सन्ध्याले रोजेको विद्रोह कि पलायन ? – Nepal Press
चलचित्र समीक्षा : बहाब

सन्ध्याले रोजेको विद्रोह कि पलायन ?

सुरक्षाको काँधमा गह्रुँगो बोझ

‘चुप होइन, चुप्पा…खाने हो ?’ चलचित्र ‘बहाब’ को यो संवाद धेरै दिनदेखि टिकटकमा भाइरल छ । चलचित्रमा समावेश सुरक्षा पन्तको १८ सेकेन्ड लामो ‘चुप्पा’ ले रिलिजको अघिल्लो दिन मिडियामा बबाल सरगर्मी ल्याइदियो । तर, यसैलाई मात्र दिमागमा राखेर ‘बहाब’ चलचित्रको बहाबबारे अनुमान लगाउने गल्ती नगर्नुस् । यो एउटा फरक मिठासको चलचित्र हो ।

‘चुप होइन चुप्पा…’ संवाद जति फन्टुस छ, ठीक विपरीत यो चलचित्र निकै गहन र संवेदनशील छ । हुन त चलचित्रको सुरुवात नै कलेज पढ्ने एक जोडी प्रेमीप्रेमिकाको रोमान्सबाट हुन्छ । सुरुमै उनीहरुको उत्तेजक ‘टङ किस’ (यो कथाको माग हो कि बक्स अफिसको छुट्याउने जिम्मा दर्शकलाई नै) आउँदा दर्शक उद्वेलित बन्न सक्छन् । तर, चलचित्रभित्र यो नै पहिलो र अन्तिम कामुक दृश्य हो । त्यसपछि चलचित्रभरि यस्ता दृश्यहरु भेट्न मुस्किलमात्रै होइन ‘नामुनकिन’ नै छ । चलचित्र दर्शकले सोचेकोभन्दा फरक बाटोमा हिँड्छ ।

एउटा मध्यमवर्गीय परिवारभित्रको सामान्य कथामा उनिएको चलचित्र हो ‘बहाब’ । कथासार भन्ने हो भने तीन-चार लाइनमा सकिन्छ । कलेज पढ्ने युवती सन्ध्या (सुरक्षा पन्त) आफूभन्दा कमजोर पृष्ठभूमिका सहपाठीसँग प्रेममा लिप्त छिन् । अमेरिकामा बस्ने एक युवक उनको हात माग्न आउँछन् । बाबुआमा उसैसँग छोरीको लगनगाँठो कसिदिन व्यग्र बन्छन् । तर, छोरी मान्दिनन् ।

विवाहलाई लिएर बाबुआमा र छोरीबीचको रस्साकस्सी एवं अन्तरद्वन्द्वमा नै फिल्म रुमल्लिएको छ । यसको निकास के हुन्छ वा हुँदैन भन्ने जान्न चाहिँ चलचित्र हेर्न हलमै जाऔं ।

पक्कै पनि तपाईंलाई कथामा नयाँपन केही नलाग्नसक्छ । यस्ता कथाहरु सयौं नेपाली चलचित्रमा दोहोरिएका छन् । त्यसो भए फरक के छ ?

कलेज पढ्ने युवती सन्ध्या (सुरक्षा पन्त) आफूभन्दा कमजोर पृष्ठभूमिका सहपाठीसँग प्रेममा लिप्त छिन् । अमेरिकामा बस्ने एक युवक उनको हात माग्न आउँछन् । बाबुआमा उसैसँग छोरीको लगनगाँठो कसिदिन व्यग्र बन्छन् । तर, छोरी मान्दिनन् ।

‘बहाब’ को फरकपना भनेको पटकथा र यसको ‘ट्रिटमेन्ट’ हो । दर्शकले अनुमान लगाएको दिशामा यो चलचित्र अगाडि बढ्दैन । प्रेमी-प्रेमिकाबाट कथाको उठान हुन्छ । तर, चलचित्रको अधिकांश हिस्सामा प्रेमी गायब छन् । चलचित्रभरि प्रेमिकामात्र छाएकी छन् ।

तपाईंसँग फरक खालको विषयवस्तु र सोच छ भने सीमित लगानी एवं ठूला स्टारको भीडविना पनि एउटा सुन्दर अनि हेर्नलायक चलचित्र बन्न सक्छ भन्ने प्रमाण हो ‘बहाब’ । यसले नेपाली चलचित्रका स्थापित भाष्यहरुलाई अस्वीकार गरेको मात्र होइन, ध्वंस नै गरिदिएको छ । यो हिरो-हिरोइनविनाको चलचित्र हो । चलचित्रमा एक जोडी प्रेमी-प्रेमिका अवश्य छन् । तर, उनीहरु हिरो-हिरोइन होइनन् । सन्ध्या चलचित्रकी ‘प्रोटागनिस्ट’ हुन् । जसको वरिपरि सिंगै चलचित्र घुमेको छ । उनको प्रेमी समिर ३-४ वटा दृश्यमा सीमित छन् ।

अब्बल निर्देशन, ‘प्रयोग’को हुटहुटी

निर्देशक प्रमोद कँडेलको यो डेव्यु चलचित्र हो । तर, कतै पनि लाग्दैन कि उनी पहिलो चलचित्र निर्देशन गरिरहेका छन् । भारतमा फिल्म मेकिङ पढेका कँडेलले रिस्क लिएर चलचित्रमा थुप्रै ‘एक्सपेरिमेन्ट’ गरेका छन् । डेव्यु फिल्ममै यत्तिको रिस्क लिनु निर्देशक कँडेलको आत्मविश्वास मात्र नभएर बहादुरीसमेत हो । उनलाई हिम्मत र हौसला दिने निर्माता श्रीधर पौडेल, जो स्वयं एक सिर्जनशील फोटोग्राफर पनि हुन्– लाई पनि धन्यवाद दिनैपर्छ । पौडेलले यसअघि फरक धारको चलचित्र ‘गोपी’ निर्माण गरेर व्यवसायिक हिसाबले धक्का खाएका थिए । तर पनि हतोत्साही नभइकन फेरि अर्को फरक धारकै चलचित्र पेश गरेका छन् ।

हुन त सिंगो ‘बहाब’ चलचित्र नै एक प्रयोग हो । यसभित्रका पनि दुई ‘एक्सपेरिमेन्ट’, जो यहाँ उल्लेख गर्न लायक छन्ः

चलचित्रमा बाबुछोरीबीचको अन्तरद्वन्द्व देखाउने क्रममा निर्देशकले एउटा रोचक प्रयोग गरेका छन् । तपाईं कतिबेला पनि दृश्यमा सन्ध्यालाई स्क्रिनको दाहिने भागमा देख्न सक्नुहुन्न । अनि उनको बुबालाई कतिबेला पनि स्क्रिनको देब्रेभागमा देख्न सक्नुहुन्न । किन होला ?

राजनीतिक चलचित्र नभए पनि यहाँ छोरीलाई ‘क्रान्तिकारी’ र बुवालाई ‘बुर्जुवा’ वा ‘पुरातनवादी’ सोचको पात्रका रुपमा चित्रण गर्न खोजिएको छ । राजनीतिक भाषामा भन्दा छोरी वामपन्थी र बुवा दक्षिणपन्थी । प्रतीकात्मक रुपले पर्दामा उनीहरुको विभाजन देखाउन छोरीलाई देब्रेतिर र बुवालाई दाहिनेतिर राखिएको अड्कल गर्न सकिन्छ । जब उनीहरुबीच समझदारी देखापर्न थाल्छ, दुवै मध्यविन्दूमा आउन खोज्छन् । जब फाटो बढ्छ, फेरि देब्रे र दाहिने कर्नरमा पुग्छन् ।

राजनीतिक चलचित्र नभए पनि यहाँ छोरीलाई ‘क्रान्तिकारी’ र बुवालाई ‘बुर्जुवा’ वा ‘पुरातनवादी’ सोचको पात्रका रुपमा चित्रण गर्न खोजिएको छ । राजनीतिक भाषामा भन्दा छोरी वामपन्थी र बुवा दक्षिणपन्थी ।

यतिमात्र होइन, मध्यमार्गी सोच राख्ने पात्रहरुलाई पर्दामा पनि मध्य भागमै राखिएको छ । विदेशी चलचित्रमा पनि नदेखिएको यो प्रयोगले आमदर्शकलाई त के गर्ला । तर, बौद्धिक सर्कलमा चाहिँ प्रभाव छोड्नसक्छ ।

दोस्रो प्रयोग क्यामरा वर्कमा गरिएको छ । जब चलचित्रभित्र तनावपूर्ण घटनाहरु हुन्छन्, क्यामराको फ्रेम नै हल्लिन थाल्छ । यसबाट धेरैलाई चलचित्रको क्यामरा वर्क फितलो भएको महसुस हुनसक्छ । तर, गम्भीर दर्शकले यो ‘एक्सपेरिमेन्ट’ बुझ्न सक्छन् ।

चलचित्रमा हुने वा हुनुपर्ने मानिएका परम्परागत मसलाहरु ‘बहाब’मा छैनन् । र, पनि दुई घन्टाको अवधिभर चलचित्रले दर्शकलाई बाँधेर राख्न सक्नु लेखक-निर्देशकको शक्ति हो । हो, केही झिँझोलाग्दा दृश्यहरु नभएका होइनन् । जस्तो कि, सुरक्षाले सुँगासँग गरेको संवाद र नोकझोक अलि पट्यारिलो छ ।

समग्रमा निर्देशकको काम असाध्यै राम्रो छ । पहिलो चलचित्रबाटै उनले गज्जब सम्भावना देखाएका छन् । चलचित्रका हरेक दृश्यमा उनको मेहनत देखिन्छ । कलाकारको अभिनयमा मात्र होइन, क्यामराको फ्रेममा अटाउने हरेक चिजहरुलाई उनले ध्यान दिएका छन् । प्रतीकात्मक दृश्यहरु चलचित्रभित्र भरपुरमात्र होइन, चाहिनेभन्दा बढी नै छन् ।

त्यसो त निर्देशक कँडेलका केही कमजोरीहरु पनि औंल्याउन सकिन्छ । पहिलो त उनले ‘प्रयोग’ गर्ने धुनमा चलचित्रको व्यवसायिक पाटोलाई नजरअन्दाज गरेका छन् । चलचित्रले समातेको धारलाई नबिथोलिकनै पनि मनोरञ्जनको पाटोमा अलि बढी काम गर्न सकिन्थ्यो । हास्यरसयुक्त दृश्य र संवादहरु थप्न सकिन्थ्यो । प्रेमी-प्रेमिका, दिदीभाइ वा बुवाआमा र छोरीबीचका हल्काफुल्का सन्दर्भ जोड्न सकिन्थ्यो । बोझिला दृश्यहरुमा अलिकति कैंची लगाएको भए हुन्थ्यो ।

‘बहाब’लाई वैचारिक चलचित्र भनिएको छ । माओवादी जनयुद्धसमेत जोडेर ‘क्रान्ति’ को कुरा गरिएको छ । सन्ध्याले टाउकोमा रातो फेटासमेत लगाउँछिन् । तर, चलचित्रमा विचार चाहिँ केवल ‘छोरीमान्छेको आफूखुशी बिहे गर्ने स्वतन्त्रता’ मै सीमित छ । यतिले मात्रै ‘बहाब’लाई ‘वैचारिक चलचित्र’ मानिहाल्न सकिन्न । अलिअलि वैचारिक फ्लेभर चाहिँ यसमा छ ।

‘बहाब’लाई वैचारिक चलचित्र भनिएको छ । माओवादी जनयुद्धसमेत जोडेर ‘क्रान्ति’ को कुरा गरिएको छ । सन्ध्याले टाउकोमा रातो फेटासमेत लगाउँछिन् । तर, चलचित्रमा विचार चाहिँ केवल ‘छोरीमान्छेको आफूखुशी बिहे गर्ने स्वतन्त्रता’ मै सीमित छ ।

बलियो स्क्रिप्ट, तर क्लाइमेक्समा चुक

चलचित्रको सबैभन्दा सवल पक्ष कथावाचनमा अपनाइएको सन्तुलन हो । अहिलेसम्म हामीले यस्ता प्रेमकथामा जति पनि चलचित्र हेर्‍यौं, सबैजसोमा प्रेमी-प्रेमिकालाई नायक-नायिकाका रुपमा पेश गरिएको हुन्छ भने बुवाआमालाई खलपात्र बनाइएको हुन्छ । दर्शकको शतप्रतिशत सहानुभूति प्रेमीप्रेमिकाप्रति सोहोरिने गरी पटकथा डिजाइन गरिएको हुन्छ । त्यो ट्रेन्डलाई भत्काउँदै यस चलचित्रले आफूलाई यथार्थको धरातलमा खडा गरेको छ । आमाबुवा र छोरी दुवैलाई सन्तुलनमा राखेर को सही र को गलत भनेर विवेचना गर्न दर्शक स्वयंलाई जिम्मा दिइएको छ ।

मलाई मनपरेको अर्को चिज चलचित्रमा ‘काका’ को भूमिकालाई दिएको महत्व पनि हो । हाम्रो पारिवारिक संस्कार र संरचनामा जहिले पनि छोरीको विवाहको कुरा आउनासाथ बुवाआमापछि पहिलो सरसल्लाह दाजुभाइबीच हुन्छ । यस चलचित्रमा केटीका काका एक कलेजका प्राध्यापक छन्, जो विद्यार्थीहरुलाई समानताका सिद्धान्त र कम्युनिष्ट आदर्शहरु घोकाउँछन् । तर, जब आफ्नै परिवारभित्र वैचारिक समस्या आउँछ, उनी मध्यमार्गमा उभिन्छन् । दाजुकी छोरीले कथित तल्लो जातको युवकसँग प्रेम गरेको थाहा पाउँदा उनको ‘रियाक्सन’ एकदमै जिवन्त छ ।

‘म त यस्ता (जातपातका) कुराहरु मान्दिनँ । तर, हामीले आफ्नो समाज र इष्टमित्रको पनि विचार गर्नुपर्छ’ भन्ने काकाको संवादले अहिलेको हाम्रो सामाजिक परिवेशलाई वास्तविक प्रतिबिम्बित गर्छ, जुन समानताको विचारलाई सैद्धान्तिक रुपमा अस्वीकार गर्न नसक्ने तर व्यवहारिक रुपमा स्वीकार पनि गर्न नसक्ने लड्खडाउँदो स्थितिमा छ ।

यस चलचित्रमा केटीका काका एक कलेजका प्राध्यापक छन्, जो विद्यार्थीहरुलाई समानताका सिद्धान्त र कम्युनिष्ट आदर्शहरु घोकाउँछन् । तर, जब आफ्नै परिवारभित्र वैचारिक समस्या आउँछ, उनी मध्यमार्गमा उभिन्छन् ।

चलचित्रको क्लाइमेक्स चाहिँ फितलो छ । यो एकप्रकारले ‘एन्टिक्ल्लाइमेक्स’ प्रतित हुन्छ । बुवाआमाविरुद्ध सुरक्षाले ‘विद्रोह’ गरेको देखाउन खोजिएको छ । विद्रोहको भाषा भने अमूर्त छ । उनले जुन बाटो रोजेकी छन्, त्यो विद्रोहभन्दा ‘पलायन’ जस्तो लाग्छ । यदि उनले भाइको जन्मदिन समारोहमा आफ्नो प्रेमीलाई घरमै ल्याएर बाबुआमाअघि उभ्याएको देखाएको भए वास्तविक विद्रोह त्यो हुने थियो । त्यसले चलचित्रको क्लाइमेक्स पनि शक्तिशाली बन्न सक्थ्यो । तर, लेखक-निर्देशक बढी सिर्जनशील हुन खोज्दा चुकेका छन् । दर्शकहरु अलमलमै कुर्सीबाट उठ्न बाध्य हुन्छन् ।

चलचित्रको क्लाइमेक्सले यसको व्यापार नै प्रभावित हुन्छ भन्ने म विश्वास गर्छु । त्यसअर्थमा क्लाइमेक्स फितलो हुँदा ‘बहाब’लाई व्यवसायिक असर पर्नसक्ने देखिन्छ ।

सुरक्षाको काँधमा गह्रुँगो बोझ

भूमिकाको हिसाबले कुरा गर्दा यो चलचित्र पूर्ण रुपमा सुरक्षा पन्तको हो । सुरुदेखि अन्त्यसम्म उनको एकछत्र राज छ । चलचित्रमा उनीबाहेक अर्को ‘स्टार’ नभएकाले यसको सफलता/असफलता सुरक्षाको करिअरमा निकै महत्वपूर्ण हुनेछ ।

भन्नैपर्दा एउटी ‘कलेज गर्ल’ को भूमिकामा सुरक्षा फिट देखिएकी छैनन् । कथाले उनीभन्दा निकै कम उमेरकी कलाकारको माग गर्छ । कलेजका साथीहरु उनका अगाडि फुच्चाफुच्ची देखिन्छन् । सायद सुरक्षाले यस चलचित्रका लागि शरीरको केही वजन कम गरेको भए राम्रो हुन्थ्यो ।

सुरक्षाको अभिनय भने उत्कृष्ट छ । उनले आफ्नो तर्फबाट कुनै कसर छाडेकी छैनन् । हल्काफुल्कादेखि गम्भीर दृश्यहरुमा उनको खारिएको अभिनय झल्किन्छ । तर, टङ किसको दृश्यले उनको अभिनयको चर्चा ओझेलमा पर्ला कि भन्ने डर छ ।

भन्नैपर्दा एउटी ‘कलेज गर्ल’ को भूमिकामा सुरक्षा फिट देखिएकी छैनन् । कथाले उनीभन्दा निकै कम उमेरकी कलाकारको माग गर्छ । कलेजका साथीहरु उनका अगाडि फुच्चाफुच्ची देखिन्छन् ।

सुरक्षाबाहेक अरुको अभिनय औसत छ । कमलमणि नेपाल सन्ध्याको बाबुको भूमिकामा जमेकै छन् । उनले आफ्नो सुविधाको भूमिका भएकाले अभिनयमा धेरै बल लगाउनु परेको छैन ।

सुरक्षा र कमलमणिबाहेक चलचित्रमा सबै अनुहार नयाँ छन् । थियटरको समेत अनुभव नभएकाहरुलाई भेला गरेर यत्तिको अभियन निकाल्नु निर्देशकको सफलता नै मान्नुपर्छ । प्रेमीको भूमिकामा पवन श्रेष्ठ, आमाको भूमिकामा ईश्वरी सिंह, काकाको भूमिकामा सूर्य शर्मा भट्ट, लमीमामाको भूमिकामा हिरालाल कँडेल सबैले आ-आफ्नो तर्फबाट न्याय गरेका छन् । भाइको भूमिकामा रहेका अफरान अलीलाई भने अलिकति बढी मेहनत गराउनुपर्ने थियो निर्देशकले, किनकि चलचित्रमा उनको भूमिका प्रभावशाली छ । अभिनय भने केही फितलो प्रतित हुन्छ । चलचित्रका प्राविधिक पक्षहरु पनि ठीकठाक छन् ।

समग्रमा ‘बहाब’ फरक फिल्मका पारखीहरुले हेर्नलायक चलचित्र हो । यो चलचित्र सबैका लागि भने होइन । चलचित्रका दर्शक मूलतः दुई श्रेणीका हुन्छन् । पहिलो श्रेणीका दर्शक चलचित्रमा मनोरञ्जनका खुराक नै खोज्छन् । उनीहरुका लागि चलचित्र राम्रो हुन त्यसमा हाँसो, आँसु, द्वन्द्व, गीत-संगीत आदि खजाना हुनुपर्छ । दोस्रो श्रेणीका दर्शक चाहिँ चलचित्रभित्र कलात्मकताको रसपान गर्छन् । ‘बहाब’ दोस्रो श्रेणीका दर्शकका लागि हो । माउथ पब्लिसिटीको बलमा यसले ‘स्लो मोसन’ मा दर्शक तान्नसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *