ओलम्पिक छनोटः पहिलो हाफमा नेपालविरुद्ध भियतनाम ३ गोलले अगाडि – Nepal Press

ओलम्पिक छनोटः पहिलो हाफमा नेपालविरुद्ध भियतनाम ३ गोलले अगाडि

काठमाडौं । पेरिस ओलम्पिक २०२४ छनोट खेलमा नेपालविरुद्ध भियतनामले पहिलो हाफमा ३-० गोलको अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ११औं मिनेटमा फाम हाई एङको गोलमा भियतनामले अग्रता लिएको थियो । बायाँतर्फबाट एनग्यूएन थी ट्राङले दिएको क्रसमा उनले हेडरमार्फत सुन्दर गोल गरेकी थिइन् ।

कप्तान ह्युन न्हुले खेलको ३६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै भियतनामको अग्रता दोब्बर पारिन् । समीक्षा घिमिरेले १८ यार्ड बक्सभित्र ह्यान्ड गरेपछि भियतनामले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमा कप्तान ह्युनको प्रहार गोलमा परिणत भएको थियो ।

घरेलु टीममाथि निरन्तर आक्रमण गरेको भियतनामले त्यसको दुई मिनेट नबित्दै ३-० को अग्रता बनायो । ३८औं मिनेटमा एनगुइन थीले गरेको प्रहार नेपालकी डिफेन्डर अमृता जैसीलाई डिफ्लेक्ट हुँदै पोष्टको दिशा लिएको थियो ।

त्यसअघि खेलको सातौं मिनेटमा भियतनामले अग्रता लिने अवसर खेर फालेको थियो । एनग्यूएन थी ट्राङलले दिएको क्रसमा हाई एङले दिएको प्रहार फ्रेममा परेन ।

त्यस्तै खेलको नवौं मिनेटमा दीपा शाहीको क्रसमा पोष्टको ठीक अगाडि रहेकी अमिषा कार्कीको प्रहार क्रसबार माथिबाट बाहिरिँदा नेपाल अग्रता लिने सुन्दर मौकाबाट चुकेको थियो ।

नेपालका लागि खेलको ३४औं मिनेटमा अमृता जैसीले सेन्टर सर्कल नजिकैबाट दिएको क्रसमा अमिशा कार्कीको प्रहार भियतनामकी गोलकिपरले बचाएकी थिइन् ।

ओलम्पिक छनोटमा नेपालले भियतनामसँग दुई खेल खेल्नेछ । दोस्रो खेल श्निबार दशरथ रंगशालामै हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर