भक्तपुरमा सोमबार सुरु हुँदै नौ दिन आठ रात लामो बिस्का जात्रा (भिडिओ) – Nepal Press

भक्तपुरमा सोमबार सुरु हुँदै नौ दिन आठ रात लामो बिस्का जात्रा (भिडिओ)

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्का जात्राको मुख्य आकर्षण भैरवनाथको रथ निर्माण अन्तिम चरणमा पुगेको छ ।

भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक बिस्का जात्रा सोमबार सुरु हुँदैछ । भक्तपुर नगरपालिका- ५ टौमढीस्थित ङातापोल तथा भैरवनाथको मन्दिर परिसरमा निर्माण गरिएको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु गरिन्छ ।

सूर्यमासअनुसार नयाँ वर्ष सुरु हुनु चार दिनअघि भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा सुरु हुन्छ । जसअनुसार यस वर्ष सोमबार जात्रा सुरु हुने भएको हो ।

प्यागोडा शैलीमा बनाइएको तीन तले भैरवनाथको रथ तानेर बिस्का जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । अहिले साेही भैरवनाथकाे रथसँगै भद्रकालीकाे रथ सिंगार्ने काम भइरहेकाे गुठी संस्थान भक्तपुरले जनाएकाे छ । भैरवनाथकाे रथ तान्नुअघि रथकाे अगाडि बेताल विराजमान गराइन्छ । त्यस्तै मन्दिरमा रहेकाे भैरवनाथलाई बाजागाजाकाे सवारीसहित रथमा विराजमान गराइन्छ । याे कार्य सकिएपछि विधिवत रुपमा रथ तानिन्छ ।

भैरवनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते विधिवत सम्पन्न गरिन्छ । अन्तिम दिन भैरवनाथको रथलाई तानेर पाँंचतले मन्दिर अगाडि पुर्‍याएपछि बिस्का जात्रा सम्पन्न हुन्छ ।

बिस्का जात्राअन्तर्गत चैत मसान्तको दिन भक्तपुर नपा- ५ स्थित योसिङखेलमा ५५ हात लामो यसिङ (लिंगो) ठड्याइन्छ । उक्त यसिङ सूर्यमासअनुसार नयाँ वर्षको पहिलो दिन ढालिन्छ । यसिङ ठड्याउनु र ढाल्नुअघि भैरननाथ र भद्रकालीको रथ तानिन्छ ।

भक्तपुरमा यसिङ ढालेको भोलिपल्टै मध्यपुर थिमिमा सिन्दूरे जात्रा र जिब्रो छेड्ने जात्रा मनाइन्छ । त्यस्तै चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा स्थानीय भैरव, गणेश तथा अष्टमातृका देवीलगायतको खटजात्रा मनाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *