लुम्बिनीमा भेटिवापत जम्मा थप २० देशका मुद्रा साट्ने सम्झौता, अन्य ६० देशका मुद्रा अलपत्र – Nepal Press

लुम्बिनीमा भेटिवापत जम्मा थप २० देशका मुद्रा साट्ने सम्झौता, अन्य ६० देशका मुद्रा अलपत्र

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा दानवापत संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएपछि लामो समय जम्मा भएर सटही हुन नसकेको रकम साट्ने बाटो खुलेको छ ।

तर अझैपनि सबै देशका मुद्रा साटिने छैनन् । यसरी संकलन भएका मुद्रा सटही नभएर थन्किएको समाचार यसअघि नेपाल प्रेसले प्रकाशन गरेको थियो ।

बुधवार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा सटही हुन नसकेका विभिन्न २० वटा देशका विदेशी मुद्रा सटही गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

‘यसअघि २० देशका मुद्रा साटिने गर्दथ्यो भने अब थप २० देशका मुद्रा साट्नलाई प्रकृयामा सहमति भएको छ, मुख्य समस्या समाधान भयो तर अझै पनि थप ६० देशका मुद्रा छन् तर ती धेरै छैनन्’, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले भने ।

लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको दानवापतको रकम राष्ट्र बैंकको परिवर्त्य विदेशी मुद्राको सूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफूहरुको पटक पटकको प्रयासपछि सटही हुने अवस्था आएको कोषाध्यक्ष भट्टराईले बताए ।

उनले १ सय देशबाट आएका विदेशी पर्यटकले मायादेवी मन्दिरमा दानवापत आफ्नो देशको मुद्रा चढाएको र त्यसमध्ये राष्ट्र बैंकको परिवर्त्य सूचीमा नभएका २० वटा देशको मुद्रा सटही गर्ने गरी सम्झौता हुनु ठूलो उपलब्धि भएको बताए ।

पहिलो चरणमा एक हप्ताभित्र श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेश, इन्डोनेशिया, ओमन, रुस लगायतका २० देशका करिव ७४ लाख नेपाली रुपैयाँ सटही हुने कोषले जनाएको छ ।

राष्ट्र बैंकको परिवर्त्य सूचीमा नपरेका देशका मुद्रा सटहीका लागि एजेन्सी बैंक सिआईएमबी बैंक सिंगापुर पठाउने गरी दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

नेपाल राष्ट्र बैंकको परिवर्त्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले भेटी र दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन । दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएसँगै लामो समयदेखि सटही नभएका दानवापतको मुद्रा सटही प्रक्रियामा गएको छ ।

परिवर्त्य विदेशी मुद्राको सूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या देखिएको र अब सटहीका लागि औपचारिक रुपमा सम्झौता भएर प्रक्रिया अघि बढाइएको राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताए । कोषबाट आउने मुद्रालाई केन्द्रीय कार्यालय हुँदै राष्ट्र बैंकको सिंगापुरस्थित ऐजेन्सी बैंकमा मुद्रा सटहीका लागि पठाइने बताए ।

राष्ट्र बैंकले च्यातिएका, बढी केरमेट भएका र रङ लागेका, टालेका, झुत्रो भएका नोट भने सटहीमा समस्या हुने भएकाले त्यस्ता नोट नसाटिएमा कोष नै जिम्मेवार हुनुपर्ने सम्झौतापत्रमा लेखिएको छ ।

अमेरिकी डलरमा सटही प्रदान गर्ने भएतापनि अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ कोषलाई भुक्तानी गरिने सम्झौतामा भनिएको छ । पछिल्लो पटक भेटी गणनामा लुम्बिनीमा १ सय देशका मुद्रा भेटिएकाले त्यसरी चढाइएका केही मुद्रा संग्राहलयमा राखेर यसको थप प्रवद्र्धन गर्नुपर्ने विषय उठेको छ ।

लुम्बिनी विकास कोष र यो सँग सरोकारवालाले लुम्बिनी क्षेत्रमै सबै देशहरुको मुद्रा राखेर संग्राहलय बनाउन सके यहाँ आउने पर्यटकलाई थप अध्ययनको विषय हुनसक्ने उनीहरुको राय रहेको छ ।

संस्कृतिविद् डाक्टर गितु गिरीले विभिन्न देशहरुका मुद्रा संग्राहलयले पर्यटकलाई आकर्षक गर्नुको साथै यसको अध्ययन गर्न चाहनेहरुलाई सहज हुने बताएका छन् ।

अध्यापक युवराज कंडेलले लुम्बिनीमा यति धेरै देशका मुद्रालाई संग्राहलय बनाएर राख्नसके विश्वमा अझै लुम्बिनीको महत्व बढ्ने र यही मात्रै अवलोकन गर्ने पर्यटक पनि थपिनसक्ने बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर