मेयर बालेनले भने- प्रहरीले नै कानून मिचेको छ, फुटपाथका संरचना आफैँ हटाउनुहोला – Nepal Press

मेयर बालेनले भने- प्रहरीले नै कानून मिचेको छ, फुटपाथका संरचना आफैँ हटाउनुहोला

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले फुटपाथमा निर्माण भएका प्रहरी संरचना हटाउन आग्रह गरेका छन् । फुटपाथ सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्ने भन्दै उनले यस्तो आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै शाहले फुटपाथमा व्यापार गर्न रोकेको स्मरण गराउँदै नियम सर्वसाधारणका लागि मात्रै नभएर सबैका लागि हुनुपर्ने बताए ।

फोहोरको विषयलाई लिएर बिहानै आक्रोशित मुडमा आएका मेयर बालेन शाहले महानगरपालिका भित्र फुटपाथ मिचेर बनाइएको भन्दै प्रहरी बिटहरूको तस्बिर पनि सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामूलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’

उनले विभिन्न दूतावास लगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाउन आग्रह गरिएको बताए । कानून सर्वसाधारण र अरूका लागि एउटै हुन्छ भन्ने तथ्य स्थापित गराउन सबै तयार हुनुपर्ने शाहको भनाई छ ।

प्रधानमन्त्री क्वाटर अगाडि बालुवाटार, जडीबुटी चोक, सिनामंगल चोक, असन चोक, रातो पुल प्रहरी बिट, बौद्ध प्रहरी वृत्त अगाडिको बिट लगायत दर्जनौँ क्षेत्रमा प्रहरीका अस्थायी संरचना रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर