आमालाई राजनीतिक गुरु मान्ने श्यामराज : जो बने त्रिवि केन्द्रीय क्याम्पसका सभापति – Nepal Press

आमालाई राजनीतिक गुरु मान्ने श्यामराज : जो बने त्रिवि केन्द्रीय क्याम्पसका सभापति

काठमाडौं । विद्यार्थी राजनीतिमा सक्रिय भएको १४ वर्षपछि त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित भए श्यामराज ओझा । यस अवधिमा उनले देखेका, भोगेका राजनीतिक उतारचढाव प्रशस्तै छन् । सानैदेखि राजनीतिमा चाख राख्ने ओझा राजनीति गर्न नै काठमाडौं आइपुगेका थिए ।

२०६४ सालको निर्वाचनमा पर्चा बोकेर सक्रिय हुँदा जम्मा ११ वर्षका थिए उनी । त्यसवेला चुनाव प्रचारक ओझा अहिले नेता भइसकेका छन् । उनी सिंगो त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको हकहितका लागि प्रतिनिधि आवाज बनेका छन् ।

कुल ३ हजार ४२६ मतदाता भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा उनी ८९४ मत ल्याएर निर्वाचित भए । अब दुई वर्षका लागि तीन हजार बढी विद्यार्थीको मुखपत्र बन्नेछन् ओझा । उनले निकटतम प्रतिद्वन्द्वी प्रकाश विष्टलाई २१३ मतान्तरले पराजित गरेका थिए ।

सानैमा बुवा गुमाएका ओझालाई आमाले हुर्काएकी थिइन् । प्रौढ शिक्षा पढ्दै आमाले ओझालाई विद्यालय पढाउँथिन् । पढाइमा अब्बल ओझा अतिरिक्त क्रियाकलापमा पनि सक्रिय भइरहन्थे । उक्त सक्रियताले कहिले हो कहिले ओझामा राजनीतिक रङ बसिसकेछ । उनी नेपाल विद्यार्थी संघको स्कुल एकाइ कमिटीमा सचिव भए ।

ओझाकी आमा पनि कांग्रेसकी क्रियाशील सदस्य हुन् । आमाबाटै राजनीतिमा सक्रिय भएर जनताको सेवा गर्ने उत्प्रेरणा पाएका ओझा आफ्नी आमालाई राजनीतिक गुरु मान्छन् ।

२०७४ सालमा केन्द्रीय क्याम्पसमा प्रवेश गरेका ओझा पहिलो दिन नै नेपाल सरकारको निर्णयविरुद्ध आन्दोलनमा सरिक भए । त्यसवेला सरकारले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला विज्ञापनमार्फत् बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध उनी आन्दोलनमा सक्रिय भएका थिए ।

ओझा भन्छन्, ‘२०७४ सालदेखि क्याम्पसका हरेक आन्दोलनमा नेविसंघको नेतृत्व गर्दै सक्रिय रुपमा लड्दै आएको छु । विश्वविद्यालयका सेवा आयोगमा भएका अनियमितताबारे पटक पटक पहल गरेर नियमित बनाउन सक्रिय रुपमा भूमिका खेलेको छु । परीक्षामा हुने ढिलासुस्ती, अनियमितता, प्रश्नपत्र बाहिरिनेलगायतका क्रियाकलापप्रति बलियो गरी आवाज उठाउँदै आएको छु । त्यसैले यसपटक मलाई मतदाताहरुले चुन्नुभएको हो ।’

ओझाले आफ्नै नेतृत्वमा कोभिड १९ को समयमा विद्यार्थीका लागि मोबाइल भ्यान नामक कार्यक्रमसमेत चलाएका थिए । मोबाइल भ्यानको काम विद्यार्थीलाई आवश्यक सम्पूर्ण खाद्यान्न तथा औषधोपचारका सामग्री कोठाकोठामा पुर्‍याउनु थियो ।

नवनिर्वाचित सभापति ओझासँग दुई वर्षे कार्यकालमा गर्नुपर्ने कामको फोहरिस्त नै छ । विश्वविद्यालयमा हुने अनियमितता, शैक्षिक गुणस्तरमा सुधार, नीतिगत तथा संरचनागत सुधारलगायतका मुद्दा अहिले ओझाको टेबलमा छन् । यी मुद्दाको निकास उनैले दिनुपर्नेछ । निःशुल्क स्वास्थ्य परीक्षण, खेलकुद, पुस्तकालय, ल्याबलगायतका विषयहरु पनि ओझाका आगामी योजना हुन् ।

उनी भन्छन्, ‘काम गर्ने सूची लामो छ । उत्तिकै चुनौती पनि छ । यी चुनौती चिर्न मैले दुई वर्ष संयमित भएर काम गर्नुपर्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर