पाटन क्याम्पसमा स्ववियु निर्वाचन : कसले मार्ला बाजी ? – Nepal Press

पाटन क्याम्पसमा स्ववियु निर्वाचन : कसले मार्ला बाजी ?

स्वतन्त्र उम्मेदवार विष्ट र अखिलका जिसीबीच मुख्य प्रतिस्पर्धा

कामठाडौं । उच्च अदालत पाटनले स्ववियु निर्वाचन रोकिएका रत्नराज्य लक्ष्मी क्याम्पस, पाटन क्याम्पस र नेपाल कमर्स क्याम्पसमा तत्काल निर्वाचन गराउन आदेश दिएसँगै अहिले पाटन क्याम्पस चुनावी माहौलले गर्माएको छ ।

चैत ५ गते रोकिएको निर्वाचन चैत २५ गते हुने भएपछि विद्यार्थी संगठनहरु सक्रिय रुपमा निर्वाचन प्रचारप्रसारमा लागिरहेका छन् ।

करिब ७६ सय विद्यार्थी रहेको पाटनमा सभापतिका लागि मात्रै आधा दर्जन उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

तर, सभापतिमा को निर्वाचित हुने भन्ने निक्र्यौल चाहिँ २५ गते हुने निर्वाचनले तय गर्नेछ । मुख्यगरी सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट, नेविसंघका युवराज थिङ र अनेरास्ववियुका सुरेश जिसी चर्चामा छन् ।

विद्यार्थी नेताहरुका अनुसार नेविसंघमा आएको फुटका कारण अखिलको परिस्थिति राम्रो बनेको देखिन्छ । नेविसंघका अध्यक्ष डुजाङ शेर्पाले सभापतिको लागि स्वतन्त्र उम्मेदवार विष्टलाई चिठी थमाएका थिए । तर, फेरि दोस्रोपटक आधिकारिक भन्दै थिङलाई चिठी दिएपछि आक्रोशित बनेको विष्टले स्वतन्त्र उम्मेदवारी दर्ता गरे ।

विष्टलाई अहिले स्वतन्त्र राष्ट्रिय विद्यार्थी संघले समर्थन गरेको छ । उक्त संगठनका कुमार खतिवडा विष्टकै प्यानलबाट सचीवमा उम्मेदवार छन् । विगत एक दशकदेखि क्याम्पसमा सक्रिय रहेका विष्ट नेविसंघका बलियो उम्मेदवार थिए ।

तर, केन्द्रिय अध्यक्ष शेर्पाको मनोमानीले पाटनमा नेविसंघ संकटमा परेको नेविसंघकै एक नेता बताउँछन् । उनका अनुसार यदि शेर्पाले विष्टलाई नै सभापतिको उम्मेदवार बनाएको भए क्याम्पसमा नेविसंघले सहजै जित्न सक्ने परिस्थिति थियो ।

तर, विष्टले टिकट पाएनन्, स्वतन्त्र उम्मेदवारी दिए । विष्टको पक्षमा खुलेर नलागे पनि नैतिक समर्थन गरेका तीन नेता भन्छन्, ‘विगत एक दशकदेखि क्याम्पसमा नेविसंघको माहौल बनाएका थिए विष्टले । तर, केन्द्रिय सभापतिले ठाडो हस्ताक्षेप गरेपछि अहिले नेविसंघ संकटमा छ ।’

नेविसंघको आधिकारिक उम्मेदवार थिङ भने नेविसंघको प्रभाव यथावत् रहेको र आफूहरुले जित्नकै लागि माहौल बनाइरहेको बताउँछन् । उनले नेविसंघ छाडेर गएका विष्टबारे केही टिप्पणी नगर्ने बताए । उनले भने, ‘नेविसंघ दुई फ्याक हुँदा केही असर त होला । तर, त्यसबारे मेरो केही टिप्पणी छैन । बाँकी रिजल्टले नै देखाउला ।’

थिङका अनुसार विष्ट एक्लै गएको र नेविसंघका नेताकार्यकर्ता संगठनमा रहेका छन् । तर, विष्ट समर्थक भने अधिकांशजसो नेविसंघमै आबद्ध मतदाता रहेको विष्ट बताउँछन् ।

उनी भन्छन्, ‘संगठनले टिकट खोसे पनि विगत दश वर्षदेखि क्याम्पसमा मैले गरेका कामहरु देख्न विदार्थी साथीहरु टन्नै हुनुहुन्छ । म उहाँहरुको हरेक समस्यामा सँगै छु । पाटनमा नेविसंघलाई बचाइराख्न मैले योगदान दिएको छु । त्यसैले पनि निर्वाचन परिणाम मेरो पक्षमा आउनेमा विस्वास्त छु । अन्य विद्यार्थी संगठनका साथीहरुको नैतिक समर्थन छ, त्यसले थप हौसला प्रदान गरेको छ ।’

नेविसंघमा आएको विभाजनमा एमाले निकट विद्यार्थी संगठनले जितको आधार देखेका छन् । ७६ सय विद्यार्थीमध्ये तीन हजार जति मत खस्ने आँकलन विद्यार्थी नेताहरुको छ । त्यो मतमा करिब नौ सय–हजार हाराहारी मत ल्याउनेले सभापति जित्ने अवस्था बन्ने विश्लेषण छ ।

एकातिर नेविसंघमा आएको विभाजन र स्वतन्त्र उम्मेदवार विष्टले ल्याउने पाँच–सात सय मतका कारण अखिलको जित निश्चित जस्तै भएको एक विद्यार्थी नेता बताउँछन् । उनका अनुसार क्याम्पसमा अलि बलियो संगठनमा आएको दरार नै जितको आधार हो ।

तर, अखिलका सभापति उम्मेदवार भने नेविसंघको फुटलाई जितको आधार मान्दैनन् । आफ्नै संगठन बलियो भएको र विगतमा पनि विद्यार्थीको हकहितका लागि निरन्तर काम गरेकाले जित सुनिश्चित देख्छन् । उनी भन्छन्, ‘क्याम्पसमा फेरि ताला लगाउने प्रयास भइरहेको छ । हामी अदालत गएर अन्तरिक आदेश लिएर पनि आयौं । अहिले क्याम्पसमा विद्यार्थी भाँड्ने, विद्यार्थीलाई असुरक्षित महसुस गर्ने गरिएको छ । तर, अखिल देशकै पहिलो संगठन हो, विद्यार्थीहरुले भरोसा गरेको साझा संगठन हो । त्यसैले जित्ने हामीले नै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर