कांग्रेसले टुरिस्ट उम्मेदवार भनेकोमा स्वर्णिमको जवाफ- सीमा भनेको मान्छेले कोरेको मानचित्रमात्रै हो (भिडिओ) – Nepal Press

कांग्रेसले टुरिस्ट उम्मेदवार भनेकोमा स्वर्णिमको जवाफ- सीमा भनेको मान्छेले कोरेको मानचित्रमात्रै हो (भिडिओ)

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले सीमा भनेको मानिसले बनाएको मानचित्रमात्रै भएको बताएका छन् ।

आफूलाई टुरिष्ट भन्नेलाई जवाफ दिँदै वाग्लेले भने, ‘सीमा नक्सा भनेका मान्छेले कोरेका मानचित्र हुन् । यस क्षेत्रका शंकर भण्डारीलाई मादी पारि पुर्‍याइदिनुभाछ, म मर्स्याङ्दीपारिको स्वर्णिम वाग्ले यहाँ आएर लड्न नहुने ? तनहुँको प्रदीप पौडेललाई काठमाडौं ५ मा लगेर उतार्नुभयो, उहाँको क्याम्पेनमा मरेर लागेर जिताउन मैले धेरै प्रयास गरेँ ।’

उनले अर्को क्षेत्रमा गएर चुनाव लड्दैमा टुरिष्ट भनेर हेयको भावनाले हेर्न नहुने बताए ।

‘नेपालको संविधानमै कुनैपनि नागरिक जुनसुकै क्षेत्रमा गएर लड्न पाइन्छ भनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल कास्कीमा जन्मिनुभयो, कहिले सिरहाबाट लड्नुभाछ, अहिले गोरखाबाट जित्नुभयो, यो कुरा चाहीँ अलि बढी संकिर्णता भयो की यस्ता खाले प्रश्न उठाउनका लागि ।’

तनहुँ कुनै एउटा दलको गढ नभई लोकतन्त्रवादीको गढ भएको र रास्वपा पनि लोकतान्त्रिक पार्टी भएको वाग्लेको भनाई थियो ।

‘यहॉका जनता कुनै पार्टीका विचारका बन्दी होइनन्, हामीले सबैको आकर्षित तरिकाबाट मत ल्याउँछौ’, उनले भने ।

चुनाव स्वस्थ प्रतिस्पर्धाबाट लड्ने बताउँदै वाग्लेले आरोप-प्रत्यारोप नगर्ने प्रतिबद्धता जनाए ।

जनताको आकांक्षामा लय मिलाएर अगाडि बढ्ने बताउँदै वाग्लेले भने, ‘लोकतान्त्रिक व्यवस्थाको मर्म पनि यही हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर