संसद र देशलाई उपेन्द्र यादवको खाँचो छ : माधवकुमार नेपाल – Nepal Press

संसद र देशलाई उपेन्द्र यादवको खाँचो छ : माधवकुमार नेपाल

बारा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादव आवश्यक रहेको बताएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहीबार कलैयामा नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकतालाई औंल्याएका हुन् ।

बाराको क्षेत्र नंं २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए । बारा २ को चुनावी मैदानमा रहेका यादवलाई भेटमा नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

यादवलाई विजयी बनाउन अपिल गर्दै नेता नेपालले भने, ‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ । त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्यधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु ।’

नेपालको राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण मानिएको लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेस जनविद्रोहको उच्च स्थान रहेको भन्दै उनले मधेस विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा जसपा अध्यक्ष यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गरे ।

अध्यक्ष नेपालले बुधबार नै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग पनि भेट गरेका थिए । भेटका क्रममा नेताहरुले मधेस सरकारका गतिविधि र बाराको चुनावी अभियानबारे छलफल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर