घनश्यामलाई मुकुन्दको प्रश्न- मदन भण्डारी र केपी ओलीको आलोचना पार्टीको अनुमति लिएर गर्नुभएको थियो ? – Nepal Press

घनश्यामलाई मुकुन्दको प्रश्न- मदन भण्डारी र केपी ओलीको आलोचना पार्टीको अनुमति लिएर गर्नुभएको थियो ?

‘माधव नेपालले चौथो हुन्छ भनेको एमाले लोकप्रिय मतमा पहिलो भयो, जनताले जमानत जफत गरेको नेकपा एसको भविष्य अब छैन’

काठमाडौं । नेकपा एकीकृत समाजवादीको तेस्रो वरियताका नेता मुकुन्द न्यौपानेले पार्टी छाड्नुअघि पेश गरेको ३३ बुँदे फरक मतमा हालैमात्र महासचिव बनेका घनश्याम भुसालमाथि प्रश्नै प्रश्न तेर्स्याएका छन् ।

न्यौपानेले शनिवार पत्रकार सम्मेलनमार्फत आफ्नो ३३ बुँदे फरक मत सार्वजनिक गरेका छन् । उनले आफूलाई स्पष्टीकरण सोध्ने महासचिव घनश्याम भुसालको विगत र वर्तमान स्मरण गराउँदै प्रश्न गरेका छन् ।

न्यौपानेले भनेका छन्– नेकपा एसका महासचिवलाई के कुरा स्मरण गराउन चाहन्छु भने विद्रोहमा म भन्दा तपाईँहरू दुई गुना चर्को हुनुहुन्थ्यो । ।।तपाई भर्खरै मात्र यो पार्टीमा फर्कनु भएको छ । पार्टी गठनदेखि आउँदा यो पार्टीभित्र सचिवालयको नाउँमा भएका छलछामहरू फेहेरिस्त पल्टाउने हो भने मार्क्स र लेनिनको आत्मा पनि आश्चर्यमा पर्थ्यो होला ।

न्यौपानेले समानुपातिक उम्मेदवार टुंगो लगाउँदा प्रदेश इन्चार्जहरूलाई छलिएको,गोप्य बैठकहरू बसेको र पार्टीमा पोर्टफोलियो तोक्दा घनेन्द्र बस्नेत, केदार न्यौपाने जस्ता नेताहरूको अपमान गरिएको विषय समेत उठाएका छन् ।

न्यौपानेले आफूमाथि सामाजिक सञ्जाल र मिडियामा गोप्य कुरा किन लेखेको भनेर महासचिव घनश्याम भुसालले सोधेकोमा उल्टै उनैमाथि प्रतिप्रश्न गरेका छन् ।

न्यौपानेको प्रश्न छ– म तपाईलाई प्रश्न एउटा प्रश्न सोध्छु, तपाईँले कुन पार्टीमा बस्दा आफ्नो कुरा गोप्य राख्नु भएको छ ? २०४९ सालमा मदन भण्डारीको जनताको बहुदलीय जनवादको विरुद्ध फरक राख्दा के त्यो गोप्य थियो ? २०५४ सालमा पार्टी फुटाउँदा ती कुरा गोप्य थिए ? हामी एकीकृत समाजवादीमा आउँदा तपाईँले एमालेमा बसेर विभिन्न मञ्चमा बोल्नुभएका कुरा केपी ओलीका आलोचनाहरू एमालेको नेतृत्वबाट अनुमति लिनुभएको थियो ?

न्यौपानेले ३३ बुँदे फरक मत राख्दै नेकपा एसको भविष्य नरहेकाले सबै नेता कार्यकर्ताले सोचेर एमालेमा समाहित हुन आह्वान गरेका छन् । उनले २० लाख समानुपातिक मत आउँछ भन्ने माधव नेपाललाई १७ लाख मत कहाँ गयो भन्ने प्रश्न गरेका छन् ।

त्यस्तै आउने चुनावमा एमाले चौथो हुन्छ भनेर माधव नेपालले भनेकोमा एमाले लोकप्रिय मतमा पहिलो भएको भन्दै नेकपा एसको जमानत जफत हुनुमा नेतृत्व जिम्मेवार रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर