मिटरब्याज पीडितका माग समेट्न वार्ता समिति गठन – Nepal Press

मिटरब्याज पीडितका माग समेट्न वार्ता समिति गठन

काठमाडौं । शुक्रबार गृह मन्त्रालयले मिटरव्याज पीडितहरूसँग वार्ता गर्न सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

अघिल्लो हप्ता नै सरकारले मिटरव्याज पीडितको समस्या समाधान गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ‘मिटरव्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति’ नामक पीडितहरूको संगठनले आन्दोलन जारी राखेकोमा उनीहरूका मागलाई समेत समेट्नेगरी वार्ता समिति बनेको हो ।

पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी,कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् । गृहमन्त्रालयको उपसचिव दिलकुमार तामाङ सदस्य सचिव छन् ।

उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई अविलम्ब सम्बोधन गर्न निर्देशन दिएको र समितिले तत्काल आवश्यक पहल थाल्ने गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *