जीवित छ नेवार संस्कृति (फोटोफिचर) – Nepal Press

जीवित छ नेवार संस्कृति (फोटोफिचर)

काठमाडौं । नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौँ उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् । वागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन् ।

नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ । नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौं उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोवास उपत्यकामा रहँदै आएको पाइन्छ ।

काठमाडौंका नेवारहरू राजधानीका आदिवासी मात्र होइनन्, कला, साहित्य, गीतसङ्गीत, खानपान, जात्रा लगायतका अनेकौं पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन् । त्यसैले त काठमाडौंमा नेवाः संस्कृतिको छुट्टै महत्व र पहिचान छ । नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन् ।

अहिले पनि नेवारी समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत सङ्गीतकला, चित्रकला, खाद्यकला लगायतका सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन् । साहित्य साधना, कलाकारिता, राजनीति लगायतका क्षेत्रमा काठमाडौंका नेवारहरूले नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् ।

नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ । विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमूना र मानवीय सहिष्णुताको आधार पनि हो ।

नेवारहरूको पर्व,नेवारी संस्कृति र पर्व अनुसारका फरक–फरक जात्राले विश्वमा नै एउटा पृथक जातका रुपमा रूपमा स्थापित गरेको छ । विश्वको सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वप्रिय भुमिका खेल्ने गर्छ नेवारी समुदायले ।

तर यसो भन्दैगर्दा समयको परिवर्तनले आज नेवार संस्कृतिको अस्तित्व खतरामा पर्दै गएको पनि छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले आजको फोटो फिचरमा काठमाडौं उपत्यकाका नेवार जातिका रहनसहन र परिवेशलाई उतारेका छन् ।


प्रतिक्रिया

One thought on “जीवित छ नेवार संस्कृति (फोटोफिचर)

  1. नेवाः संस्कृतिलाई सम्मान गर्दै तयार गरिएको यस सचित्र लेखको सम्मान गर्न चाहन्छु । यस लेखमा सर्वाधिक सराहनीय कुरा त यसमा मूल र आधिकारिक शब्द ‘नेवाः’ प्रयोग गरिएको छ । नेवाः समुदायलाई सही रूपमा चिनाइने यो शब्द गैरनेवाः लेखनमा लुप्त जस्तै भइसकेको छ । लेखमा कतिपय स्थानमा ‘नेवारी’ शब्दको प्रयोग पाउँदा भने मिठो गाँसको बीचमा ढुङ्गा टोके जस्तो भयो । ‘नेवाः’ शब्दमा विसर्ग प्रयोग नगरी प्रयोग गरिने ‘नेवार’ शब्द पनि सही नै हो तर गैरनेवाः लेखनमा बहुप्रचलनमा आइरहेको ‘नेवारी’ शब्द भने सही हो जस्तो लाग्दैन । ‘नेवाः’ वा ‘नेवार’ शब्दलाई विशेषण बनाउँदा ‘ई’ जोड्नुपर्दैन । तामाङ, गुरुङ, शेर्पा आदि शब्दलाई विशेषण बनाउँदा पनि ‘ई’ जोडिँदैन । त्यसैले तामाङ संस्कृति भनिन्छ, तामाङी संस्कृति भनिँदैन; गुरुङ संस्कृति भनिन्छ, गुरुङी संस्कृति भनिँदैन । त्यस्तै नेवार संस्कृति भन्दा सही होला, नेवारी संस्कृति भन्नु भन्दा पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *