दिदी कसरी भनुँ, छोराहरुका लागि आमा होइन मावली खोजिदिनुस् – Nepal Press

दिदी कसरी भनुँ, छोराहरुका लागि आमा होइन मावली खोजिदिनुस्

सन्तानको पहिचानको लागि आमा चाहिँदैन, अब मावली खोज्नुस्

चितवन रत्ननगरकी एक महिलाले हिजो बिहानै फोन गरिन् । सोधिन्, नानी लौन कसरी बाबुहरुको नागरिकता बनाउने होला ?

उनीसँग वर्षदिनयता परिचित छु । परियार थरकी उनको विवाह ३० वर्षअघि भएको थियो । उनीहरुले एकअर्कालाई मन पराएर बिहे गरेका थिए । दुबै मिलेर कमाएको पैसाले गैंडाकोटमा घर बनाए । दुई छोरा पनि जन्मिए । तर, एकाएक पुरानो घर गएर फर्किन्छु भनेका श्रीमान् फर्किएनन् ।

पहाडतिर घर बताउने श्रीमानले कहिल्यै पुरानो घर लगेनन् । त्यसैले उनलाई लोग्नेतर्फका कसैको बारेमा जानकारी छैन । लोग्नेको घर खोज्न हिँड्नुभन्दा दुई छोरा हुर्काउनु नै महत्वपूर्ण थियो उनको लागि । संघर्षको दिन त्यो समयदेखि सुरु भयो ।

पढेलेखेको नभएकाले छोराहरु हुर्काउन ज्यालादारी गर्न थालिन् । जसोतसो दुई छोरालाई बोर्डिङ स्कूलमा पढाइन् । छोराहरु हुर्किए । गैंडाकोटको घर छोराहरु हुर्काउने क्रममा बेच्नुपर्‍यो । दुई छोरा हुर्किएपछि रत्ननगरमा आफ्नै बुताले जमिन किनेर उनको परिवार बसिरहेको छ ।

दुबै छोराको विवाह पनि भइसक्यो । दुई सन्तान जन्माउने आमा सग्लै छिन् । तर, आफ्नो सन्तानको जन्मदर्ता बनाइदिन सकेकी छैनन् । जहाँ गए पनि लोग्ने खोज्छन् । तर, उनी स्वयं लोग्ने खोज्दाखोज्दै थाकिसकिन् । खोज्न जानु कता ?

बेलाबेला पहिचान दिन नसकेकाले छोराहरुले उनको कोखमा नै प्रश्न गर्दा हुन् । आफू विरत्तिएको बेला उनी मलाई फोन गर्छिन् । कहिलेकाहीं त आफ्नै अस्तित्वमै प्रश्न स्वयं पनि गर्छिन् ।

छोराहरुको जन्मदर्ता नै नभएपछि नागरिकता बन्ने कुरै भएन । एक पढाउँछन्, अर्को व्यवसाय गर्छन् । दुबैलाई तलब अनि कारोबारको रकम बैंकमा जम्मा गर्नुपर्छ । नागरिकता छैन । आफ्नो नागरिकता नहुँदा पाइला पाइलामा समस्या सँगै मानसिक तनाव झेल्दै बाँचिरहेका छन् ।

बेलाबेला पहिचान दिन नसकेकाले छोराहरुले उनको कोखमा नै प्रश्न गर्दा हुन् । आफू विरत्तिएको बेला उनी मलाई फोन गर्छिन् । कहिलेकाहीं त आफ्नै अस्तित्वमै प्रश्न स्वयं पनि गर्छिन् ।

बाँच्नु फगत दालभात खाएर सग्लो शरीर रहनुमात्रै पनि त होइन । आफ्नै जीवन मृत्युको दोसाँधबाट गुज्रिएर जन्माएका सन्तानलाई लोग्नेले साथ छोडेर एक्लै बनाइदिँदा यही समाजमा घिस्रिएर छोरा हुर्काउनुको दुःख एक आमालाई भन्दा बढी कसलाई होला !

संयोग गृह मन्त्रालयले बाबुको पहिचान नभएका छोराछोरीको मावली थर र ठेगानामा पहिचान दिनु भनेको भोलिपल्ट बिहानै उनको फोन आएको थियो । अघिल्लो दिन आएको राज्यको परिपत्रबारे उनलाई भन्नै सकिनँ । किनकि न उनी माइतीको संरक्षणमा छन् न त कहिल्यै छोराहरुको रेखदेखमा माइतीको सहयोग नै पाइन् । अहिले छोराहरुको पो नागरिकता छैन । उनको त आफ्नै नागरिकता छ । जन्मथर र आफ्नै ठेगाना बनाएर बाँचेकी छन् ।

आफ्नै बुताले संघर्ष गरिरहेकी उनी र आमाका संघर्ष आत्मसात गरेका दुई छोरामा राज्यले मावलीलाई खोजी ल्याउनु भन्दा के बित्दो हो ? उनीहरुको आत्मसम्मानमा पुग्ने पीडाको गहिराइ यो राज्य हाँक्नेहरुले गर्न सक्लान् ? त्यसैले मैले तपाईंका दुई छोराका लागि ‘तपाईं आमा चाहिँदैन, अब मावली खोजिदिनुस्’ भन्न सकिनँ ।

अघिल्लो दिन आएको राज्यको परिपत्रबारे उनलाई भन्नै सकिनँ । किनकि न उनी माइतीको संरक्षणमा छन् न त कहिल्यै छोराहरुको रेखदेखमा माइतीको सहयोग नै पाइन् ।

हुन त नेपालको सामाजिक, सांस्कृतिक अवस्थाले कुनै पनि महिलाले स्वयं पहिचानमा बाँच्न सक्ने अवस्थाको परिकल्पना गर्दैन । भर्खरै सार्वजनिक राष्ट्रिय जनगणनाको तथ्याङ्क जसले बसाइ सर्नुमा सबैभन्दा बढी महिलाको विवाह भनेर देखाएको छ । यसले पनि नेपाली महिलाको पहिचानको अवस्थालाई चित्रण गर्छ । जसमा बसाइ सर्नेमध्ये विवाहका कारणले ५८.२ प्रतिशत महिला बसाइ सर्छन् र पुरुष १.३ प्रतिशत सर्छन् भनिएको छ ।

यसर्थ नेपाली समाजमा महिलाको लागि पहिचानको आधार जन्मघर मावली (माइती) र दोस्रो लोग्नेको घरमात्रै हो भन्ने नेपालको कानून र राज्यका सबै अंगहरु सामाजिक व्यवस्थाले स्वीकार्छन् । पछिल्लो परिपत्रले त अझ पुष्टि गर्छ कि महिलालाई पहिचानविहीन अवस्थामा बाँच्न जबरजस्त बाध्य पार्छन् ।

जबकि श्रम पसिना बगाएर नेपाली महिलाले स्वपहिचान निर्माण गर्न सक्छन् भन्ने आजसम्म पनि राज्यले परिकल्पनासमेत नगर्ने पछिल्लो गृहको परिपत्रले कति प्रष्ट्याएको छ त ती नै आमाहरुलाई थाहा होला । जसले सन्तानलाई एक्लै हुर्काए र हुर्काइरहेका छन् ।

नेपालको सामाजिक, सांस्कृतिक अवस्थाले कुनै पनि महिलाले स्वयं पहिचानमा बाँच्न सक्ने अवस्थाको परिकल्पना गर्दैन । भर्खरै सार्वजनिक राष्ट्रिय जनगणनाको तथ्याङ्क जसले बसाइ सर्नुमा सबैभन्दा बढी महिलाको विवाह भनेर देखाएको छ । यसले पनि नेपाली महिलाको पहिचानको अवस्थालाई चित्रण गर्छ ।

अर्को एउटा जनगणनाकै तथ्य पनि हेरौं, नेपालमा अहिले १७ प्रतिशत सन्तानलाई एकल आमाले हुर्काइरहेका छन् । जबकि बाबुको एकल संरक्षणमा एक प्रतिशतमात्रै सन्तान छन् । सँगै गत वर्षको मंसिरमा राष्ट्रिय जनगणना सुरु भएको दिनदेखि १२ महिनाअघिसम्मको अर्थात् वर्षदिनको तथ्यांकले सन्तान गर्भावस्था र सन्तान जन्मिएपछि गरी मातृ मृत्युको संख्या १२ हजार ९७६ जना रहेको तथ्य सार्वजनिक गरेको छ ।

१७ प्रतिशत सन्तानलाई एकल अभिभावकत्वमा हुर्काउने आमा । सन्तान कोखमा आएपछि स्वयंकै जीवन अनिश्चितामा बाँच्नुपर्ने ती नै आमा । ती नै आमाको कोख र काख चिथोरेर राज्यको निर्णय गर्ने ठाउँमा पुगेकाहरु ठूल्ठूला स्वरमा भन्छन्, पहिला लोग्ने (बाउ) खोज्नु, बाउ नभेटिए मावली खोज्नु । तर, राज्यले आमा चिन्दैन ।

वरिष्ठ अधिवक्ता कृष्णभक्त पोखरेल भन्छन्, ‘संविधानमा हामी आमाको पहिचान खोजिरह्यौं । तर, राज्यले भने आमा चिन्न नसकेर मावली खोज्नु जतिको विडम्बना के होला ?’

पक्कै पनि कोही सग्लो मान्छेलाई आफू जीवित छँदाछँदै आफू हुनुकै अस्तित्व रहँदैन भने बाँच्नु र मर्नुबीचको भिन्नता के नै रहन्छ र ! नेपाली महिलाको वर्षौंदेखिकै लडाइँ पहिचानको लागि हो । वरिष्ठ अधिवक्ता पोखरेल अझ थप्छन्, ‘अंश र वंश वा अरु जुन रुपमा भए पनि नेपाली महिलाले पहिचान खोजेका हुन् । हामी संविधानमा महिलाले स्वतन्त्र पहिचानसहित बाँच्न पाउने हक स्थापित गर्न लाग्यौं । तर, राज्य महिलालाई जीवित रहनुको चिनारीमै प्रश्न गर्दैछ । योभन्दा ठूलो बिडम्बना के हुन सक्छ ?’


प्रतिक्रिया

4 thoughts on “दिदी कसरी भनुँ, छोराहरुका लागि आमा होइन मावली खोजिदिनुस्

  1. बास्तवमा आमाको पहिचन उनको माइती नै हो,जहाँ सम्म पछिल्लो सरकारी परिपत्र को आसय मावली खोज्नु भन्नाले आमाकै परिचय लाई मान्यता दिनु भन्ने होला।

  2. सोझै आमाको नामबाट दिदा हुदैनथ्यो र घुमाउरो पारा

  3. बिषयवस्तुलाई तोडमोड गरेर प्रस्तुत गर्नाले पीडितलाई झनै अन्न्याय हुन्छ। बाबुको पहिचान नभएका बच्चाको जन्म दर्ता गर्दा मावलीको थर राख्नु भनेको छैन।एक आमाले बच्चा जन्माएपश्चान विहे भएको छ भने त्यस्तो बच्चाको जन्म दर्ता आमाको जम्मथर राखेर गर्नु भनेको हो। मावली भन्ने शब्दले आमाको अस्तित्व ओझेलमा पारेको जस्तो देखिएको हो। तर मावली खोज्न जाउँ भनेको होइन। विभागले मिति २०७९र३र१० मा गरेको परिपत्रमा आमाको थर राखेर जन्म दर्ता गराउनु भन्ने थियो।एउटा स्थानीय तहबाट बच्चाको जन्म दिदा आमाको थर राई थियो बच्चालाई जन्म दिएपश्चात आमाले थापासँग विहे गरेर नागरिकतामा पनि थापा थर बनाइनन अब बच्चाको कुन थर राख्नु भनेर सोधिएको थियो। यस्ता प्रश्न विभागमा आइनै रहन्थे। त्यही समस्याको गाँठो फुकाउन यो परिपत्र गरिएको हो। हाल परिपत्र पनि थप स्पष्ट भइसकेको अवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *