गौतमबुद्ध विमानस्थलका महाप्रवन्धकलाई कालोमोसो दल्ने पर्यटन व्यवसायीको चेतावनी (भिडिओ) – Nepal Press

गौतमबुद्ध विमानस्थलका महाप्रवन्धकलाई कालोमोसो दल्ने पर्यटन व्यवसायीको चेतावनी (भिडिओ)

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले विभागीय मन्त्रीलाई गलत रिपोर्टिङ गरेको भन्दै सो क्षेत्रका पर्यटन व्यवसायी, ट्राभल एजेन्ट संघका प्रतिनिधिले उनको कार्यालयमै पुगेर जवाफ मागेका छन् ।

आइतबार विमानस्थलको जानकारी लिन आएकी संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीलाई महाप्रबन्धक पाण्डेले भैरहवा तथा विमानस्थल एयरपोर्ट आसपासमा पर्याप्त होटल नहुँदा विमानस्थल सुचारु गर्न नसकिएको बताएको समाचार बाहिरिएपछि व्यवसायी आक्रोशित बनेका छन् ।

सोमबार उनको कार्यकक्षमा पुगेका व्यवसायीहरूले जनताको करबाट तलब खाएर उल्टो सूचना दिएर हतोत्साही बनाएको भन्दै माफी माग्न चेतावनी दिए । व्यवसायीहरूले विमानस्थलमा सूचना केन्द्र नराखेको भन्दै गलत सूचना दिए कालोमोसो लगाएर खेदाउने चेतावनी कार्यालयमै पुगेर दिए ।

पाण्डेले मन्त्रीलाई उक्त रिर्पोटिङ गरेलगत्तै आइतबार नै त्यहाँ रहेका पत्रकारहरूले महाप्रबन्धक पाण्डेलाई गलत सूचना नदिन तत्काल सचेत गराएका थिए । आफ्नो गल्ती ढाकछोप गर्न भैरहवाको बारेमा गलत ब्रिफिङ्ग किन गरेको ? भनेर प्रश्न गरेपछि पाण्डे जवाफविहीन भएका थिए ।

पाण्डेको गलत ब्रिफिङ सच्याउनु पर्ने भन्दै पत्रकारले प्रतिवाद गरेपछि उक्त रिपोर्टनलाई सच्याउने बताएका थिए ।

पाण्डेलाई पत्रकारहरूले लुम्बिनी र भैरहवा गरी करिब ५ हजार पाहुना राख्न सक्ने क्षमताका होटल भएको भन्दै वस्तुस्थिति बुझेरमात्र ब्रिफिङ गर्न सुझाए ।

होटल व्यवसायीहरू यस आसपासमा होटल तथा रेष्टुरेन्टहरूमा ३० अर्बभन्दा बढी लगानी भएको र विमानस्थललाई आधार बनाएर पछिल्लो समय होटलमा मात्र यहाँका व्यवसायीले थप ४० अर्ब बढी लगानी गरेको बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर