युवासंघको केन्द्रीय महाधिवेशन : अध्यक्षमा ३ जना प्रत्याशी, सहमतिका लागि शीर्ष नेताको कसरत – Nepal Press

युवासंघको केन्द्रीय महाधिवेशन : अध्यक्षमा ३ जना प्रत्याशी, सहमतिका लागि शीर्ष नेताको कसरत

रुपन्देही । राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा देश विदेशका दुई हजारभन्दा बढी प्रतिनिधि युवा नेताहरू सोमवार बिहानसम्म नेपालगन्ज जुट्दैछन् ।

उद्घाटन सत्रका बाँके आसपासका करिब १० हजार नेता कार्यकर्ता जुटाउने तयारी गरिएको छ । महाधिवेशन एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्दैछन् । कार्यक्रमका लागि महासचिव शंकर पोखरेल, डा. राजन भट्टराई, युवा इन्चार्ज महेश बस्नेतलगायतका नेताहरू यसअघि नै नेपालगन्ज पुगिसकेका छन् ।

स्वागत लागि नेपालगन्ज उपमहानगरपालिका क्षेत्र सिँगारिएको छ, नगर र जिल्ला प्रवेश नाकाहरूमा स्वागत द्वार र झण्डा ब्यानरहरू लगाइएका छन् ।

चैत २७ देखि २९ गतेसम्म नेपालगन्जमा हुन लागेको नवौँ राष्ट्रिय महाधिवेशनले नेपालगन्ज रंगिएको हो ।

उक्त समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरू तयारी भएको र अधिकांश प्रतिनिधि आइसकेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता महाराज गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार, उद्घाटन समारोहका लागि नेकपा एमाले बाँकेसँगको समन्वयमा युवा संघले १० हजार बढी जनपरिचालन गरिने भएको छ ।

‘यो नेपालगन्जका लागि महत्त्वपूर्ण अवसर हो,’ महाधिवेशन तयारीमा सक्रिय आवास तथा खाद्यान्न व्यवस्थापन समितिका संयोजक रवीन्द्र लम्सालले भने, ‘देशकै सबैभन्दा ठुलो युवा संगठनको महाधिवेशन नेपालगन्जमा भइरहेको छ, हामी गौरवका साथ तयारीमा छौं, देश विदेशका युवा नेताहरूलाई स्वागतका लागि सबै व्यवस्थापन गरिसकिएको छ ।’

महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष ओलीसँगै, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवं मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेता सहभागी हुने प्रवक्ता गुरुङले जनाएका छन् ।

आवास तथा खाद्यान्न व्यवस्थापन समितिका संयोजक लम्सालका अनुसार, महाधिवेशन तयारीका लागि एमालेका युवा महेश बस्नेत, युवा संघ अध्यक्ष किरण पौडेल, उपाध्यक्ष सुमन पुरी लगायतका केन्द्रीय पदाधिकारीहरू नेपालगन्जमा सक्रिय छन् ।

नेतृत्वको लागि तीन जना आकांक्षी

युवा संघ नेपालमा अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन् । वर्तमान महासचिव क्षितिज थेबेसँगै उपाध्यक्षद्वय अञ्जना अधिकारी र सन्तोष रावल अध्यक्षका लागि आकांक्षी छन् ।

राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वको विषयमा सहमति जुटाउने पहल सुरु भएको छ । नवौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएसँगै नेकपा एमालेका महासचिव शंकर पोखरेलले आकांक्षीहरुबीच सहमतिका लागि पहलकदमी लिएका हुन् ।

महासचिव पोखरेल आइतबार साँझ नेपालगञ्ज पुगेका हुन् । महासचिव पोखरेलले युवा संघका इञ्चार्ज महेश बस्नेत, अध्यक्ष किरण पौडेलसहित पूर्वअध्यक्षहरु र अध्यक्षका आकांक्षीसँग सहमतिका लागि छलफल अघि बढाएका छन् ।

सहमति नजुटेको अवस्थामा भने चुनावमार्फत नयाँ नेतृत्व चयन हुने अध्यक्ष पौडेलले जनाएका छन् ।

‘सम्झन लायक आतिथ्य हुनेछ’

रविन्द्र लम्साल

संयोजक, आवास तथा खाद्यान्न व्यवस्थापन समिति

देशकै ठूलो युवा संगठन, राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशनमा करिब २ हजार प्रतिनिधि, अतिथि सहभागी हुने अनुमान छ, त्यसका लागि आवास र खाद्यान्नको व्यवस्थापनको जिम्मेवारी लिएको छु ।

नेपालगन्ज, कोहलपुर र खजुरामा प्रतिनिधि, अतिथि व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ । सबैलाई सुविधाजनक होटलमा राख्ने व्यवस्था गरिएकोले आउने प्रतिनिधिलाई स्वयंसेवकले होटलसम्म पुर्‍याउने, प्रतिनिधिलाई पहिले नै होटल र रुम नम्बर उपलब्ध गराउने काम भएको छ ।

सोमवार उद्घाटन समारोहसँगै आमन्त्रित सबैलाई बासको व्यवस्था गरिने छ । यसका लागि आर्थिक व्यवस्थापन आफ्नै दायित्वबाट उठाइरहेका छौँ । हामीले चन्दा उठाएका छैनौँ ।

पार्टी तथा संगठन भित्रैबाट आर्थिक सहयोगको वातावरण मिलाइएको छ, लेबी उठाउने, दायित्व तोकिएको छ, प्रतिनिधि, जिल्ला, महानगर, उपमहानगरपालिका कमिटी लगायतलाई दायित्व तोकिएको छ । त्यो दायित्व उठाउँदै तिर्दै गरेका छौँ ।

यो आयोजना नेपालगन्जका लागि महत्त्वपूर्ण अवसर हो, राष्ट्रिय युवा संघको महाधिवेशन नेपालगन्जमा हुनु, आफैमा ऐतिहासिक आयोजना हो ।

राष्ट्रिय युवा संघ देशको सबैभन्दा ठूलो युवाहरूको संगठन हो । त्यसमा आबद्ध युवाहरू, विदेशका प्रतिनिधिहरू नेपालगन्ज आउँदा होटल, पर्यटन व्यवसायीका लागि पनि उत्तिकै खुशीको कुरा हो । यसले आन्तरिक पर्यटन भित्र्याउने कुरामा टेवा दिन्छ भने अर्को राष्ट्रिय युवा संघले आफ्नो महाधिवेशन नेपालगन्जमा गर्‍यो भन्ने सन्देश पनि जान्छ । त्यसैले पनि बाँके र नेपालगन्जवासीले खुला हृदयले हाम्रा पाहुनालाई असल आतिथ्य प्रदान गरेर पठाउनु हुने कुरामा हामी ढुक्क छौँ ।

यो राजनीतिक उत्सवको आयोजना पनि हो, हाम्रा एजेन्डाका रूपमा पनि उत्तिकै महत्त्वपूर्ण छ, नेपालगन्ज महाधिवेशन । त्यसैले पनि धेरै कुरामा फलदायी हुन्छ भन्नेमा आशावादी छौँ ।

आयोजकका रूपमा हामीले स्वागत गर्न पाउनुमा हर्षित, उत्साहित छौँ, हामीले यहाँबाट व्यवस्थित तरिकाले व्यवस्थापन गरेर खुशी मनले पठाउँछौँ । प्रसिद्ध शक्ति पीठ बागेश्वरीले चर्चित नेपालगन्ज, स्वादको सहर पनि हो । यो कुरा मुलुकभर प्रवाह गर्न मौकामा स्थानीयवासीले आफ्नो भूमिका खुल्नु हुन अपिल पनि गर्दछौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर