वायु प्रदुषणकाे असर देखाउन स्वास्थ्य मन्त्रालयको गेटमा कृत्रिम फोक्सो जडान – Nepal Press

वायु प्रदुषणकाे असर देखाउन स्वास्थ्य मन्त्रालयको गेटमा कृत्रिम फोक्सो जडान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएकाे छ । युएसएआइडी स्वच्छ हावा परियोजनासँगको सहकार्यमा आज विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयको मूलद्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएकाे हो।

कृत्रिम फोक्सो मार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावहरू बारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम प्रदूषणको समयमा सकेसम्म घर बाहिर ननिस्कने लगायतका कदम अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखिसकेको मन्त्रालयका सहप्रवक्ता  डा.समीरकुमार अधिकारीले बताए ।

उनका अनुसार यो कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको छ जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिविम्बित गर्दछ । ३० दिनको अवधिमा यो जोडी फोक्सोको रंग वायु प्रदुषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले फोक्सोलाई हानी गरिरहेको छ भनेर देखाउन बुझाउन मद्दत पुऱ्याउँदछ । उक्त कृतिम फोक्सोसँगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइनेछ ।

धेरै देशहरूले वायु प्रदूषणको सामना गरिरहेको सन्दर्भमा आई क्यू एअर ले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्ग अनुसार विश्वका १३१ देशहरू मध्ये धेरै वायुप्रदुषण हुने देशहरूमा नेपाल १६ औं स्थानमा रहेको छ ।

नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सयको मृत्यु भएको थियो भने त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौंमा मात्र भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दीर्घकालीन फोक्सोको रोग नेपालमा हुने मृत्युको ठूलो कारण मध्ये एक हो र यसको लगभग ६६ प्रतिशत मृत्यु वायु प्रदूषणको कारणबाट हुन्छ । वायु गुणस्तर खस्कदै गएकाले वायु प्रदूषण कम गर्न चेतना अभिवृद्दि एवं सरोकारवाला निकायहरूसँग समन्वय र वकालत भइरहेको मन्त्रालयको भनाइ छ ।

 साथै यो कार्यक्रमसँग सञ्चालित सचेतना अभियानले नेपाल सरकारले वायु प्रदूषणलाई सम्बोधन गर्नका लागि चालेका कदम र वायु प्रदूषणको असरलाई कम गर्न हरेक व्यक्तिले के गर्न सक्छन् भन्ने बारेमा पनि जनचेतना जगाउने सहप्रवक्ता अधिकारीको भनाइ छ ।

कार्यक्रमसँग सम्बन्धित सन्देशहरू विभिन्न स्थानमा राखिने डिजिटल होर्डिङ बोर्ड, वेबसाइट र सामाजिक सञ्जाल मार्फत प्रसारित गरिनेछ । यसका अतिरिक्त, उच्च स्तरीय अबलोकन, अनुगमन, निर्णयकर्ताहरूको भ्रमण, सूचना केन्द्रहरूको स्थापना, फोक्सो क्षमता जाँच तथा विद्यालय भ्रमणहरू लगायत थप सचेतनामूलक गतिविधिहरू आयोजना गरिनेछ ।

यी गतिविधीहरूले वायु प्रदूषणलाई सम्बोधन गर्न प्रमाणमा आधारित नीति तर्जुमा र कार्यान्वयन प्रकृयालाई सुदृढ बनाइने लक्ष्य राखिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर