माओवादी केन्द्र कोशी संसदीय दलका नेतालाई प्रश्न: प्रदेशसभामा पहिचानी नाम कहिले प्रस्ताव हुन्छ ? – Nepal Press

माओवादी केन्द्र कोशी संसदीय दलका नेतालाई प्रश्न: प्रदेशसभामा पहिचानी नाम कहिले प्रस्ताव हुन्छ ?

काठमाडौं । नेपालको अन्तिम बेनामे प्रदेश नम्बर १ लाई कोशी नाम दिएको ३५ दिन पुग्दा नेकपा माओवादी केन्द्रले यू-टर्न लिएको छ । कोशी प्रदेशको पक्षमा मत हालेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले बुधबार पहिचानकै पक्षमा उभिने बताएको थियो ।

बैठकपछि बोल्दै माओवादीका प्रवक्ता कृष्णबहादुर महराले भनेका थिए, ‘कोशी प्रदेश नामकरण भएपछि अहिले आन्दोलन उठिरहेको छ । हाम्रो पार्टीप्रति के हो अडान भनेर प्रश्न उठिइरहेको छ । त्यसमा हाम्रो पार्टी पहिचानको पक्षमा छ । त्यतिबेला पनि पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो । कमजोरी भएको छ ।’

माओवादी प्रवक्ता महराकै भाषामा कोशी नामकरण गर्ने क्रममा गरिएको मतदान ‘कमजोरी’ भएको छ । अब यो कमजोरी सुधार्न माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले कहिले नयाँ नाम प्रदेशसभामा प्रस्तुत गर्छ ? नेपाल प्रेसले यो प्रश्न माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्बो मौसमलाई गरेको छ ।

नेकपा माओवादीकै नेता बाबुराम गौतम सभामुख भएको प्रदेशसभामा माओवादीले नयाँ पहिचानको नाम प्रस्ताव कहिले गर्छ भन्ने प्रश्नमा आङ्बोले भने, ‘प्रदेशसभा नियमावलीमै प्रदेशको नयाँ नाम राख्न मिल्ने र राजधानी आवश्यकअनुसार सार्न मिल्ने प्रावधान राख्ने तयारीमा छौं ।’

आङ्बोले थपे, ‘पास हुन्छ हुन्न अलग कुरा हो । तर, यो प्रावधानको पक्षमा हामी छौं ।’

माओवादीकै साथमा दुईतिहाइले पास गरेको थियो कोशी

नाम राख्न पहिलो कार्यकालमा असफल प्रदेश नै प्रदेश नम्बर १ हो । दोस्रो कार्यकालको प्रदेशसभाको बैठकले २०७९ फागुन १७ गते दुईतिहाइ बढी मतले प्रदेश १ को नाम ‘कोशी’ राख्यो । कोशी नामकरणसँगै पहिचानवादीहरु आन्दोलित छन् । किराँत लिम्बूवान आदि नामको प्रदेश हुनुपर्ने शक्तिहरु एक भएर आन्दोलनमा उभिएका छन् ।

फागुन १७ मा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले प्रस्ताव गरेको किराँत लिम्बूवान सगरमाथा अस्वीकृत भएको थियो । दुईतिहाइभन्दा धेरै सांसदहरुले कोशीकै पक्षमा मतदान गरे । नेकपा एमाले, माओवादी केन्द्रदेखि नेपाली कांग्रेससम्म एक भएर प्रदेशको नाम कोशी राखे । ९३ सदस्यीय प्रदेशसभामा उपस्थित ८६ सांसदमध्ये प्रस्तावको पक्षमा ८२ उभिएका थिए । विपक्षमा मात्र चार जना थिए ।

प्रदेश नामकरणमा नआएको ‘पहिचान’ प्रस्तावनामा

अहिले कोशीको सट्टा नयाँ पहिचानको नाम राख्ने आन्दोलन भइरहेको छ । आन्दोलनमा लाजेहाङ सहिद भएका छन् । कोशी प्रदेशसभाको दुईतिहाइले पहिचानवादीले खोजेको जस्तो नाम नराखे पनि प्रस्तावनामा भने पहिचानका नामहरु अटाइएका छन् । किराँत सम्भता, लिम्बूवान संस्कृति, मिथिला सभ्यता, विराट क्षेत्रको इतिहासदेखि कोच संस्कृति र संस्कारलाई प्रदेशको नामकरणमा अटाइएको छ ।

प्रस्तावनामा भनिएको छ, ‘प्रदेशले आफ्नो नामकरण प्रदेशसभाबाट आफैंले गर्नुपर्ने दायित्व पूरा गर्न यस प्रदेशमा विकसित हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बूवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकाले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्रभित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धिसमेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपयुक्त ठानिएको छ ।’

उसो त प्रदेश नामकरणमा आएका प्रस्तावहरुलाई प्रस्तावमा राखे जस्तै प्रदेश राजधानी नामकरणको प्रक्रियामा पनि यस्तै तरिका प्रयोग गरिएको थियो । प्रदेशको राजधानी बन्न इटहरी, सुन्दरहरैंचादेखि विराटनगरसम्मलाई प्रस्तावनामा समेट्दै विराटनगरलाई राजधानी घोषणा गरिएको थियो ।

२०७६ बैशाख २३ गते भएको प्रदेश राजधानी घोषणाको प्रस्तावना पढ्दै सभामुख प्रदीप भण्डारीले भनेका थिए, ‘कार्यपालिका, व्यवस्थापिकालगायतका अन्य संरचनाहरू बृहत विराट क्षेत्रअन्तगर्तका विराटनगर, इटहरी र सुन्दरहरैंचा क्षेत्र आसपास रहनेछ भन्ने प्रस्तावको पक्षमा प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमत प्राप्त भएकाले नेपालको संविधानको धारा २८८ (२) र प्रदेश नम्बर १ को प्रदेशसभा नियमावली पहिलो संशोधनसहित २०७४ को नियम ५८ (क) २२ बमोजिम उक्त प्रस्ताव पारित भएको घोषणा गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर