फरार सूचीमा रहेका प्रसाद-२ निर्माताको प्रश्न : फिल्म चल्न नदिएपछि पैसा कसरी तिर्ने ? – Nepal Press

फरार सूचीमा रहेका प्रसाद-२ निर्माताको प्रश्न : फिल्म चल्न नदिएपछि पैसा कसरी तिर्ने ?

काठमाडौं । उच्च अदालत पाटनले ‘प्रसाद-२’ को प्रदर्शन रोक्ने आदेश दिएसँगै फिल्मको भविष्य अनिश्चित बनेको छ । चैत २४ गते रिलिज हुने भनिएकोमा दुई दिनअघि उच्च अदालतले प्रदर्शन रोक्न आदेश दिएको थियो ।

निर्माणको सुरुवातदेखि नै ‘प्रसाद-२’ लफडामा पर्दै आएको छ । कहिले निर्देशक फेरिएका समाचार आउँथे त कहिले सुटिङ रोकिएका । कहिले कलाकारले फिल्म छाडेका खबर आउँथे, त कहिले कोरस डान्सर ढलेको । तर, तमाम विवादका बाबजुद फिल्म निर्माण भएर प्रदर्शनको मिति तय गरिएको थियो ।

२४ गतेको प्रदर्शन अन्तिम समयमा रोकिएपछि निर्मातालाई ठूलो धक्का लागेको छ । स्वदेशको व्यापार अनिश्चित बनेको छ भने विदेशको राइटस्, डिजिटल राइटस्बाट आउने पैसासमेत गुमेको छ । हलमा फिल्म चल्न नपाउँदा लगानीकर्ताहरुको तीन करोडको लगानी संकटमा परेको छ । तीन करोड लगानी उठाउन हलमा फिल्मले आठदेखि नौ करोड हाराहारीको ग्रस कलेक्सन गर्नुपर्छ ।

यो फिल्ममाथि उत्पन्न विवादको जड दुई निर्माता सुवास थापा र केशव पाण्डेबीचको आर्थिक लेनदेन हो । पाण्डे सुरुमा थापामाथि चेक बाउन्सको उजुरी लिएर प्रहरीमा पुगेका थिए । प्रहरीले सुरुमा जाहेरी दर्ता नगरी दुवै पक्षलाई बोलाएको थियो ।

प्रहरीसँग थापाले एक हप्ताभित्र पैसा फिर्ता दिने प्रतिवद्धता जनाएका थिए । तर, सो अवधिभित्र पैसा नपाएपछि पाण्डे फेरि प्रहरीमा पुगे र जाहेरी दर्ता भयो । त्यसपछि उच्च अदालत पाटनमार्फत प्रहरीले थापामाथि पक्राउ पूर्जि जारी गरेको छ । थापा अहिले प्रहरीको फरार सूचीमा छन् ।

पाण्डेले आफ्नो ६२ लाख ५० हजार लगानी भएको तर निर्माताको हैसियत नपाएपछि उक्त रकम फिर्ता मागेको बताएका छन् । रकम फिर्ताका लागि थापाले थमाएको चेक तोकिएको मितिमा नसाटिएपछि उनले बैंकिङ कसुर अन्तर्गत मुद्दा हालेका हुन् ।

अज्ञात स्थानबाट नेपाल प्रेससँग सम्पर्कमा आएका थापा भन्छन्, ‘मैले उहाँलाई फिल्मको सबै अधिकार तपाईं नै लिनुस् भनेर भनेको हो । तपाईं नै फिल्म चलाउनुस् पनि भनेको हो । तर, उहाँ आफ्नो पैसा चाहियो मात्रै भन्नुहुन्छ । फिल्ममा लगानी गरेको पैसा फिल्म नचली मैले कसरी फिर्ता दिने ?’

पाण्डेका कारण आफूले फिल्मको पब्लिसिटी खुलेर गर्न नसकेको थापाको गुनासो छ । प्रदर्शन मिति सरेपछि त्यसले व्यापारमा पनि प्रत्यक्ष असर गर्ने भएकाले कलाकारदेखि प्राविधिक, निर्देशक, निर्माता सबैलाई अप्ठ्यारो परेको उनले बताए ।
फिल्ममा पाण्डेले ९० प्रतिशत लगानी गर्ने सहमति गरेका थिए । बाँकी १० प्रतिशत थापाको स्वामित्वमा थियो ।

तर, सहमति गरेअनुसार लगानी नगरेपछि आफूले नै फिल्म अगाडि बढाएको थापाको भनाइ छ । तीन करोड हाराहारी लगानी गरेर फिल्म सकेको उनले बताए ।

थापा भन्छन्, ‘उहाँले ९० प्रतिशत स्वामित्व लिएपछि त्यही अनुसार लगानी गर्नुपथ्र्यो । तीन करोडमा बनेको फिल्ममा एक करोड त कलाकारको पारिश्रमिकमै जान्छ । कागज ९० प्रतिशतको छ, तर लगानी चाहीँ २५ प्रतिशत पनि छैन ।’

पाण्डे भने ९० प्रतिशत स्वामित्व लिएको मान्छे नै बाहिरिएपछि १० प्रतिशत स्वामित्व लिएको मान्छेले फिल्म बनाउन नमिल्ने बताउँछन् । आफूले लगानी गरेको ६२ लाख ५० हजार रुपैयाँ फिर्ता गर्नुपर्ने उनको माग छ । उनी आफ्नो पैसा असुल नभएसम्म कुनै पनि हालतमा फिल्म चल्न नदिने अडानमा छन् ।

थापा भने फिल्ममा लगानी भएको पैसा उठाउनका लागि फिल्म प्रदर्शन नै कुर्नुपर्ने बताउँछन् । त्यसका लागि पहिला फिल्म चल्न दिनुपर्ने उनको तर्क छ । पाण्डे भने फिल्म प्रदर्शनपछि पनि पैसा आउने÷नआउने निश्चित भएका कारण प्रदर्शन अगावै आफ्नो पैसा फिर्ता मागिरहेका छन् ।

पाण्डेले फिल्मको सेन्सर रोक्नका लागि केही दिनअघि चलचित्र विकास बोर्डमा उजुरी दिएका थिए । यस विषयमा र्दुइ दिनअघि मात्रै बोर्डले सर्वपक्षीय बैठक राखेको थियो । पाण्डेसमेत सहभागी उक्त वैठकमा फिल्म प्रदर्शन गर्न नरोक्ने सहमति भएको थियो । त्यसअनुसार बोर्डले फिल्मको सेन्सर अनुमति दिइसकेको छ ।

फिल्म प्रदर्शनपछि पैसा फिर्ता गर्ने, तर अहिले फिल्म चल्न दिनू भनेर निर्माता संघका महासचिव सुनिल कुमार थापा, गोपालकाजी कायस्थ, सुदर्शन थापा, फिल्मका लेखक सुशील पौडेल लगायतले अनुरोध गर्दा पनि पाण्डेले नमानेको थापाको गुनासो छ । फिल्मको सबै अधिकार लिनु, जसरी चलाउन मन लाग्छ, त्यसरी नै चलाउनू भन्दा पनि पाण्डेले नमानेपछि आफ्नो केही नलागेको उनी बताउँछन् ।

उनी प्रश्न गर्छन्, ‘९० प्रतिशत स्वामित्व लिएको मान्छेले तीन करोड लगानी भएको फिल्ममा ६२ लाख ५० हजार मात्रै हाल्नुपर्ने पक्कै होइन होला । तर, उहाँले कसरी सोच्नुभयो, त्यो त उहाँलाई नै थाहा होला ।’

आफूहरुबीचको लफडाले सिंगो सिनेमा क्षेत्रमाथि नै प्रश्न उठेकाले त्यसको समाधान गर्न सबै लागिपर्दा पनि सम्भव नभएको थापा बताउँछन् । थापाको भनाइ छ, ‘फिल्म चल्न दिनुस् भन्ने सबैको आग्रह हो । फिल्ममा लगानी भएको पैसा फिल्मबाटै उठाउने हो ।

मैले उहाँको पैसा घरजग्गामा लगानी गरेको छैन । फिल्ममै लगानी गरेको हुँ । त्यसको रिटर्न पनि फिल्मबाटै हुने हो । मैले जे प्रयोजनका लागि पैसा लिएको छु, त्यसका लागि फिल्म त चल्न दिनुपर्यो नि । एक महिना कुरिदिएको भए के जान्थ्यो ? कति मिहेनतले बनेको फिल्म एकजनाको मात्रै होइन, सयौंको श्रम जोडिएको छ त्यहाँ ।’

थापा र पाण्डेको चिनजान लेखक शुशील पौडेलको माध्यमबाट भएको थियो । पाण्डे पौडेलको क्लासमेट भएका कारण थापासँग उनीहरुको भेटघाट भएको हो । पछि राम्रो सम्बन्ध बनेपछि सहकार्य गरेको थापाको दाबी छ । त्यसबेला आफूसँग पर्याप्त पैसा नभएका कारण ९० प्रतिशत स्वामित्व बेच्न बाध्य भएको बताउँछन् ।

थापा र पाण्डेको लेनदेनको विवादकै कारण ‘प्रसाद-२’ सुटिङका लागि कास्की पुगेर पनि रोकिएको थियो । पछि पुनः सुटिङ भएर पूरा भएको फिल्म प्रदर्शनको मुखमा आएर अदालतमा पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *