लुम्बिनी पीस हाफ म्याराथनको उपाधि दीपक अधिकारी र राजपुरा पछाईलाई – Nepal Press

लुम्बिनी पीस हाफ म्याराथनको उपाधि दीपक अधिकारी र राजपुरा पछाईलाई

रुपन्देही । लुम्बिनीमा भएको लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् ।मदन भण्डारी स्पोट्र्स एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बिहीबार आयोजना गरेको २१ किलोमिटरको दूरीमा यो प्रतियोगिता गराएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले १ घन्टा ६ मिनट २ सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दूरी पुरा गरेका थिए । यससँगै उनले १ लाख ५० हजार रुपैयाँ नगद पाएका छन् ।

यस्तै महिलातर्फ २१ किलोमिटरको दुरी नेपाल प्रहरीका राजपुरा पछाइले १ घण्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरेकी छन् । उनले १ लाख ५१ हजार रुपैयाँ नगद शिल्ड तथा प्रमाणपत्र पाइन् ।

प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भए । त्रिभुवन आर्मीका मुकेश पाल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै चौथो भए ।

महिलातर्फ एपीएफका विन्द्रा धान्के श्रेष्ठ १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दूरी पुरा गर्दै द्वितीय भइन् । नेपाल प्रहरीका रेखा विष्ठ १ घन्टा २६ मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी १ घन्टा २८ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै चौथो भइन् । दुवै विधामा द्वितीयले ७५ हजार र तृतीयले ५० हजार र चौथोले ३० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाँचौं र महिनदेव जोशी छैटौं भए । एपिएफका राजेन्द्र तामाङ सातौं एवं त्रिभुवन आर्मीका जितेन्द्र दनुवार आठौं , प्रेमबहादुर बस्नेत नवौं र टंक कामी दशौं भए । यस्तै महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा चौथो र एपिएफका आशा रावल छैटौं भए । त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौं एवं खुलाबाट आठौं सुर्खेतकी विन्दु हमाल, त्रिभुवन आर्मीकी निर्मला पुन नवौ र शारदा शाही दशौं भइन् ।

प्रतियोगितामा दुवै विधाका पाँचौंले २० हजार, छैटौले १० हजार, सातौंले ७ हजार, आठौंले ५ हजार र नवौं तथा दशौंले ५, ५ हजार नगद पुरस्कार पाए । प्रतियोगिताका विजेतालाई आजै एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताएका छन् ।

प्रतियोगितामा देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा उत्रेको उनले जनाए । आज बिहान लुम्बिनीमा रहेको शान्ति दीपमा एमाले अध्यक्ष ओलीले मसाल बालेर खेलाडीलाई हस्तान्तरण सुरु भएको यो प्रतियोगितामा सहभागीले पर्साचौकबाट पुन महिलबार हुँदै २ फन्का लगाएर २१ किलोमिटरको दूरी पार गरेका थिए । प्रतियोगितासँगै एकेडेमीले आग्र लुम्बिनीमा भेला राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर