‘भुटानी शरणार्थी’ बनाएर ठगी प्रकरण- गोप्य प्रतिवेदन पठाउन गृह मन्त्रालयलाई प्रहरीको पत्र – Nepal Press

‘भुटानी शरणार्थी’ बनाएर ठगी प्रकरण- गोप्य प्रतिवेदन पठाउन गृह मन्त्रालयलाई प्रहरीको पत्र

काठमाडौं । भुटानी शरणार्थी समस्या समाधानका लागि गठित कार्यदलले तयार गरेको गोप्य प्रतिवेदन पठाउन प्रहरीले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहले करडौँ रुपैयाँको ठगी गरेको जाहेरी परेपछि काठमाडौं प्रहरी परिसरले गृह मन्त्रालयलाई उक्त प्रतिवेदन पठाएर अनुसन्धानमा सहयोग गर्न आग्रह पत्रचार गरेको हो ।

पिडितले आफुलाई गोप्य प्रतिवेदनमा उनिहरुको नाममा रहेको भन्दै गिरोहले पठाएका डकुमेन्ट भन्दै देखाएपछि प्रहरीले त्यसबारे छानबिन अगाडि बढाएको हो । २०७६ सालमा गृह मन्त्रालयले सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलले बुझाएको प्रतिवेदन अझैसम्म सार्वजनिक भएको छैन । त्यस प्रतिवेदनमा तेस्रो मुलुकमा पुनर्वास हुन बाँकी रहेका भुटानी शरणार्थीहको विवरण उल्लेख रहेको बताइएको छ । गृह मन्त्रालयले कार्यदल बनाउनुअघि गिरोहले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाएको अनुसन्धानका क्रममा पाइएको छ ।

’गृह मन्त्रालयमा रहेको गोप्य प्रतिवेदन र पिडितसँग पुगेको प्रतिवेदनको अंश यदि मिलेको खन्डमा गिरोहसँग गृह मन्त्रालयका अधिकारीहरुको भूमिका छ भनेर भन्ने सक्ने अवस्था रहन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने । प्रहरीले एक साताअघि पत्राचार गरेपनि गृह मन्त्रालयले जवाफ पठाउन बाँकी रहेको स्रोतले जनाएको छ ।

गत वर्ष दाङका ८१ जना व्यक्तीले आफुहरुलाई भु्टानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरिएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । तीमध्ये ६०/६५ जनाको नाम पिडितले प्राप्त गरेको भनिएको प्रतिवेदनको अंशमा रहेको अनुसन्धान अधिकारी बताउँछन् । पिडितका अनुसार गिरोहले २० देखि ५० लाख रुपैयाँसम्म उठाएको छ ।

नगद कारोबार हुँदा ’कनेक्सन’ देखाउन मुस्किल

प्रहरीले यो प्रकरणमा हालसम्म ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइारालाका पूर्व पीए केशव दुलाल पनि रहेका छन् ।

पक्राउ परेकाहरुले जाहेरी दिएका धेरैको पैसा आफुहरुले नलिएको दावी गरिरहेको अनुसन्धान अधिकारीहरु बताउँछन् । ‘उनीहरु आफैलाई पिडित भनिरहेका छन् । केही व्यक्तिको नाम उनीहरुले पोलेका छन् तर पैसा दिएको भन्ने बलियो प्रमाणहरु भेटिएको छैन’, अनुसन्धानमा खटिएका अधिकारीहरु भन्छन् ।

पीडितले ठगीएको भनेर ठुलो रकम देखाएपनि कारोबार देखिने गरी निकै थोरै रकमको मात्र लेनदेन भएको प्रहरीले जनाएको छ । ‘यसको मतलब यदी ठगिएको हो भने धेरै जसो रकम नगदै कारोबार भएको छ। यसले गर्दा प्रमाण पु्‍¥याउन गाह्रो हुन्छ’, प्रहरी स्रोत भन्छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका सानु भण्डारीले आफुहरु ठगिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपनि वेवस्था गरिएको बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर