रास्वपाका सांसद ढाकामाथि सहकारीको एक करोड हिनामिना गरेको पनि आरोप – Nepal Press

रास्वपाका सांसद ढाकामाथि सहकारीको एक करोड हिनामिना गरेको पनि आरोप

पोखरा । व्यवसायी दुर्गा प्रसाईंसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएसँगै यतिबेला विवाद चुलिएको छ । २ करोड मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएकोसमेत दिईसकेको छ । यस्तै, छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन दिएको रास्वपाले दिइसकेको छ ।

२ करोड रुपैयाँ मागेका अडियो बाहिरिएर विवादमा आएका सांसद श्रेष्ठलाई पोखराको साथी किसान सहकारी संस्थाको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

उनी गत कात्तिक ९ गतेसम्म उक्त सहकारीले उनलाई ९९ लाख रुपैँयाको हिनामिना गरेको आरोप लगाएको छ । श्रेष्ठ सांसद भएपछि सहकारीको अध्यक्षमा सनी पाठक गत कात्तिक ८ गते अध्यक्ष भएका थिए । उनले नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप नयाँ कार्यसमितिले लागेको छ ।

सहकारीले कुखुरापालन तथा मासु व्यवसायलाई सहयोग गर्दै आइरहेको थियो । तर, कुखुरा खरिदबिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भइसकेको र त्यसको कुनै पनि बिल भर्पाइ नदेखिएको आरोप हालको कार्यसमितिको थियो ।

सांसद श्रेष्ठले आफुलाई लगाएको आरोप निराधार रहेको प्रतिक्रिया दिएका थिए । ‘म निर्दाेष छु । मैले संस्थाबाट नाफा हुँदै र राम्रो अवस्थामा हुँदै छाडेको थिएँ । देशको समस्या समाधान गर्न सांसद भएँ । अहिले मलाई नै आक्षेप लगाइयो,’ उनले भनेका थिए ।

अर्को तर्फ सहकारीका बचतकर्ता पैसा फिर्ता नपाएको भन्दै बिचल्ली भइराखेको छ । उनीहरु आफुले बचत गरेको रकम फिर्ता नपाएको भन्दै पुस अन्तिमतिर पोखरा महानगरपालिका पुगेका थिए । महानगरले बचतकर्तालाई ३ महिनाभित्र रकम फिर्ता गर्न सहकारीलाई निर्देशन दिएको थियो । तर, अहिले सहकारीनै बन्द छ ।

डा. ढाकासँग हिनामिनाको विषयमा छलफल भइरहेको सहकारीका हालका सहसचिव हर्क नेपाली बताउँछन् । ‘डा. ढाकासँग हामी बसेको हो, उहाँले के भन्नुभएको थियो भने त्यहिँ थाहा हुन्छ, तपाईं हामी गएर अख्तियारमा मुद्दा हालौं न भन्नु भएको थियो,’ उनले भने, ।

फसेको पैसा उठाउन आफुहरु लागी परेको सहसचिव नेपालीको दाबी थियो । उनी भन्छन्, ‘हामी बारम्बार बसिराखिएको छ, बजारमा फसेको पैसा उठाउन हामी कस्सिएको हो । २०/३० लाखको चेक बाउन्स गरेर जिप्रका बुझाएका छौं ।’
हाल सहकारीमा १ सय ५ जना सेयर सदस्य छन् । बचत रकम ८२ लाख ७२ हजार रहँदा ९९ लाख रुपैयाँभन्दा बढी उठाउनुपर्ने हिसाब रहेको सहकारीको दाबी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर