वर्तमान सरकारले बिग्रँदो अर्थतन्त्र सम्हाल्न सक्दैन : विष्णु पौडेल – Nepal Press

वर्तमान सरकारले बिग्रँदो अर्थतन्त्र सम्हाल्न सक्दैन : विष्णु पौडेल

बाँके । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले अहिलेको अर्थतन्त्र जोगाउन नसक्ने दाबी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटनमा बोल्दै उनले अहिलेको अवस्था बिग्रिरहेको अर्थतन्त्र जोगाउने साहस वर्तमान सरकारमा नरहेको टिप्पणी गरेका हुन् ।

अहिलेका अर्थमन्त्री सकिँदैन कि क्या हो भनेर केही आफ्नालाई भन्नु भएछ मैले सुने उनले भने, ‘हो यो गठबन्धनले सक्दैन । यो गलत कामको लागि मात्रै बनेको गठबन्धन हो । यो गठबन्धनले राम्रो गर्न सक्दैन ।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार हुँदा जनताका आशा जगाउने काम भएको बताए ।

‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि सबै कुरा राम्रो हुन्छ । जनताका भरोसा बढ्छ आत्म विश्वास बढ्छ’ उनले भने, ‘हामी सरकारबाट बाहिरिँदा सबै जनता निराश हुन्छ ।’

अहिलेको १० दलीय गठबन्धनले जनतालाई कुनै राम्रो कामको आभास दिलाउन नसकेको आरोप लगाए । उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने गरि लाग्न समेत निर्देशन दिएका थिए ।

‘हामी आजैदेखि अर्काे निर्वाचनको तयारीमा छौँ अर्काे निर्वाचन कहिले हुन्छ थाहा छैन । पाँच वर्षको कार्य पूरा गर्ने पनि लक्षण छैन’, उनले भने, ‘आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने गरि भूमिकामा लाग्नु पर्छ ।’

उनले युवा आन्दोलनलाई नयाँ गति दिन आवश्यक रहेको बताएका थिए ।

‘राष्ट्रिय राजनीतिमा युवा संघको भूमिका अझै बढ्दे देखिन्छ । टाउकोमा रातो फिता बाँधेर सडक उत्रिनु पर्ने अवस्था आउँदै छ । यो गठबन्धनको सरकार जनताको विरुद्धमा, राष्ट्रको विरुद्धमा एक पछि अर्का अपराध कर्म गर्दै गइरहेको छ’, उनले भने, ‘यो सरकार नेपाली भूमिको रक्षामा यो सरकार चूँ पनि बोल्दैन । लोकतन्त्र र संविधानको रक्षाको लागि युवा संघ मैदानमा उत्रिनु पर्ने अवस्था आउन सक्छ ।’

राजनैतिक मुद्धा लिएर सडकमा उत्रिनु पर्ने दिन आउन सक्ने भन्दै उनले राष्ट्रिय युवा संघलाई तयार रहन निर्देशन दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर