कोशी नामकरण सच्याउन सभामुख, मुख्यमन्त्री र सांसदको घरघरमै ‘चेतावनी पत्र’ – Nepal Press

कोशी नामकरण सच्याउन सभामुख, मुख्यमन्त्री र सांसदको घरघरमै ‘चेतावनी पत्र’

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेको पुनः नामाङ्कन संयुक्त संयुक्त समितिले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत कोशी प्रदेशका सभामुख, उपसभामुख मुख्यमन्त्री सहित प्रदेशसभा सदस्यहरूलाई पुन: नामकरण गर्न भन्दै चेतावनी पत्र पठाउन थालेको छ ।

नामकरण सच्याउन माग राख्दै सभाका सभामुख, मुख्यमन्त्री, संसदीय दलका नेता र सचेतकलाई दिने साथै कोशी प्रदेश नाममा मतदान गर्ने ८२ प्रदेश सांसदहरूको घरघरमा चेतावनी पत्र टाँस गर्न थालिएको हो ।

संयुक्त सङ्घर्ष समितिले नामकरण सच्याउन मागसहित चेतावनी पत्र पठाउने र नभेटिए घरमा गएर पत्र टाँस्ने कार्यक्रम रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए ।

लिङ्देनले एसइई परीक्षा सञ्चालन भइरहेको कुरालाई ध्यानमा राखी चैत २७ गतेसम्म हड्ताल, जुलुस, सभा, तालाबन्दी नगर्ने जनाएको थियो । बैठकले २७ चैतपछिका शान्तिपूर्ण आन्दोलनको कार्यक्रम तय गरेको उनले बताए ।

आन्दोलनको क्रममा घाइते भई मृत्यु भएका पदमबहादुर लिम्बू ‘लाजेहाङ’ लाई सहिद घोषणासहित परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णयलाई बैठकले उपलब्धिको रूपमा लिने निर्णय गरेको छ ।

उक्त निर्णय राजपत्रमा प्रकाशित हुनुका साथै सरकारले संयुक्त सङ्घर्ष समितिमा औपचारिक जानकारी दिएपछि मात्र यसबारेमा थप निर्णय गरेर अगाडि बढ्ने निर्णय गरिएको छ ।

नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नामकरणको पक्षमा मतदान गर्नु कमजोरी भएको स्वीकार गरी पहिचानको पक्षमा उभिनका लागि गरेको निर्णयलाई संयुक्त सङ्घर्ष समितिले स्वागत गरेको छ ।

माओवादीलाई पुनः नामकरणको आन्दोलनमा पूर्णरूपमा सहभागी हुन अपिल गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर