बुबा विदेश गएको ५ दिन नबित्दै छोरी बेपत्ता, अपहरण भएकाे भन्दै न्याय माग्दा प्रहरीको बेवास्ता – Nepal Press

बुबा विदेश गएको ५ दिन नबित्दै छोरी बेपत्ता, अपहरण भएकाे भन्दै न्याय माग्दा प्रहरीको बेवास्ता

जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका ४ लक्ष्मीपुरका शम्भु पासवानकी १३ वर्षीया छोरी सृजना कुमारी पासवान ७ दिनदेखि बेपत्ता छिन् ।

चैत ११ मा शम्भु वैदेशिक रोजगारीका लागि खाडी मुलुक उडेका थिए । उनी घर छाडेको चार दिन नबित्दै उनका छोरी सृजना बेपत्ता भइन् । बेपत्ता कसले पारेको कुरा खुल्न सकेको छैन ।

बेपत्ता भएकी छोरी खोज्न आमा मधुदेवी पासवान सात निदेखि हैरान बनेकी छन् । उनी सधैं जिल्ला प्रहरी कार्यालय पुग्छिन् । तर प्रहरीले पनि चासो नदेखाएको उनको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय पुगेकी उनले गुनासो गरिन्, ‘यहाँ घण्टौंदेखि बसेकी छु । मेरो छोरीलाई अपहरण गर्नेको नामसमेत भनेकी छु । तर प्रहरीले न मेरो छोरी खोज्न सकेको छ, न अपहरण गर्नेलाई पक्राउ गरिरहेको छ ।’

उनले छोरीको अपहरण सुनिल पासवान र सुमित्रा पासवानले गरेकी छन् । सुनिल र सुमित्रा छिमेकी हुन् । सुनिल नातामा सुमित्राको भतिजा पर्छ । उनी दुवै जनाले मोटरसाइकलमा राखेर छोरीलाई बेपत्ता पारेको मधुदेवीले दाबी गरेकी छन् ।

‘छोरीलाई कसले लग्यो ? थाहा थिएन’, उनले भनिन्, ‘खोज्ने क्रममा गाउँलेहरुले नै भनेका छन् सुमित्रा र सुनिलले मोटरसाइकलमा बसाएर लगेको कुरा ।’

छोरीलाई उनीहरु भारत विहार राज्यको सिमावर्ती गाउँ पथलगरामा राखेको पनि मधुदेवीले दावी गरेकी छन् । उनले भनिन्, ‘पथलगरामा राखेको कुरा थाहा पाएपछि गाउँका ११ जनालाई लिएर गएको थिए । त्यहाँ सुनिलको घर छ । उनले नै घरमा राखेको उनकै आफ्न्तहरुले भने । तर भेट्न दिएन । दुई वटा नम्बर दिएको थियो । अहिले त्यो पनि अफ छ ।’

सुनिल लामो समयदेखि आफ्नो मामा घर लक्ष्मीपुरमा बस्दै आएका थिए । उनको मामा र शम्भुबीच लामो समयदेखि विवाद चल्दैछ । चार महिना अगाडी कुटाकुट पनि भएको थियो ।

विवादकै कारण आफ्नो छोरीलाई भगाएको मधुदेवी बताउँछिन् । विहे गर्नका लागि भगाएको त होइन भन्ने जिज्ञासामा उनले भनिन्, ‘मेरो छोरी ७ कक्षामा पढ्छिन् । अहिले १३ वर्ष मात्र भएको छ । अनि बच्चालाई विहेको नाममा बेपत्ता पार्न मिल्छ ? मलाई छोरी चाहियो ।’

‘बुबा विदेश गएको पाँच दिन नबित्दै मेरो छोरीलाई अपहरण गरियो’, उनले भनिन्, ‘अपहरण गर्ने सुमित्रा र सुनिललाई प्रहरीले पक्राउ गरी कारबाही गर्नुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी टेकनन्द लिम्बुलाई घटनाबारे बुझ्न फोन गर्दा इन्सपेक्टर रामचन्द्र साहले रिसिभ गरे । उनले उक्त घटनाबारे अनभिज्ञता जनाए ।

घटनाबारे जानकारी गराएपछि इन्सपेक्टर साहले भने, ‘महिला सेलमा निवेदन परेको होला । त्यहाँ अर्को इन्स्पेक्टर हुनुहुन्छ । मलाई थाहा भएन । एक पटक मलाई भेट्न पीडित परिवारलाई पठाइदिनुस् न ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *