‘बहाब’ को प्रिमियरमा नेतादेखि विद्यार्थीसम्म- सबैले गरे तारिफ (तस्बिरहरू) – Nepal Press

‘बहाब’ को प्रिमियरमा नेतादेखि विद्यार्थीसम्म- सबैले गरे तारिफ (तस्बिरहरू)

काठमाडौं । नायिका सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बहाब’ को हिजो प्रिमियर गरियो । शुक्रबारबाट व्यवसायिक प्रदर्शनमा आउने चलचित्रको प्रिमियरमा नयाँ बानेश्वरको आइप्लेक्सस्थित ‘वान सिनेमा’ का दुई हल खचाखच थिए ।

बाहिरका सेलिब्रिटीहरू खासै नडाकिएकाले प्रिमियरको मुख्य आकर्षण नै सुरक्षा बनिन् । उनी हलभित्र प्रवेश गरेसँगै क्यामराहरूले निरन्तर पछ्याइरहे । आफू लाइमलाइटमा आउने बुझेर नै सुरक्षा पनि निकै ‘सजधजका साथ’ आएकी थिइन् । नारीप्रधान यो चलचित्र ‘नायकविहीन’ भएकाले पनि प्रिमियरमा सुरक्षाको एक्लो प्रभूत्व कायम भएको हो ।

चलचित्रको प्रदर्शनपूर्व केही तनावमा देखिन्थे, निर्माता श्रीधर पौडेल र निर्देशक प्रमोद कँडेल । निर्माताका रूपमा पौडेलको यो दोस्रो चलचित्र हो । यसअघि उनले ‘गोपी’ निर्माण गरेका थिए । फरक धारमा बनेको सो चलचित्रले व्यवसायिक सफलता हासिल गर्न नसके पनि पौडेलले दोस्रो चलचित्र पनि फरक धारमै बनाएका छन् । उनले प्रदर्शनअघि निर्देशकले दिएको ‘प्रडक्ट’ बाट आफू पूर्णरूपमा सन्तुष्ट भएको र अब यो चलचित्र दर्शकको हातमा रहेको बताए ।

निर्देशक कँडेलको भने यो डेब्यू चलचित्र हो । त्यसैले उनी केही नर्भस हुनु स्वाभाविक नै थियो । उनले यो चलचित्रमा आफूले गर्न खोजेका नयाँ प्रयोगबारे प्रिमियरमा उपस्थित दर्शकलाई सुरूमै संकेत गरेका थिए ।

अभिनेत्री सुरक्षाले यस चलचित्रमा काम गर्दा आफूलाई अरुभन्दा फरक महसुस भएको अनुभव सुनाइन् । उनी पनि दर्शकको प्रतिक्रिया सुन्न व्यग्र थिइन् ।

चलचित्र प्रदर्शनपछिको रेस्पोन्सले निर्माण टिम उत्साहित बनेको छ । चलचित्रको फरकपनालाई सबैले सह्राहना गरेका थिए । प्रिमियरमा उपस्थित चलचित्रप्रेमी नेता रघुजी पन्तले निर्देशक प्रमोद कँडेलको कामको तारिफ गरे । नेपाली चलचित्रले एउटा उम्दा निर्देशक पाएको उनको टिप्पणी थियो । चलचित्रको क्लाइमेक्समा भने उनले केही असन्तुष्टि जनाएका थिए ।

प्रिमियरमा विभिन्न कलेजका विद्यार्थीहरू पनि उल्लेख्य संख्यामा उपस्थित थिए । एउटी कलेजगर्लमाथि केन्द्रित कथालाई विद्यार्थीहरूले निकै रुचाए । उनीहरूले चलचित्रको कथावस्तु निकै ‘रियालिस्टिक’ भएको प्रतिक्रिया दिएका छन् ।

हेर्नुस प्रिमियरका केही तस्बिर-

   


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *