प्रदेश राजधानीबारेको प्रश्न गर्न पर्दैन, रुपन्देहीलाई मुलुककै आर्थिक केन्द्र बनाउँछौं : विष्णु पौडेल – Nepal Press

प्रदेश राजधानीबारेको प्रश्न गर्न पर्दैन, रुपन्देहीलाई मुलुककै आर्थिक केन्द्र बनाउँछौं : विष्णु पौडेल

रूपन्देही । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीलाई मुलुककै आर्थिक केन्द्र बनाइने बताएका छन् । अब प्रदेश राजधानीबारेको प्रश्न नगर्न व्यवसायीहरुलाई आग्रह गर्दै बुटवल र रुपन्देहीले आर्थिक रुपमा फड्को मार्ने सवालमा प्रदेश राजधानीले कुनै असर नगर्ने दावी गरे ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २२ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनको उदघाटन गर्दै पौडेलले अव प्रदेश राजधानीबारेको बहसलाई छाडेर भविष्यको चिन्ता गर्न आग्रह गरेका हुन् ।

‘हिंजो मुलुक संघीयतामा नजाँदा प्रदेश राजधानी भन्ने थिएन, तर पनि बुटवल मुलुककै आर्थिक केन्द्र थियो, अहिले राजधानीका कारण बुटवल पछि पर्‍यो भनेर कसरी भन्न सकिन्छ ?उनले प्रश्न गरे।  ‘दुनियाँमा राजधानी नभएका सहरहरुले आर्थिक रुपमा फड्को मारेका प्रशस्तै उदाहरण छन्, बुटवलले पनि मार्छ ।’

प्रदेश राजधानी दाङ जाँदैमा दाङले बुटवललाई उछिन्न नसक्ने पनि पौडेलले बताए । ‘बुटवललाई राजधानी गराउन सकेको भए राम्रै हुन्थ्यो, यसका लागि कोशिस पनि गरिएकै हो, तर भएन, अब निरर्थक बहस गरेर अल्झिनुभन्दा भविष्यमा बुटवललाई कस्तो बनाउने भनेर चिन्ता गर्नुस्’ व्यवसायीलाई आग्रह गर्दै पौडेलले भने ।

अमेरिकाको राजधानी वासिङटन डिसी भएपनि आर्थिक केन्द्र न्यूयोर्क बनेको, यूएईकाे राजधानी अवुधावी भएपनि दुवईले आर्थिक रुपमा फड्को मारेको र छिमेकी मुलुकको राजधानी नयाँ दिल्ली भएपनि आर्थिक विकासमा मुम्बईले उछिनेको उदाहरण पेश गर्दै पौडेलले यसबाट पाठ सिकेर बुटवल र सिंगो ‘यसका लागि व्यवसायीहरुले अब बिगत कोट्याएर होइन, भविष्यप्रति आशावादी भएर लाग्नुपर्छ’पौडेलले भने ।

पूर्वअर्थमन्त्री पौडेलले संवद्ध निकायको लापरवाहीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बिलम्व भएको बताए । ‘यो विमानस्थल आवश्यकता भएरै बनाएको हो, अध्ययन गरेरै राज्यले लगानी गरेको हो, तर निर्माण सँगसँगै नागरिक उड्डयन प्राधिकरणले सञ्चालनको तयारी गर्नुपर्नेमा त्यसो नगरेकाले विलम्व हुन गयो’ उनले भने ।

नागरिक उडड्डयन प्राधिकरणले गर्नुपर्ने धेरै काम बाँकी रहेको भन्दै उनले कुनै हालतमा पनि विमानस्थल सञ्चालन गरेरै छाड्ने प्रतिवद्धता जनाए । त्यस्तै बुटवलमा उद्योगी व्यवसायीको माग बमोजिम नै स्थायी प्रदर्शनीस्थल बनेको र अर्को ठूलो आयोजना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि निर्माण भएको भन्दै उनले अव यसको सञ्चालनमा भएको विलम्बप्रति आफूले गहिरो चासो दिएको पनि बताए ।

‘सञ्चालनमा भैरहेको लिबम्वप्रति मैले संवद्ध निकायसँग चासो राखेर छिटो काम अगाडि बढाउन भनेको छु, यो पनि त्यत्तिकै थन्किंदैन, सञ्चालनमा ल्याइन्छ’ पौडेलले भने ।उनले बुटवलबासीले अब छिटै नै झुम्सा खानेपानी आयोजनाको पानी उपभोग गर्न पाउने बताए । ‘बुटवलबासीको लामो समयदेखिको सपना अव पूरा हुँदेछ, आगामी असारसम्म बुटवलमा झुम्साको पानी आउँदैछ’पौडेलले भने ।

कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले पर्यटन उद्योग विशाल भएकाले यसमा लागेका व्यवसायीहरुले छिटो लाभ खोज्न नहुने बताए । ‘छिटो लाभ लिन खोज्ने व्यवसायीका कारण पनि पर्यटन क्षेत्र थला परेको छ, यसमा लगानी गरिसकेपछि दीर्घकालीन लक्ष्य राख्नुपर्छ’उनले भने ।

कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, होटल व्यवसायी महासंघका पुर्व अध्यक्ष हिराध्वज साह, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, रुपन्देही अध्यक्ष रामप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, महासचिव माधवकुमार खनाल, संघका सल्लाहकार गोपाल राना, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेललगायतले पनि पर्यटन व्यवसायका बारेमा धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर