दुई महिनापछि बसेको मधेश प्रदेशसभा बैठक १० मिनेटमै सकियो, अनिश्चितकालका लागि स्थगित – Nepal Press

दुई महिनापछि बसेको मधेश प्रदेशसभा बैठक १० मिनेटमै सकियो, अनिश्चितकालका लागि स्थगित

जनकपुरधाम । झण्डै दुई महिनापछि आज बसेको मधेश प्रदेशसभा बैठक १० मिनेटमात्र चल्यो । बैठकमा गत आर्थिक वर्षको बाँकी रहेको भुक्तानी गर्न गठित उच्चस्तरीय संसदीय छानबिन समितिको म्याद थप्न र प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने प्रस्ताव गरिएको छ ।

समितिकी सभापति रानी शर्मा तिवारीले वैशाख मसान्तसम्म म्याद थप्न प्रदेशसभा बैठकमा प्रस्ताव गरेकी छन् । उनले समिति गठन भएको दुई महिना बित्दासमेत अहिलेसम्म योजनाका फाइलसमेत कर्मचारीले दिन नसकेको गुनासो गरिन् ।

सभापति शर्माले भनिन्, ‘५२९ योजनाको स्थलगत निरीक्षण गर्नुपर्नेछ । उक्त योजनाको केही फाइल अझै मन्त्रालयका कर्मचारीबाट उपलब्ध भएको छैन ।’

समितिले अहिलेसम्म पर्सा, बारा, सर्लाही र रौतहतका योजनाहरुको स्थगलत निरीक्षणमात्र गर्न सकेको उनले बताइन् ।

समितिकी सभापति उपसभामुख बबिता राउत इसरले राजीनामा दिएपछि शर्मालाई सभापति बनाइएको थियो । शर्मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की सांसद हुन् ।

यस्तै सामाजिक विकासमन्त्री सुरिता साहले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने प्रस्ताव बैठकमा गरेकी छन् । मुख्यमन्त्री सरोजकुमार यादव बैठकमा उपस्थित नभएका कारण उनको सट्टा मन्त्री साहले प्रस्ताव पेश गरेकी थिइन् ।

समितिको म्याद थप र खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने प्रस्ताव बैठकमा पेश भएपश्चात सभामुख रामचन्द्र मण्डलले बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर