वडा कार्यालयको भत्ता बाँडेर कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले मत मागेको भन्दै एमालेको विरोध – Nepal Press

वडा कार्यालयको भत्ता बाँडेर कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले मत मागेको भन्दै एमालेको विरोध

दमौली । उपचुनावमा उम्मेदवारहरू जनताको घरदैलोमा जाने क्रम सुरू नहुँदै तनहुँ १ मा एकजना उम्मेदवार विवादमा परेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले वडा कार्यालयले प्रदान गर्ने भत्ता आफूले वितरण गरेर चुनावी प्रचार गरेपछि विवादमा परेका हुन् ।

ब्यास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयले बिहीबार भत्ता वितरणको कार्यक्रम राखेको थियो । सोही क्रममा पुगेका भट्टराईले सोही वडाका अपाङ्गता भएका धर्मबहादुर अधिकारीलाई वडाको भत्ता प्रदान गरेका थिए । अधिकारीको कम्मरमुनिको भाग चल्दैन ।

चुनावका बेला मतदाता प्रभावित पार्न भट्टराईले वडा कार्यालयमार्फत वितरण गरिने भत्ता प्रदान गरेको भन्दै आलोचना भएको छ । नेकपा एमाले व्यास-११ का अध्यक्ष सञ्जय श्रेष्ठले चुनावका बेला मतदाता प्रभावित पार्न खोजिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

यस विषयमा वडाध्यक्ष दलबहादुर दुरासँग सम्पर्क गर्दा आफू उक्त ठाउँमा नभएको र जानकारी नभएको बताए ।

‘आज भत्ता बाँड्ने कार्यक्रम थियो, म त्यता पुगेको थिइँन,’ उनले भने ।

भट्टराईले कुनै प्रतिक्रिया दिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर