३ उपाध्यक्षसहित ११९ उद्योगी-व्यवसायी चुनावी मैदानमा (सूचीसहित) – Nepal Press
उद्योग वाणिज्य महासंघ चुनाव

३ उपाध्यक्षसहित ११९ उद्योगी-व्यवसायी चुनावी मैदानमा (सूचीसहित)

कसको टीम कस्तो ?

काठमाडौं। निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको उद्योग वाणिज्य महासंघमा यतिखेर चुनावी सरगर्मी बढेको छ । यही २८-२९ मा हुने ५७औं वार्षिक साधारणसभाबाट महासंघले नयाँ नेतृत्व पाउँदैछ । जसमा तीनजना वरिष्ठ उपाध्यक्षसहित ११९ चुनावी मैदानमा छन् ।

वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने विधानको व्यवस्था भएकाले महासंघमा यस पदलाई चासो र महत्वका साथ हेरिन्छ । वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । यी तीनैजना एक-अर्काका बलिया प्रतिस्पर्धी मानिन्छन् ।

आसन्न वार्षिक साधारणसभापछि अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत: अध्यक्ष बन्नेछन् ।

मंगलबार (हिजो) सम्म उम्मेदवारी दर्ताको समयसीमा थियो । यतिबेलासम्म कुल ११९ उम्मेदवारले मनोनयन दर्ता गरेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

उद्योग वाणिज्य समूहअन्तर्गत उपाध्यक्षको एक पदका लागि सुरकृष्ण वैद्य, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । वस्तुगततर्फ सकुन्तलाल हिराचन, मनिललाल प्रधान र हेमराज ढकालले उम्मेदवारी दिएका छन् । एसोसिएट सदस्यमा ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य प्रतिस्पर्धामा छन् ।

त्यसैगरी ७ प्रदेशमा १-१ सदस्यको लागि १३ जनाको उम्मेदवारी परेको छ । वस्तुगततर्फ १४ जनाको लागि २८ जना प्रतिस्पर्धा गर्दै छन् । जिल्ला नगरको १८ सदस्यको लागि ३२ जनाले उम्मेदवारी दिएका छन् । एसोसिएटका १९ जनाको लागि ३० जनाको उम्मेदवारी र द्विराष्ट्रिय उद्योग वाणिज्य संघको लागि एकजना सुनिल केसीको मात्रै उम्मेदवारी परेको छ ।

कसको टीम कस्तो ?

वरिष्ठ उपाध्यक्षका प्रत्यासीको उम्मेदवार अञ्जन श्रेष्ठले जीवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्र बनाउन उम्मेदवारी दिएको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगततर्फ मनिषलाल प्रधानले उम्मेव्दारी दिएका छन् । अन्जन समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका छन् ।

अर्का दाबेदार रामचन्द्र सांघाईको टीममा जिल्ला नगरबाट उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ छन् । ज्योत्सना यसअघि अन्जन श्रेष्ठको प्यानलमा उपाध्यक्षको दौडमा थिइन् ।

उमेशलालको टीममा जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिएका छन् । उमेशलालले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायिक हकहितका विषयहरू उठान गर्ने बताएका छन् ।

अञ्जन र सांघाई एकअर्काका प्रतिस्पर्धी मानिन्छन् । उमेशलाल पछिल्लो समय बैंकको ब्याजदरका विषयमा अभिव्यक्ति दिएर विवादित बनेका थिए ।

भावी अध्यक्ष ढकालले भने कसैको पक्षमा हालसम्म खुलेका छैनन् । कसैको पक्ष-विपक्ष लागेर गल्ती नगर्ने उनले प्रष्ट्याउँदै आएका छन् । यसअघि शेखर गोल्छाले वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई खुलेरै भोट मागेका थिए ।

हेर्नुस् निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावलीको सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर