लिभिङ टुगेदरमा बसेका पुरुषले बिहे गर्न नमानेको भन्दै ब्युटीसियनले हालिन् बलात्कारको मुद्दा – Nepal Press

लिभिङ टुगेदरमा बसेका पुरुषले बिहे गर्न नमानेको भन्दै ब्युटीसियनले हालिन् बलात्कारको मुद्दा

१२ वर्ष कान्छा पुरुष भन्छन्- शारीरिक सम्बन्धका लागि मलाई बाध्य पारिन्

काठमाडौं । काठमाडौंको एक सपिङ मलमा ब्युटीपार्लर सञ्चालन गर्दै आएकी महिला लिभिङ टुगेदरमा रहेका व्यक्तिले विवाह गर्न नमानेपछि जाहेरी लिएर प्रहरीकहाँ पुगेकी छिन् । आरोपी जाहेरवाला महिलाभन्दा १२ वर्ष कान्छा हुन् ।

जाहेरवाला महिलाका अनुसार ती पुरुषसँग उनको चिनजान तीन वर्षअघि भएको थियो । ब्युटीपार्लरमा सीसीटीभी जडान गर्न आएका ती पुरुष पछि फेसियल गर्ने नाममा नियमित भेटघाट गर्ने गरेको र मायाको प्रलोभन देखाएको जाहेरीमा उल्लेख छ ।

‘२०७७ साल वैशाख महिनाको पहिलो दिन अर्थात नव वर्षको दिनमा अन्यायी एक केजी मिठाई, गुलाफको फूल उपहार ल्याएर मेरो ब्युटीपार्लरमा आई आज मैले तिमीलाई उपहार लिएर आएको छु, मलाई तिमी असाध्यै मनपर्छ, म तिमीलाई माया गर्छु, अब विवाह गर्नुपर्छ भन्दै प्रस्ताव गर्दा भाइ तिमी मभन्दा सानो उमेरको छौं, म झण्डै तिमीभन्दा १०/१२ वर्ष जेठी छु । मलाई विवाह गर्न मन छैन । तिमी र मेरो उमेरले गर्दा विवाह गर्नसमेत सुहाउँदैन भन्दा उनले उमेरले केही गर्दैन भनेपछि ठीकै छ पछि सोचौँला भनेर फर्काईदिएको हुँ’, जाहेरवालाले जाहेरीमा लेखेकी छिन् ।

जाहेरवालाका अनुसार त्यसपछि उनीहरू स्वयम्भुमा फ्ल्याट लिएर लिभिङ टुगेदरमा बसेका थिए । तर, पछि विवाहका लागि आफूले कर गर्न थालेपछि उनले आनाकानी गरेको आरोप लगाइएको छ ।

जाहेरवालाका अनुसार उनको भाइ आउने भएपछि आरोपी छुट्टै कोठामा बस्न थालेका थिए । तर, उनीहरुबीच विभिन्न बहानामा भेटघाट भएर शारीरिक सम्बन्ध भइरहन्थ्यो । आफूले पार्लरको कामले गर्दा भ्याउँदिन भन्दा कुटपिटसमेत गर्ने गरेको उनको आरोप छ ।

विवाहका लागि दबाब बढाउन थालेपछि आरोपीले ‘१२ वर्ष जेठी तँ बुढीलाई यौन सम्पर्कका लागि मात्र प्रयोग गरेको हुँ’ भनेर पन्छिएको जाहेरीमा उल्लेख गरिएको छ ।

जाहेरीपछि प्रहरीले आरोपीलाई फागुन ३० गते पक्राउ गरेको थियो । सरकारी वकिलसँगको बयानमा आरोपीले जाहेरवालासँग आफ्नो सुरुवाती दिनमा दिदीभाइको सम्बन्ध रहे पनि दबाबमा पारेर यौन सम्पर्क गर्न बाध्य पारेको दाबी गरेका छन् । जाहेरवालाकै कारण आफ्ना ग्राहक पनि बढेको, विरामी पर्दा अस्पतालसमेत ल्याउने लैजाने काम गरेको आरोपीले बयान दिएका छन् ।

जाहेरवालासँग चिनजान भएको ८/९ महिनापछि एक साँझ उनले आफुलाई डर लाग्ने गरेको भन्दै रात बस्न बोलाएको आरोपीले उल्लेख गरेका छन् । उनले त्यस दिन आफु अर्को कोठामा बस्न खोज्दा एउटै कोठामा बस्न कर गरेको र अंगालो मारेर यौन सम्पर्कका लागि उत्तेजित बनाएको बयान दिएका छन् ।

‘हामीबीच दुवै जनाको सहमतिमा पटकपटक शारीरिक सम्पर्क हुन थाल्यो । तर, सँगसँगै निजले मलाई तिम्रो भिनाजु, मेरो बुढा विदेशमा छ, म पनि अब बाहिर जान्छु भनेर बताउने गर्थिन्,’ आफूलाई विवाहका लागि कहिल्यै कर नगरेको दाबीसहित आरोपीको बयान छ । आफ्नो मोबाइलमा आएका म्यासेजहरु हेर्ने, केटी साथीहरूलाई थर्काउने, अश्लिल गालीगलौज गर्न थालेपछि मानसिक यातनाका कारण टाढिएको उनले बताएका छन् ।

‘२०७८ फागुनमा हामीबीच अन्तिमपटक सहमतिमा यौनसम्बन्ध भएपछि हाम्रो भेट भएको थिएन । निजले मलाई धेरैपटक सम्पर्क गर्न खोज्दा म सम्पर्कविहीन भएर बसेको थिएँ । निजले मलाई तँ मलाई भेट्दैनस् भने म तँलाई फसाइदिन्छु भन्दै धाकधम्कीपूर्ण म्यासेजहरु पठाउने गर्थिन्,’ आरोपीको बयान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर