम्पनी ‘सुलभ थापा प्रोडक्शन प्रा.ली.’ र ज्याक श्रेष्ठ सञ्चालक रहेको कम्पनी ‘एसजी फिल्मस प्रा.ली.’ को नाममा दर्ता रहेको छ । रिट निवेदक केशव पाण्डे बोर्डमा रहेका चलचित्र सम्बन्धित कुनै पनि कागजातमा फिल्म ‘प्रसाद २’को साझेदारको रूपमा रहेको देखिँदैनन् ।

उक्त छलफलमा निज पाण्डेबाहेक उपस्थित सबैले चलचित्रलाई रिलिज हुन दिएपछि मात्र आफूले पाउनुपर्ने रकम प्राप्त हुने आधार रहेको बताएपछि सेन्सर सिफारिस दिने र विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी प्राथमिकताका आधारमा हल रिलिजबाट कलेक्सन भएको रकम लिने छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *