बिक्नै छाड्यो बालुवा गिट्टी: ठेक्का नलाग्दा स्थानीय सरकारको आन्तरिक आम्दानी घट्यो – Nepal Press

बिक्नै छाड्यो बालुवा गिट्टी: ठेक्का नलाग्दा स्थानीय सरकारको आन्तरिक आम्दानी घट्यो

सिन्धुपाल्चोक । स्थानीय सरकारको आन्तरिक आम्दानीको प्रमुख स्रोतका रुपमा रहेको दहत्तर–बहत्तर(ढुङ्गा, गिट्टी,बालुवा) को ठेक्का नलाग्दा स्थानीय सरकार समस्यामा परेका छन् । नदी आसपासका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा आन्तरिक आम्दानीको प्रमुख स्रोत दहत्तर बहत्तरबाट रकम उठ्ने योजनाका साथ बजेट निर्माण गरेका थिए ।

चालु आर्थिक वर्ष सकिन करिब ३ महिना मात्रै बाँकी हुदा पनि चार वटा स्थानीय तहको ठेक्का नलाग्दा यस अघि अनुमान गरेर निर्माण गरेको बजेटमा समस्या देखिएको छ ।

बाह्रविसे नगरपालिका,त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका र बलेफी गाउँपालिकाले सुनकोशी र भोटेकोशी नदीबाट नदीजन्य सामग्री उत्खनन् गर्दा त्यसबापत लाखौ कर संकलन गर्ने गरेको थियो । चारै स्थानीय सरकारले पटक पटक सूचना प्रकाशित गर्दा पनि ठेक्का नलागेको ती स्थानीय तहले जानकारी दिएका छन् ।

बाह्रविसे नगरपालिकाले सुनकोशी नदी क्षेत्रको बाह्रविसे देखि जुरेसम्मको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् बापत झण्डै १ करोड रुपैयाँमा ठेक्का आवह्रान गरेको थियो । तर चार पटक सूचना प्रकाशित गर्दा समेत कोही पनि ठेक्का हाल्न नआएको बाह्रविसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले जानकारी दिए । चार पटक सम्म ठेक्का नलागेपछि कार्यपालिकाको बैठकबाट सुरुको रकममा २५ प्रतिशत घटाएर ठेक्का लगाउदा समेत कोही हाल्न नआएको पन्थीले बताए ।

त्रिपुरासन्दरी गाउँपालिकाल पनि दहत्तर–बहत्तर बापत १ करोड १० लाख रुपैयाँमा ठेक्का आह्रावन भएपनि नलागेको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए । धेरै पटक सूचना प्रकाशित गर्दा पनि कोही पनि व्यावसायीहरु ठेक्का हाल्न नआएको अध्यक्ष बोहराले जानकारी दिए ।

सुनकोशी गाउँपालिकाले सुनकोशी नदीको आफ्नो क्षेत्र भित्र ६५ लाखमा दहत्तर–बहत्तरको ठेक्काको लागि सूचना प्रकाशित गरेपनि ठेक्का हाल्न अहिलेसम्म कोही पनि नआएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

‘सातौं पटक सम्म सूचना प्रकाशित गरेको र घाट–घाट को पनि छुट्टाएर ठेक्का निकाल्दा समेत कोही पनि आएनन्’ अध्यक्ष तिमिल्सिनाले भने–‘आन्तरिक आम्दानीबाट झण्डै १ करोड संकलन हुने अपेक्षा राखेका थियौ तर अहिलेसम्म १० लाख भन्दा संकलन नै भएको छैन ।’

आन्तरिक आम्दानी संकलन हुने अनुमानसहित वार्षिक बजेट निर्माण गरेको र अहिले आम्दानी नहुँदा योजना कार्यान्वयनमा समस्या भएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । बाह्रविसे,सुनकोशी र त्रिपुरासुन्दरीको मात्रै होइन बलेफी गाउँपालिकालाई पनि ठेक्का नलाग्दा समस्या भएको छ ।

गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरुलाई आन्तरिक आम्दानीबाटै तलब खुवाउने गरेपनि रकम स‌ंकलन नभएपछि समस्या भएको प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले जानकारी दिए ।

तीन पटक समेत ठेक्का नलागेपछि अमानतमा कर्मचारी खटाएर कर उठाउन खोजेपनि अहिले सम्म जम्मा ३८ हजार मात्रै संकलन भएको सापकोटाले बताए । सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका को मात्रै अन्तरिक आयको ठेक्का लागेको छ ।

 

बिक्नै छाड्यो बालुवा,गिट्टी

सिन्धुपाल्चोकको सुनकोशी,इन्द्रावती र भोटेकोशी नदी आसपसामा दुई दर्जन बढी क्रसर उद्योगहरु सञ्चालनमा छन् । निर्माण कार्य नहुँदा क्रसरहरुले उत्पादन गरेको बालुवा, गिट्टी लगायतका सामग्रहीहरु बिक्री हुनै छाडेको छ ।

बालुवा, गिट्टी बिक्री नहुँदा स्थानीय तहहरुको दहत्तर, बहत्तरको ठेक्का नलागेको हो । ‘यस अघि दैनिक सयौ टिप निर्माण सामग्रीहरु सिन्धुपाल्चोकबाट राजधानी लगायतका अन्यत्र जिल्लामा जाने गरेको थियो।

तर अहिले मुस्किलले ५० टिप पनि बिक्री हुँदैन’ एक क्रसर सञ्चालकले भने । कुनै बेला प्रति टिपको १० हजार समेत बालुवाको मूल्य भएपनि अहिले ३ हजार हुँदा समेत बिक्री हुन छाडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *