देउवाको राज्यमन्त्री अस्त्र फेल: शेखर-गगन समूहमा दुई मन्त्री फिक्स, तेस्रोमा हानथाप ! – Nepal Press

देउवाको राज्यमन्त्री अस्त्र फेल: शेखर-गगन समूहमा दुई मन्त्री फिक्स, तेस्रोमा हानथाप !

इतर पक्षका नेताहरु भन्छन्- तीन मन्त्रालय नदिने भए मन्त्री पठाउन सभापतिलाई रोकेका छैनौं

काठमाडौं । पुस १० गते बनेको एमाले नेतृत्वको सात दलीय गठबन्धन भत्काउन एकजुट बनेको कांग्रेस अहिले मन्त्रालय भागबन्डाको किचलोमा फसेको छ । दश दलीय गठबन्धनको सरकारमा जाँदा ८ मन्त्रालय पाएको कांग्रेस मन्त्री छान्न नसकेर आन्तरिक विवादमा रुमल्लिएको हो ।

कांग्रेसको आन्तरिक विवादकै कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छैन । यसअघि गत चैत १७ गते प्रधानमन्त्रीले सरकार विस्तार गर्दा कांग्रेसले चार मन्त्रीमात्रै पठाएको थियो ।

अहिले कांग्रेसबाट सरकारमा उपप्रधानसहित रक्षामा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योगमा रमेश रिजाल र शहरी विकासमा सीता गुरूङ सहभागी छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले आफू निकटका मोहनबहादुर बस्नेत र एनपी साउदलाई मन्त्री बनाउने तयारी गरेका छन् । बस्नेत र साउद मन्त्री बने कांग्रेसले पाएको ८ मध्ये ६ जना देउवा पक्षकै हुन्छन् ।

तर, शेखर-गगन पक्षले तीन मन्त्रालय नपाए आफूहरु सरकारमै नजाने अडान राखेको छ । देउवाले दुई मन्त्रालयमात्रै दिने मनस्थिति बनाएपछि कांग्रेसले थप चार मन्त्री छान्न नसकेको हो ।

आफूहरुले तीन मन्त्रालय नपाए सरकारमा सहभागी नहुने स्पष्ट सन्देश सभापतिलाई दिइसकेको सहमहामन्त्री जीवन परियारले बताए ।

उनले भने, ‘अहिले आन्तरिक विषयमा छलफल भइरहेको छ । त्यो टुंगिएपछि पार्टीले थप मन्त्री पठाउँछ होला । अहिले मन्त्रालय टुंग्याउनेबारे छलफल भइरहेको छ । तर, हामीले तीन मन्त्रालय नदिएसम्म सरकारमा नजाने भन्ने विषयमा स्पष्ट अडान राखेका छौं ।’

यसअघि नेता डा. शेखर कोइरालाले धनराज गुरूङ र डिगबहादुर र लिम्बूलाई मन्त्री पठाउन खोजेका थिए । तर, महामन्त्री गगन थापासहित केही नेताहरुले तीन मन्त्रालय नपाए सरकारमै नजाने अडान लिएपछि शेखर ब्याक भएको बताइन्छ । अहिले देउवाले शेखर-गगन पक्षलाई थप एक राज्यमन्त्री दिने प्रस्ताव अघि सारेका छन् ।

इतर समूहका अर्का नेता गुरुराज घिमिरे तीन मन्त्रालय नपाए सरकारमा जानुको अर्थ नहुने बताउँछन् ।

उनी भन्छन्, ‘गठबन्धन दलहरुबीच भागबन्डाको विषयमा त छलफल हुन्छ नै । तर, यहाँ अहिले पार्टीमा पनि समीकरणअनुसार हिस्सेदारी हुनुपर्छ भन्ने हाम्रो अडान हो । अहिलेसम्म पार्टीभित्र भागबन्डा टुंगिएको छैन । शेखर दाइहरुले तीन मन्त्रालय मागेको कुरा स्पष्ट नै छ ।’

तीन मन्त्रालय दिन नसके आफूखुशी मन्त्री पठाउन सभापतिलाई नरोकेको उनको भनाइ छ ।

उनले भने, ‘बैठकले पार्टीबाट मन्त्री छान्ने सबै अधिकार सभापतिलाई दिइसकेपछि तीन मन्त्रालय दिन नसके कुर्न पर्दैन भनेर शेखर दाइ र गगनजीहरुले भनिसक्नुभएको छ । आफ्नो तरिकाले बनाउँदा हुन्छ । किन रोकिएको हो ? यसलाई रोक्न जरुरी छैन ।’

तीन मन्त्रालय दिन नसके आफूहरु बाहिरै बसेर सघाउन तयार रहेको उनले बताए । दुई मन्त्रालय र एक राज्यमन्त्रीको प्रस्ताव आए पनि स्वीकार्य नहुने उनको भनाइ छ ।

उनले इतर पक्षबाट सरकारमा जानेहरुमा उपसभापति गुरुङ र नेता लिम्बू फिक्स भइसकेको संकेत गरे । उनले भने, ‘अहिले को जाने भन्ने टुंगिएको छैन । दुईवटा अहिले नाम आइसकेको छ । अर्को मन्त्रालय पाएपछि को जाने भन्ने टुंगिएला वा अरु नाममा पनि छलफल गरौं भन्नेर पनि जान सकिएला । नामको बारेमा अहिले भन्न सक्ने अवस्था छैन ।’

शेखरले धनराज र डिगबहादुरलाई मन्त्री बनाउन तयार रहे पनि महामन्त्री थापाले समेत हिस्सेदारी खोजेपछि इतर पक्षलाई नै समस्या परेको छ ।

महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रदीप पौडेललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाउन चाहेका छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेटेर यसअघि नै दबाब दिइसकेका छन् । इतर समूहबाट सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे पनि आकांक्षी छन् ।

देउवाले आफू निकटलाई रक्षा, अर्थ, उद्योग र शहरी विकासमन्त्री बनाइसकेपछि इतर समूहले परराष्ट्र, स्वास्थ्य, कानून र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ । त्यसमध्ये साउदलाई परराष्ट्र र बस्नेतलाई स्वास्थ्य मन्त्रालय बनाउने देउवाको तयारी छ ।

त्यसो हुँदा इतर समूहले कानून र युवा तथा खेलकुद मन्त्रालयमै चित्त बुझाउनुपर्ने हुनसक्छ । त्यसैले इतर समूहले मन्त्रालय र संख्यामा चित्त नबुझेकै कारण अहिलेसम्म देउवालाई मन्त्रीको नाम पठाएको छैन ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले नै सरकारलाई पूर्णता दिन पहल थालेपछि नेता कोइरालाले बालुवाटारमा भेटेका छन् ।

अब चाँडै सरकारले पूर्णता पाउने कांग्रेस नेता दिलेन्द्र बडूले बताए । प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा उनले भने, ‘अब सरकारले आफ्नो गन्तव्य स्पष्ट गरिसकेपछि सरकारको पूर्णता पाउने काममा पनि अब गति लेला नै । उपनिर्वाचन आदि कारणले केही ढिलाइ भएको हो ।’

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल सरकारलाई पूर्णता दिन गृहकार्य भइरहेको बताउँछन् । प्रधानमन्त्रीले गठबन्धनका दलहरूसँग यथाशीघ्र नाम दिन आग्रह गर्दै गरे पनि अझै प्राप्त नभएकाले ढिलाइ भएको उनको भनाइ छ ।

उनले भने, ‘सम्बन्धित दललाई उहाँ (प्रधानमन्त्री)ले नाम दिनुस्, म टुंग्याउँछु भनिराख्नुभएको छ । उहाँहरूले होमवर्क गर्दैछौं भन्नुभएको छ । सम्बन्धित दलको ढिलासुस्तीका कारणले हो, प्रधानमन्त्रीका कारण होइन ।’

तर, कतिपयले अब वैशाख १० को उपनिर्वाचनपछि मात्रै सरकारले पूर्णता पाउने बताउन थालेका छन् । कांग्रेसमा मात्रै नभएर अहिले जसपाले पनि दुईमध्ये एक मन्त्रीको मात्रै नाम दिएको छ । जसपामा दोस्रो व्यक्तिबारे अहिले छलफल नभएको नेताहरु बताउँछन् । जसपाबाट सरकारमा जान राजकिशोर यादव र प्रदीप यादव आकांक्षी छन् ।

अहिले कांग्रेसबाट ४, जसपाबाट एक र जनमत पार्टी पनि सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीको काँधमा अझै ६ मन्त्रालय छ ।

यता प्रमुख प्रतिपक्षी दल एमालेले सरकारलाई एक सय दिनसम्म पनि पूर्णता दिन नसकेकोमा प्रधानमन्त्रीको आलोचना गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर