सहकारीमाथि उब्जिएका अविश्वास र आशंकाको समाधान खोजिनुपर्छ : प्रधानमन्त्री – Nepal Press

सहकारीमाथि उब्जिएका अविश्वास र आशंकाको समाधान खोजिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी क्षेत्रको विकास र विश्वसन‍ियतामा उब्जेका आशंका र प्रश्नहरूको समाधान खोज्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको उद्घाटन गर्दै उनले राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको र राज्यले उच्च प्राथमिकतामा राखेको सहकारीको विकास र विश्वासनियतामा केही आशंका र प्रश्नहरू उठिरहेको सन्दर्भमा स्वनियमनलाई नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्न अनुरोध गरे ।

अर्थतन्त्रको एक खम्बाको रूपमा रहेको सहकारी अभियानलाई सशक्त रूपमा स्थापित गराउन आवश्यक पहलकदमी लिन सरकार सदैव तत्पर रहने उनले आश्वस्त पारे । वित्तीय क्षेत्रमा देखापरेको तरलताको समस्या सहकारीमा समेत देखा परिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सदस्यको बचतका साथसाथै सहकारीप्रतिको आशा र भरोसा समेतको सुरक्षा गर्नुपर्ने दायित्व यतिबेला देखापरेको बताए ।

ऐन, कानून र सहकारी सिद्धान्त, मूल्य मान्यतालाई आत्मसाथ गरी सञ्चालन भएका सहकारी संस्थाहरूमा आएका समस्या समाधानमा सरकारको तर्फबाट आवश्यक सहजीकरण गरिने उनले प्रतिबद्धता जनाए ।

आयातमुखी अर्थतन्त्रलाई निरूत्साहित गरी उत्पादन संरक्षण र प्रबर्द्धन गर्ने सन्दर्भमा सहकारी अभियानसँग समन्वय र सहकार्य गर्नु सरकारको प्राथमिकता रहने प्रधानमन्त्रीको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर