ओलीकाे दावी- हामी सरकारमा भएको भए अहिलेसम्म कोशीमा पानीजहाज चलिसक्ने थियो (भिडिओ) – Nepal Press

ओलीकाे दावी- हामी सरकारमा भएको भए अहिलेसम्म कोशीमा पानीजहाज चलिसक्ने थियो (भिडिओ)

‘पञ्चायत र राजतन्त्र ढल्यो, गणतन्त्रमा पनि विकृति देखियो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले पञ्चायत र निरंकुश राजतन्त्र नटिक्ने पहिल्यै भनेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन सोमबार नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि विकृति आएको बताए ।

उनले भने, ‘पञ्चायत एक दिन थियो इतिहास भयो । घामजुन रहुञ्जेल रहन्छ भन्थे । हामीलाई समातेर जेल हालेका थिए । तर, केही समयमा ढल्यो । हामीले भनेका थियौं, निरंकुश राजतन्त्र रहन सक्दैन भनेर । त्यो पनि समाप्त भयो । आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ ।’

उनले गठबन्धनले देशलाई ओरालो यात्रामा लगेको आरोप लगाए ।

ओलीले भने, ‘कतिपय विकृति विसंगतिहरु जस्तै गठे संस्कृति । यो गठबन्धनको संस्कृति राजनीति छैन । विचार छैन। जेसुकै भए पनि, जसरी भए पनि एउटा निकम्मा सरकार बनाउनुपर्ने, कुकर्म गर्ने खालको स्थिति बनाएको छ । यसले देशलाई ओरालो लगाएको छ । तर, देशलाई सही बाटोमा ल्याउन सकिन्छ ।’

उनले अहिले सम्म एमाले सरकार नभएका कारण कोशी नदीमा पानीजहाज चल्न नसकेको बताए । एमाले सरकार नभएका कारण कोशी नदीमा पानीजहाज चलाउने योजना पनि ओझेलमा परेको उनको भनाइ थियो।

‘नेकपा एमालेले भूकम्पले भत्किएका घरहरू निर्माण गरेर हस्तान्तरण गरेको थियो’, उनले भने, ‘हामी सरकारमा भएको भएर कोशी नदीबाट कलकत्तासम्म पानीजहाज चलाउने थियौं । अहिले त्यो काम भएको छैन । फेरि हामी सरकारमा गएपछि त्यो काम अघि बढ्छ ।’

आफ्नो नेतृत्वको सरकारले तुइन विस्थापित गरेको, मध्य पहाडी लोकमार्गको काम अगाडि बढाइएको उनले सुनाए । अहिलेको गठबन्धन सरकारले जनताका लागि कुनै काम नगरेको उनले आरोप लगाए ।

‘म प्रधानमन्त्री भएको बेला केही समय पाएका थियौं । त्यो बेला हामीले काम गर्न सक्छौं भन्ने कुरा देखाएका थियौं’, उनले भने ।

राष्ट्रिय युवा संघलाई उनले एमालेको बलियो खम्बाको रुपमा व्याख्या गरे । ओलीले पार्टीविरुद्ध घेराबन्दी हुँदा युवा संघ सडकमा उत्रिएको स्मरण गरेका थिए । युवा संघमा जिम्मेवारी नपाउनेहरूलाई पार्टीले थप जिम्मेवारी दिने ओलीले आश्वासन दिए ।

‘जसले यहाँ ठाउँ पाउनुभएको छैन उहाँहरूले पार्टीमा ठाउँ पाउनु हुनेछ’, उनले भने, ‘हाम्रा कार्यकर्ताहरूलाई कसरी काम लगाउनुपर्छ हामीलाई थाहा छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर