शिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग – Nepal Press

शिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं । अंग्रेज फौजलाई विश्वमा पहिलोपटक पराजय गराएको सिन्धुली गढी युद्धमा विशेष योगदान गरेका शिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुरमा रहेका वंशु (वंश) गुरुङका सन्ततिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर वंशु गुरुङको सम्मानकालागि आग्रह गरेका हुन् ।

शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानको तर्फबाट ज्ञापनपत्र बुझाउँदै सिन्धुली गढीको युद्धमा वीरतापूर्ण कदम चालेर नेपालको स्वाभिमान रक्षा गरेको भन्दै वंशु (वंश) गुरुङलाई उच्च सम्मान गर्न माग माग गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङ र बेलायत संयोजक लेख गुरुङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा इतिहासको कालखण्डमा नेपाली भूमिको रक्षाका लागि योगदान गर्ने वीर योद्धाको राज्यले सम्मान गर्नुपर्ने उल्लेख छ ।

प्रतिष्ठानले शिकारी सरदार वंशु (वंश) गुरुङको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्नुपर्ने, इतिहासमा वीर योद्धाको भूमिकालाई उचित सम्मान गर्दै पुनर्लेखन गर्नुपर्ने र प्रतिष्ठानका लागि उचित बजेट विनियोजन गर्नुपर्ने पनि माग प्रधानमन्त्रीसमक्ष राखेको छ ।

सिन्धुलीगढीमा अंग्रेजसँग १८२४ साल असोजमा भएको युद्धमा वीरता प्रदर्शन गरेर नेपाल भूमि जोगाउने काममा वंशु (वंश) गुरुङको अतुलनीय योगदान रहेको भन्दै प्रतिष्ठानका अध्यक्ष क्या. लालजंगले सरकारले उच्च सम्मान गरिनुपर्ने बताए ।

ज्यानको बाजी राखेर नेपाली भूमि रक्षाका लागि खेलेको भूमिकाको सम्मानका लागि नेपाल सरकारले ऐतिहासिक निर्णय गर्नेमा आफूहरू आशावादी रहेको प्रतिष्ठानका बेलायत संयोजक लेख गुरुङको भनाई छ ।

उनले भने, ‘इतिहास जित्नेहरूको लेखिन्छ भनिए पनि वंशु (वंश) गुरुङको सवालमा न इतिहास लेखियो, न त उचित सम्मान नै भयो ।’

ज्ञापनपत्र बुझाउन गएको प्रतिनिधि मण्डलसँगै रहेका तनहुँ २ का प्रतिनिधिसभा सांसद शंकर भण्डारीले सरकारले वंशु (वंश) गुरुङलाई उचित सम्मान गर्नुपर्ने र आफ्नो तर्फबाट निरन्तर पहल गरिने बताए ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले थप अध्ययन गरेर यथोचित निर्णय लिइने आश्वासन दिएका छन् ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, लेम तमू (लाम्छाने गुरुङ) समाजका अध्यक्ष क्या. ओम गुरुङ लगायत पनि उपस्थिति थिए ।

विश्वको कुनै पनि युद्धमा पराजित नभएका इष्ट-इण्डिया कम्पनीका अंग्रेज फौज सिन्धुली गढीमा भएको युद्धमा १८२४ साल असोज १५ गते पहिलोपटक पराजित भएका थिए । विश्वमा नहारेका अंग्रेजलाई पराजित गराउने नाइकेमध्येका शिकारी सरदर वंशु (वंश) गुरुङ एक थिए ।

उनले अंग्रेज फौजको परास्त गरी नेपाली भूमिको रक्षाका लागि योगदान गर्ने वीरयोद्धा शिकारी सरदार वंशु (वंश) गुरुङप्रति राज्यको तर्फबाट कुनै सम्मान नभएको गुनासो उनका सन्ततिको छ ।

अहिलेसम्म शिकारी सरदार वंशु (वंश) गुरुङका सन्तानहरुले २०७६ साल असोजमा प्रतिष्ठान स्थापना गरी विभिन्न कार्यक्रम गर्दै आएका समेत प्रधानमन्त्री समक्ष जानकारी गराएका थिए । प्रतिष्ठानको निजी खर्चमा वंशु (वंश) गुरुङकै पुर्ख्यौली थलो तनहुँको शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुरमा अर्धकदको शालिक निर्माण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर