कोशी प्रदेशका मन्त्री, कसको कति सम्पत्ति ? – Nepal Press

कोशी प्रदेशका मन्त्री, कसको कति सम्पत्ति ?

कसको कति ऋण ?

विराटनगर । कोशी प्रदेशका अधिकांश मन्त्रीहरूको विभिन्न कम्पनीमा शेयर तथा लगानी देखिएको छ ।

कोशी प्रदेशका ६ मध्ये ४ जनाको काठमाडौँ उपत्यकामा घर र जग्गा रहेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा मुख्यमन्त्री हिकमत कार्की, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, स्वास्थ्य मन्त्री निर्मला सुब्बा र पर्यटन बन तथा वातावरण मन्त्री जीवन आचार्यको उपत्यकामा घर जग्गा रहेको उल्लेख छ ।

यस्तै ताप्लेजुङ निर्वाचन क्षेत्र भएका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्यांवोको इटहरी र र तेह्रथुम निर्वाचन क्षेत्र भएका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँको झापाको बिर्तामोडमा पनि जग्गा रहेको देखिन्छ ।

कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले भने झापामा मात्रै आफ्नो घर जग्गा रहेको विवरण पेस गरेका छन् ।

कसका कहाँ कहाँ घर जग्गा ? 

मुख्यमन्त्री हिक्मत कार्कीले बुझाएको सम्पत्ति विवरणमा श्रीमती अञ्जना पाण्डेको नाममा ललितपुर महालक्ष्मी नगरपालिका ४ मा २३२ र २८६ वर्ग मिटर जग्गा रहेको उल्लेख गरेका छन् ।

उनले सो जग्गा १ करोड ४० लाखमा किनेको विवरणमा उल्लेख गरेका छन् । उनले सो जग्गा किन्न एभरेष्ट बैकबाट ९० लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् ।

उनले बुझाएको सम्पत्ति विवरणमा झापाको गौरा दहमा दाजु दीपक कार्की र आफ्नो नाममा १ मा कट्टा १० धुरमा बनेको दुई तल्ले पक्की घर, गौरा दह ३ मा ३ कट्ठामा बनेको पक्की घर र टहरा रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।

सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौं वडा नम्बर ३२ मा १३७ वर्ग मिटर जग्गा रहेको छ । उनले सो जग्गा ४६ लाख ५० हजारमा २०५८ सालमा खरिद गरेको सम्पत्ति विवरण पेस गरेका छन् । यस्तै राजभण्डारीको सोलुखुम्बुको सोलुदुधकुण्डको ६ नम्बर वडामा विभिन्न कित्तामा गरी १०६९२.५० वर्ग मिटर जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख छ ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य ललितपुर, विराटनगर तथा मोरङको बुढीगंगामा घर तथा जग्गा रहेको छ ।

उनले बुझाएको विवरणमा ललितपुर सुन कोठी ९ (क) को ७०४ कित्ता नम्बरमा ९ आना र १२८१ कित्ता नम्बरमा १ आना २ पैसा जग्गा रहेको छ । उक्त जग्गामा साढे दुई तले पक्की घर रहेको विवरणमा उल्लेख छ । उक्त सम्पत्ति व्यवसाय र पैतृक सम्पत्तिले ३६ लाखमा खरिद गरेको उनले जनाएका छन् ।

यस्तै विराटनगर महानगरपालिका १ (ख) ३१७८ कित्ता नम्बरमा १५ धुर जग्गामा आचार्यको साढे दुई तले पक्की घर रहेको छ । सो घरजग्गा १३ लाख ५० हजार पैतृक सम्पत्तिले खरिद गरेको उनले जनाएका छन् ।

यस्तै मोरङको साबिक हात्ती मुढामा मात्र ११ कित्ता जग्गा रहेको छ । हात्ती मुडा ४ मा २६३० वर्ग मिटर, साबिक हात्ती मुढा २ मा १९४७ वर्ग मिटर र हात्ती मुढा २ मै २०३१.७१ वर्ग मिटर जग्गा रहेको उनले विवरण बुझाएका छन् ।

प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूसँग ताप्लेजुङको पाथीभरा याङ्वरक २ मा पैतृक सम्पत्ति, फुङलिङ ४ मा ५ रोपनी ३ आना श्रीमतीको नाममा र इटहरी ६ मा १६ धुर जग्गा रहेको उल्लेख छ । उक्त जग्गा तलबबाट खरिद गरेको उल्लेख गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँसँग श्रीमती इन्दिरा कार्कीको नाममा झापा बिर्तामोड ३ मा १ कट्टा जग्गा, मोरङ सुन्दरहरैंचा १ मा १ बिगाहा १० कट्टा जग्गा रहेको उल्लेख छ ।

सुन्दरहरैंचाको जग्गा कृषि फर्म सञ्चालनका लागि सामूहिक रूपमा खरिद गरिएको उनले जनाएका छन् ।

स्वास्थ्य मन्त्री निर्मला लिम्बूले बुझाएको सम्पत्ति विवरणमा ताप्लेजुङ फुङलिङ ६ र ललितपुरको सानो हात्ती वनको जग्गामा घर रहेको उल्लेख गरेकी छिन् । तर उनले घर जग्गाको विस्तृत विवरण खुलाएकी छैनन् । लिम्बुले बुझाएको विवरणमा झापामा पनि जग्गा रहेको उल्लेख छ ।

यस्तै उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले पनि आफ्नो सम्पत्ति विवरणमा झापा बिर्तामोड ७ मा विभिन्न कित्तामा गरेर ३० कट्टा ५ धुर जग्गा रहेको उल्लेख गरेका छन् । सम्पूर्ण जग्गा पैतृक सम्पत्ति रहेको उनको विवरणमा उल्लेख छ ।

कसको शेयर कति ?

कोश प्रदेश सरकारका मन्त्रीहरूको विभिन्न कम्पनीहरूमा शेयर रहेको देखिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले श्रीमती अञ्जना पाण्डे कार्कीको नाममा लिभरपुल एजुकेसन नेटवर्क प्रालि मा २१ लाख ३८ हजार ७ सय, आफ्नै नाममा ड्रिमल्याण्ड हाउजिङमा १० लाख र सहिद मेमोरियल अस्पतालमा १ लाख ५० हजार रुपैयाँको शेयर रहेको उल्लेख गरेका छन् ।

यस्तै झापाको गौरा दह कृषि तथा पशुपक्षी विकास फर्म ३ लाखमा २०७३ सालमा स्थापना गरेर सञ्चालनमा रहेको उनले जनाएका छन् । उनले महालक्ष्मी नगरपालिकास्थित घरजग्गा खरिद गर्दा लिएको ९० लाख ऋण तिर्न बाँकी रहेको विवरण बुझाएका छन् ।

सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको विभिन्न कम्पनीमा ५६ हजार ३५० थान शेयर रहेको छ । जसमा सबैभन्दा धेरै सोलुखुम्बु ग्रुपमा ३० हजार कित्ता र बेनी हाइड्रोमा २० हजार, सोलु हाइड्रोमा ५ हजार कित्ता शेयर रहेको छ । उनले २० लाख रुपैयाँ ऋण देखाएका छन् ।

पर्यटन मन्त्री जीवन आचार्यको एनस्याट प्रा.लि. काठमाडौँमा ३३ प्रतिशत शेयर रहेको छ । उनले सो शेयर ३० लाखमा खरिद गरेको बताएका छन् । यस्तै उनको जेएमडी ग्रुप अफ कम्पनी काठमाडौँमा ५० प्रतिशत शेयर रहेको छ ।

उनले सो शेयर ५० लाखमा खरिद गरेको बताएका छन् । उनले सो लगानी जग्गा विक्री तथा लाइफ कम्प्युटर प्वाइन्टको व्यवसायबाट आम्दानी गरेको उल्लेख गरेका छन् ।

मन्त्री मेन्यांवोले बुझाएको सम्पत्ति विवरणमा विभिन्न चार वटा कम्पनीमा १० कित्ताको दरले ४० कित्ता शेयर रहेको उल्लेख गरेका गरेका छन् । उनको मैयुंग खोला जलविद्युत, सिंगटी हाइड्रो, सानिमा लाइफ इन्सुरेन्स र माथिल्लो हेवा खोला हाइड्रोमा शेयर लगानी रहेको छ ।

मन्त्री चापागाईँले अपर खोरङ खोला जलविद्युत् आयोजनामा आफ्नो र श्रीमतीको नाममा १.२५ प्रतिशत शेयर र अपर सोलुमा पनि ०.४८ प्रतिशत शेयर रहेको जनाएका छन् ।

सार्वजनिक भएको सम्पत्ति विवरणमा स्वास्थ्य मन्त्री लिम्बु र कृषि मन्त्री सिटौलाका नाममा भने शेयर रहेको उल्लेख छैन लिम्बुको युमा कपडा उद्योग युमा कपडा पसल रहेको छ ।

कसको कति ऋण ?

मुख्यमन्त्री हिक्मत कार्कीले महालक्ष्मी नगरपालिकामा जग्गा किन्दा ९० लाख रुपैयाँ ऋण लिएको बताएका छन् । उनले सो ऋण अझै तिर्न बाँकी रहेको विवरण बुझाएका छन् ।

मन्त्री आचार्यले प्रभु बैङ्क लैनचौर शाखाबाट ५ लाख रुपैयाँ र दुहबी ८ का ओम थापाबाट ८० लाख रुपैयाँ ऋण लिएको जनाएका छन् । अरिहन्त मल्टिफाइबर्समा लामो समय काम गरेका थापा नेपाली काँग्रेस सुनसरीका कोषाध्यक्ष हुन् ।

मन्त्री दुर्गा चापाँगाईले इष्टमित्र र आफन्तजनबाट १ करोड २० लाख रुपैयाँ ऋण लिएको बताएका छन् । उनले बुझाएको सम्पत्ति विवरणमा घर बनाउन, जग्गा खरिद गर्न, शेयर खरिद गर्न र चुनाव लड्न’ ऋण लिएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर