पुँजीबजारको महत्व बुझाउन महासंघको एसोसियट सदस्यमा भरत रानाभाट बने उम्मेदवार – Nepal Press

पुँजीबजारको महत्व बुझाउन महासंघको एसोसियट सदस्यमा भरत रानाभाट बने उम्मेदवार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मंगलवारबाट शुरू भएको साधारणसभासँगै नयाँ नेतृत्वको लागि निर्वाचनमा पुँजीबजारका करिब ५० लाख लगानीकर्ताको प्रतिनिधित्व गर्दै भरत रानाभाटले एसोसियटतर्फको सदस्यमा उम्मेदवारी दिएका छन् ।

स्टक ब्रोकर एसोसियसनका पूर्वअध्यक्ष रानाभाट पुँजीबजारको महत्व महासंघको नेतृत्वलाई बुझाउनका लागि आफू लगानीकर्ताहरूको आग्रहबमोजिम उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा जान चाहेको बताए ।

साधारणसभाअघि पत्रकारहरूसँग कुरा गर्दै पूर्वअध्यक्ष रानाभाटले उद्योग वाणिज्य महासंघको संरचना जे जस्तो भए पनि यसको दायर फराकिलो हुँदै गएको र पुँजी बजारको बारेमा नीतिगत तहमै बसेर काम गर्नुपर्ने अवस्था आएकोले आफूले उम्मेदवारी दिएको बताए ।

रानाभाटले भने- हिजो उद्योग वाणिज्य महासंघको दायरा साँघुरो थियो । अहिले पुँजीबजारमा सर्वसाधारणको लगानी बढेसँगै यो एउटा ठूलो क्षेत्र भएको छ । महासंघले अब शेयर मार्केटमा आएको अर्बौ रुपैया लगानीलाई नजरअन्दाज गर्न सक्दैन । यसका लागि हामीजस्ता यहि क्षेत्रमा काम गरिरहेका मान्छे त्यहाँ पुँग्दा आवाज बलियो हुन्छ भन्ने हो ।

रानाभाटले पुँजीबजारले फड्को मार्न सक्ने विषय महासंघमा आफूले उठाउने बताए । पुँजीबजार अहिले समस्या ग्रस्त भएको भन्दै रानाभाटले छाता संगठनमार्फत नीति निर्माण गर्ने ठाउँमा यहाँका समस्या समाधानको पहल गर्न आफूलाई जिताउँन आग्रह गरेका छन् ।

रानाभाटले भने- संसारभर छरिएर रहेका नेपालीहरू पुँजीबजार संग जोडिएका छन तर एन आर एन को कुरा उठाएको धेरै भयो नीतिगत व्यवस्था अभावका कारणले उनीहरू अहिलेसम्म बजारमा आउन सकेका छैनन् । एनआरएन हुन् वा विदेशीलगानीकर्ता सबैभन्दा पहिला यहाँका ठूला तथा घरानीया व्यापारीसँग ठोकिन्छ । उनीहरूको माध्यमबाट जाँदा सरकारले पनि छिटो सुन्ने तथा विदेशीलगानीकर्ताले पनि विश्वास गर्ने र उनीहरूलाई भित्र्याउनका लागि नितिगत सहजीकरण गर्न पनि सहज हुने तथा यसो गर्न सकेमा पुँजीबजारले फड्को मार्न सक्ने भएका कारण महासंघमा यी कुराहरू उठान गर्नका लागी पनि मैले उम्मेदवारी दिएको हुँ ।

महासंघमा फरक फरक क्षेत्रका उद्योग व्ययसायी आबद्ध रहेको भन्दै बजार चलायमान बन्दै गर्दा अरु क्षेत्र पनि चलायमान बन्दै जाने बुझाउन तथा पुँजीबजारलाई प्राथमिकतामा राख्न महासंघको नेतृत्वमा बसेर काम गर्ने बताएका छन् । महासंघको नेतृत्वका लागि बुधबार निर्वाचन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर