सर्वसम्मत नेतृत्वका लागि चन्द्र ढकालको पहल, वरिष्ठ उपाध्यक्षका तीन दाबेदारसँग सामूहिक छलफल – Nepal Press

सर्वसम्मत नेतृत्वका लागि चन्द्र ढकालको पहल, वरिष्ठ उपाध्यक्षका तीन दाबेदारसँग सामूहिक छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत २८ र २९ गते हुने ५७ औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा तीनजना आकांक्षीहरु रहेका छन् । ढकाल आगामि साधारणसभाबाट स्वतः अध्यक्ष बन्दै छन् ।

बुधवार काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा वरिष्ठ उपाध्यक्षका तीनजना आकांक्षिहरु उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन् ।

उनले भने, ‘महासंघलाई सबै उद्योगी व्यवसायीहरुको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौ भन्ने गरेको छु । यसै शिलशिलामा महासंघका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र, सबै प्रदेशमा अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन् । यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ । यसै शिलशिलामा महासंघको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको हो ।’

उनले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरु समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतीको झनै ठूलो महत्व रहने बताए ।

‘हामी एक भयौ भने मात्र निजी क्षेत्र बलियो हुन्छ । हाम्रो महत्व बढ्छ । हाम्रा माग सम्बोधन गराउन सकिन्छ । अहिलेको अवस्थामा झन हामी एक हुनुको विकल्प छैन’, उनले भने ।

उनले भने, ‘निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा हामी बिभाजन नहौऔँ । एकता र सहकार्यबाट समाधान खोजौँ । मैले त अहिलेको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना आकांक्षीहरुलाई मिलाउन सकिन्छ भनिरहेको छु । यसमा तपाईहरुको साथ र सहयोग अपेक्षा गरेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *